नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो | Khabarhub Khabarhub

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालना दर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ । आइकाओले यसै वर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।

नेपालले प्राप्त गरेको यो अंक विश्वव्यापी औसतभन्दा माथि हो । यसअनुसार नेपाल एशिया प्रशान्त क्षेत्रका अन्य केही मुलुकभन्दा अगाडि रहेको छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षा दर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुराष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।

“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उनले भने, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालना दरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरवको विषय पनि हो ।” हाल नेपालमा नौ फिक्स्ड विङ र ११ हेलिकप्टर कम्पनीसहित कुल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उनले उल्लेख गरे । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।

आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमी कमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।

त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुराष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले भने, “मुलुकको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव रहनु नेपालको हवाई सुरक्षा प्रणाली राम्रो छ, भन्ने सन्देश गएको छ ।”

आइकाओको अडिट रिपोर्टपछि एकपछि अर्को अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई क्षेत्रबारे अध्ययन र छलफल गरेका छन् । आइकाओको अडिट लगत्तै युरोपेली सङ्घ (इयू) को प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे अडिट गरेको थियो ।

उक्त टोलीले अक्टोबर ६ देखि ८ तारिखसम्म अध्ययन गरेको थियो । नेपालले गरेको प्रगतिप्रति इयूको टोली उत्साहित बनेको थियो । त्यस लगत्तै विश्व बैंकको विज्ञ टोलीले अक्टोबर ११ देखि १९ सम्म प्राधिकारका उच्च अधिकारी र हवाई उद्योगसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो ।

उक्त टोलीले समेत नेपालमा सुरक्षा अभिवृद्धिमा दक्ष जनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक अक्टोबर २० देखि २२ सम्म संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयनको नियामक निकाय ‘फेडेरल एभिएसन एड्मिनिष्ट्रेसन’ को एक मिसनले नेपालको हवाई क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो ।

अमेरिकी नियामक निकायको टोलीले नेपालको हवाई सुरक्षाको अवस्थाबारे हालै सरोकारवालासँग छलफल गरेको छ । एफएएका दक्षिण एशिया हेर्ने प्रमुख प्रतिनिधि डेनियल जकोबले नेपालको हवाई सुरक्षा प्रणालीबारे विज्ञ सरोकारवालासँग छलफल गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्नु सकारात्मक विषय भएको उनले उल्लेख गरे ।

अमेरिकासँग सिधा हवाई उडानका लागि द्विपक्षीय हवाई सम्झौता गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । “यकीन मिति तय भएको छैन, आगामी नोभेम्बर या डिसेम्बरमा हवाई सम्झौता हुन्छ अमेरिकाले पठाएको हवाई सम्झौताको मस्यौदामाथि अहिले छलफल भइरहेको छ”, प्राधिकरणका प्रवक्ता निरौलाले भने । नेपालसँग हवाई सम्झौता गर्न अमेरिका आफैले चासो देखाएर सम्झौताको मस्यौदा पठाएको प्राधिकरणले जनाएको छ । नेपालले हाल ४० देश र युरोपेलीय सङ्घ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ ।

नेपालको हवाई उड्डयन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ । इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलीले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ ।

इयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले उक्त सुरक्षा सूचीबाट हटाएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ४३ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

काठमाडौं–  प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको

कर्णालीको नीति तथा कार्यक्रममा आकर्षक नारा : बसोबास गाउँमा, भविष्य आफ्नै ठाउँमा

सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

एजेन्सी– पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा

चितवन प्रहरीले थाल्यो मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने चालकलाई कारबाही अभियान

काठमाडौं– जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल मोडीफाई गरी होहल्ला मच्चाउने