दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक « Khabarhub

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

कृष्णगोपालसँग बाझे, कर्णको दस्तावेज छेके


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् नेतृत्व छाड्न अस्वीकार गरेका छन्।

महासचिव शंकर पोखरेलसहितका नेताहरूले निरन्तर दबाब दिँदा पनि उनी झन् कठोर शैलीमा देखिए । बैठकको पहिलो दिनमै ओलीले आफ्ना विरोधीको मुख थुन्ने कोसिस गरे। केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसँगको भनाभन र अर्का नेता कर्ण थापालाई रोक्ने निर्णयले त्यही कुराको पुष्टि गरेको छ।

सोमबारदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। तर उनले उक्त प्रतिवेदनमार्फत् कुनै हालतमा नेतृत्व नछाड्ने दृढ अडान लिए ।

प्रतिवेदनमा ओलीले निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। तर त्यसलाई आफू नेतृत्वबाट हट्नुपर्ने आधारका रूपमा स्वीकार गरेका छैनन्। उनले संकटका बेला नेतृत्वले पार्टी छाडेर भाग्न नमिल्ने तर्क गर्दै नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरेका छन्।

ओलीले प्रतिवेदनमा एमालेसामु दुई जोखिम रहेको उल्लेख गरेका छन्। एउटा, पराजयबाट निराश भएर पार्टीलाई नै छाडिदिने र अर्को, हारलाई बहाना बनाएर एकअर्कामाथि प्रहार गर्दै पार्टीलाई कमजोर बनाउने। यी दुवै बाटो गलत भएको भन्दै उनले ‘कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद, सङ्गठनात्मक पुनर्निर्माण, जनजीविका केन्द्रित प्रतिपक्ष एवं देश, लोकतन्त्र र संविधानको रक्षा’को बाटो रोज्नुपर्ने बताएका छन्।

‘हार राजनीतिक तथ्य हो। तर हारपछि रोजिने दिशा भविष्य निर्धारण गर्ने ठूलो तथ्य हो,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘हामी भाग्ने बाटो रोज्दैनौँ। हामी आत्मसमर्पण रोज्दैनौँ। हामी प्रतिशोध रोज्दैनौँ। हामी विखण्डन रोज्दैनौँ।’

उनले एमालेको जरा गहिरो रहेको र इतिहास, कार्यकर्ता तथा विचार अझै पार्टीको शक्ति भएको दाबी गर्दै संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्। ‘एमाले फेरि उठ्छ । हामी फेरि उठ्नैपर्छ,’ ओलीले भनेका छन्, ‘तर केवल भाषणबाट होइन, कामबाट। केवल अतीतबाट होइन, भविष्यबाट।’

कृष्णगोपालसँग भनाभन

ओलीले प्रतिवेदनमा आत्मसमीक्षा र पार्टी पुनर्निर्माणको आवश्यकता औंल्याए पनि बैठक सञ्चालनका क्रममा भने उनको शैलीप्रति केही नेताले असन्तुष्टि जनाएका छन्।

बैठकमा पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न दिनुपर्ने भन्दै प्रश्न उठाएका थिए। श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्न पनि महासचिवलाई भूमिका दिन आग्रह गरेका थिए।

तर ओलीले विधानअनुसार आफूले बैठक सञ्चालन गर्ने बताएपछि श्रेष्ठसँग उनको भनाभन भएको हो। ओलीले श्रेष्ठलाई आफ्नो समय सकिएको भन्दै बस्न आग्रह गरेका थिए। त्यसपछि श्रेष्ठले त्यसको प्रतिवाद गर्दै बैठकमै आक्रोश पोखेका थिए। घटनाबारे सार्वजनिक विवरणमा श्रेष्ठले ‘मलाई बस्नुस् भन्ने तपाईं को हो ?’ भन्दै ओलीसँग प्रतिवाद गरेको उल्लेख छ।

श्रेष्ठले बैठक सञ्चालनको जिम्मेवारी महासचिवलाई दिनुपर्ने माग दोहोर्‍याएपछि वातावरण थप तनावपूर्ण बनेको थियो। त्यसपछि उनी बैठकबाट बाहिरिएको विवरण सार्वजनिक भएको छ।

कर्ण थापाको दस्तावेज राख्न रोक

बैठकमा केन्द्रीय सदस्य कर्णबहादुर थापाले पनि आफ्नो फरक मतसहितको दस्तावेज राख्न खोजेका थिए। उनले ४० पृष्ठको दस्तावेज प्रस्तुत गर्न अनुमति मागेकोमा ओलीले तत्काल अनुमति नदिएको विवरण सार्वजनिक भएको छ।

थापा एमालेमा ७० वर्षे उमेर हद र नेतृत्वमा दुई कार्यकालको व्यवस्था कायम गर्नुपर्ने पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका नेता हुन्। पछिल्लो समय उनी ओली इतर समूह सक्रिय देखिएका छन्।

यसअघि पनि पार्टीका बैठकहरूमा थापाले फरक मत राख्दै आएका थिए। सोमबारको बैठकमा समेत उनले दस्तावेज राख्न खोजेपछि ओलीले तत्काल त्यसलाई अघि बढ्न नदिएको बताइएको छ।

नेतृत्वको प्रश्न झन् पेचिलो

गत फागुन २१ गतेको निर्वाचनमा एमालेले करिब धुलिसात भयो । अब यो पार्टीको नेतृत्वले खरानीमा टेकेर उठ्नुको विकल्प छैन । तर २०८२ भदौ २४ गते जेन-जी आन्दोलनका कारण सत्ताबाट धकेलिएका ओलीको छवि सबैभन्दा आलोचित छ।

नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेताहरूले ओलीकै अनुहार देखाएर अब पार्टी पुनर्जागृत नहुने र निर्वाचनमा पनि परिणाम नआउने निष्कर्ष निकालेका छन्। तर ओली त्यो कुरा स्वीकार्न तयार छैनन् । बरू उनी त्यो कुरा आफ्ना विरोधीहरूले चलाएको हल्ला भन्दै जिद्धि गरिरहेका छन्।

फागुन २१ को चुनावमा भुइँमा पछारिएपछि एमालेभित्र नेतृत्व, संगठन र चुनावी रणनीतिमाथि समीक्षा तथा नेतृत्व पुनर्गठनको बहस चर्किएको छ। ओलीले निर्वाचन पराजयको नैतिक जिम्मेवारी स्वीकार गरे पनि नेतृत्वबाट हट्ने विषय अस्वीकार गरेका छन्।

त्यसैले यस बैठकबाट झन् एमालेभित्रको विवादलाई तत्काल मत्थर पार्नुभन्दा नेतृत्व, कार्यशैली र पार्टी पुनर्निर्माणको बहसलाई अझै चर्काएको छ। प्रतिवेदनमाथिको छलफलमा केन्द्रीय सदस्यहरूले राख्ने धारणाले अबको आन्तरिक समीकरण र पार्टीको आगामी कार्यदिशाबारे थप संकेत दिनेछ। मंगलबारदेखि केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राख्ने कार्यक्रम छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ४४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका