नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो | Khabarhub Khabarhub

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालना दर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ । आइकाओले यसै वर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।

नेपालले प्राप्त गरेको यो अंक विश्वव्यापी औसतभन्दा माथि हो । यसअनुसार नेपाल एशिया प्रशान्त क्षेत्रका अन्य केही मुलुकभन्दा अगाडि रहेको छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षा दर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुराष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।

“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उनले भने, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालना दरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरवको विषय पनि हो ।” हाल नेपालमा नौ फिक्स्ड विङ र ११ हेलिकप्टर कम्पनीसहित कुल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उनले उल्लेख गरे । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।

आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमी कमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।

त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुराष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले भने, “मुलुकको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव रहनु नेपालको हवाई सुरक्षा प्रणाली राम्रो छ, भन्ने सन्देश गएको छ ।”

आइकाओको अडिट रिपोर्टपछि एकपछि अर्को अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई क्षेत्रबारे अध्ययन र छलफल गरेका छन् । आइकाओको अडिट लगत्तै युरोपेली सङ्घ (इयू) को प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे अडिट गरेको थियो ।

उक्त टोलीले अक्टोबर ६ देखि ८ तारिखसम्म अध्ययन गरेको थियो । नेपालले गरेको प्रगतिप्रति इयूको टोली उत्साहित बनेको थियो । त्यस लगत्तै विश्व बैंकको विज्ञ टोलीले अक्टोबर ११ देखि १९ सम्म प्राधिकारका उच्च अधिकारी र हवाई उद्योगसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो ।

उक्त टोलीले समेत नेपालमा सुरक्षा अभिवृद्धिमा दक्ष जनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक अक्टोबर २० देखि २२ सम्म संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयनको नियामक निकाय ‘फेडेरल एभिएसन एड्मिनिष्ट्रेसन’ को एक मिसनले नेपालको हवाई क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो ।

अमेरिकी नियामक निकायको टोलीले नेपालको हवाई सुरक्षाको अवस्थाबारे हालै सरोकारवालासँग छलफल गरेको छ । एफएएका दक्षिण एशिया हेर्ने प्रमुख प्रतिनिधि डेनियल जकोबले नेपालको हवाई सुरक्षा प्रणालीबारे विज्ञ सरोकारवालासँग छलफल गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्नु सकारात्मक विषय भएको उनले उल्लेख गरे ।

अमेरिकासँग सिधा हवाई उडानका लागि द्विपक्षीय हवाई सम्झौता गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । “यकीन मिति तय भएको छैन, आगामी नोभेम्बर या डिसेम्बरमा हवाई सम्झौता हुन्छ अमेरिकाले पठाएको हवाई सम्झौताको मस्यौदामाथि अहिले छलफल भइरहेको छ”, प्राधिकरणका प्रवक्ता निरौलाले भने । नेपालसँग हवाई सम्झौता गर्न अमेरिका आफैले चासो देखाएर सम्झौताको मस्यौदा पठाएको प्राधिकरणले जनाएको छ । नेपालले हाल ४० देश र युरोपेलीय सङ्घ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ ।

नेपालको हवाई उड्डयन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ । इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलीले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ ।

इयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले उक्त सुरक्षा सूचीबाट हटाएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ४३ बजे

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल