दोधारा–चादँनी : ‘उहिले विकट, अहिले समृद्ध’ « Khabarhub

दोधारा–चादँनी : ‘उहिले विकट, अहिले समृद्ध’


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर-  दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्‍यो।

“वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए”, उनले भने, “अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।” कञ्चनपुरको टापुका रूपमा चिनिएको दोधारा चादँनीमा २०२२ सालको सेरोफेरोमा बसोबास थालिए पनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखका दिन आएको जोशी बताउँछन् ।

“२०५८ सालमा तत्कालीन जनप्रतिनिधिको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मूलधारसित जोडिएका हौँ ।” उनले भने, “त्यसअघिका दोधारा चादँनीवासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिँदैन ।”

झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर महेन्द्रनगर लगायतका ठाउँमा आवतजावत गर्नुपरेको थियो । “वर्सातमा स्याउले हुँदै भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो”, जोशीले भने, “वनबासा पुल पुग्नुअघि चोरी डकैतीका साथै जङ्गलमा जनावरको त्रास हुन्थ्यो ।”

महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि ढुङ्गा र भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको छ । दोधारा चादँनीवासी अहिले ठूला सवारीसाधन लिएर निर्माणाधीन चार लेनको पक्की पुलबाट सहज रूपमा आवतजावत गरिरहेका छन् । “त्यो बेला यहाँ वन फाडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पर्नुपर्ने बाध्यता थियो ।” दोधारा चादँनी नगरपालिका–१ का राजेन्द्र चन्दले भने, “न यहाँ एम्बुलेन्स थिए, न त डाक्टर नै ।”

सडक, स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ २०५० साल अघि स्थानीयले धेरै समस्यासित जुध्नु परेको थियो । “अहिले त स्याउलेदेखि कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके ।” चन्दले भने, “सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चादँनी आर्थिक समृद्धिको हब भइसक्यो ।”

झोलुङ्गे पुल बनेपछि दुःख, कष्ट नै हराएको चन्द बताउँछन्। उनले भने, “चार लेनको पक्की पुल र सुक्खा बन्दरगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।” केही वर्षअघि भारतीय रुपैयाँको कारोबार हुने दोधारा चादँनीमा अहिले त्यो विस्थापित भइसकेको छ ।

“यहाँ विकासका ठूला आयोजना आउँदा जग्गाको कारोबारसमेत ह्वात्तै बढेको छ ।” उनले भने, “अब दोधारा चादँनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधिको मुख्य स्थान बन्नेमा हामी आशावादी छौँ ।” २६ हजारभन्दा बढी मतदाता रहेको दोधारा चादँनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नुअघि यहाँ दुई वटा गाविस थिए ।

सरकारले नै वन फँडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ सालयता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरु त्यो बेला यहाँ बस्न थालेका हुन् । महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि वर्षौँअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटबन्ध निर्माण भएको थियो । पछिल्ला वर्षहरूमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटबन्ध निर्माणमा जोड दिइएको छ ।

बाजुराबाट २०३२ सालमा दोधारा चादँनी सरेका दोधारा चादँनी नगरपालिका–४ का ७३ वर्षीय भीमबहादुर सिंह आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताउँछन्। “पीठो पिस्न भारतीय बजार जानुपर्ने बाध्यता थियो”, उनले भने, “महाकाली तरेर महेन्द्रनगर आउन जोखिम मोल्नु पर्थ्यो ।” उनी २० वर्ष आफैँ डुङ्गा चलाएर वारपार गरेको सुनाउँछन्। “डुङ्गाको सहयोगमा नदी तर्नेहरू प्रतिव्यक्ति रु पाँच तिर्ने गर्दथे, एक पटकमा ४० क्विन्टलसम्म ढुवानी गर्दथ्यौँ”, उनले भने । पुल बनेपछि मात्र डुङ्गा बन्द भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : १३ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा