संकटमा शंकरपुर ताल | Khabarhub Khabarhub

संकटमा शंकरपुर ताल


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका-४ शंकरपुर गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन् । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उनी बताउँछन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छरे। उनीहरु मात्र होइन, शंकरपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।

गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको अभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको शंकरपुर तालको बाँध फुटेपछि यहाँ सिँचाइ सुविधाको अभाव भएको हो । तालमा पानी नभएपछि सिँचाइमा समस्या भएको उनीहरुके गुनासो छ ।

तालको बाँध फुटेपछि गाउँपालिकाका करिब आधा दर्जन गाउँका स्थानीय किसानलाई सिँचाइ गर्नका लागि समस्या परेको छ । तालको बाँध निर्माणका लागि किसानले विजयनगर गाउँपालिकालाई कयौँपटक आग्रह गर्दा पनि पालिकाले कुनै पहल नगरेको उनीहरूको भनाइ छ । गाउँपालिकाकै पर्यटकीयस्थलमा रूपमा परिचित ताल फुटेसँगै त्यस क्षेत्रको सौन्दर्यतासमेत खस्किएको छ ।

तालको बाँध फुटेलगत्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वको एक टोलीले भदौ १८ गते अनुगमनसमेत गरेको थियो । त्यतिबेला टोलीले तत्काल बाँध निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल भएको छैन ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले तालको बाँध फुटेकामा चिन्ता व्यक्त गर्दै बाँध निर्माणका लागि पहल गर्ने भने पनि अझैसम्म कुनै काम भएको पाइँदैन । ताल फुटेसँगै विजयनगर गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडाध्यक्षलगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोही स्थानमा पुगेको थियो । टोलीले सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, बस्ती कटान भएको बताएको थियो ।

हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले ताललाई निर्माण गर्ने पहिलो प्राथमिकतामा समेत राखेका थिए । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले तालको बाँध निर्माण तथा मर्मतसम्भार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कपिलवस्तु क्षेत्र नं ३ ९२० बाट निर्वाचित भएका प्रदेशसभा सदस्य जानकीप्रसाद यादवले ताल निर्माणका लागि रकम विनियोजित भइसकेको भन्दै अब तालको काम हुने बताए। 

करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएकाले यस क्षेत्रमा पर्यटकीय विकासको सम्भावना रहेको भन्दै तालको बाँध बाँध्न आफूले पहल गर्ने उनले बताए। ताललाई व्यवस्थित बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरी संरक्षणका लागि विभिन्न काम गरे पनि पालिकाको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो । चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण-पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ । तालमा शिवगढी मन्दिरमा बस्ने भगवान् शङ्करले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वासअनुसार नै तालको नाम शङ्करपुर राखिएको बताइन्छ । किंवदन्तीअनुसार यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको थियो । देवीले देवताहरूलाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । देवीका लागि गर्मीको समयमा नुहाउन ताल खनिएको थियो ।

स्थानीय पुर्खाहरूको भनाइमा धेरै वर्षदेखि यो तालको अस्तित्व रहँदै आएको छ । यो तालले पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको छ । तालमा धेरै प्रजातिका रैथाने माछा, बकुल्ला, जलेवा, पानीहाँसलगायत विभिन्न जलप्राणी पाइन्छन् भने विभिन्न २१ जातका पानीमा हुने वनस्पति पाइन्छ । गाउँपालिकाकै पहिचानका रूपमा रहेको ताललाई व्यवस्थित र संरक्षण गर्न सके  ताल क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । 

तालमा आसपासका बासिन्दा माछा मार्न, साग टिप्न आउने गर्दथे । धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले बर्सेनि घट्दै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भइरहेको छ भने तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भरिँदै गएको छ । तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरूको लागि खेलमैदान र गौचरनमा परिणत भएको छ ।

तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दुहरूको मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला यहाँ लाग्दछ । त्यस्तै सोही स्थानमा हिन्दु तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १२ : ३२ बजे

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको