'आम चुनावमा पनि कांग्रेस नै पहिलो पार्टी बन्छ' | Khabarhub Khabarhub

‘आम चुनावमा पनि कांग्रेस नै पहिलो पार्टी बन्छ’

‘दलहरु सचेत नभए नेपाली राजनीति फेरि दुर्घटनामा जान्छ’  


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कांग्रेस उपसभापति धनराज गुरुङ सरल नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरुङ कांग्रेसको १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका हुन् भने १३ औं महाधिवेशनमा खुला प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्यमा विजयी भएका थिए । नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा उठाउँदै डा. शेखर कोइरालाको प्यानलको योजना बनाउँनेदेखि सामूहिक नेतृत्व प्रणाली लगायतमा प्रयास गर्ने नेता पनि हुन गुरुङ । नेपाली कांग्रेसको तेस्रो पुस्तामा नेता गुरुङ १४ वर्षको उमेरदेखि नै २०३६ सालको विद्यार्थी आन्दोलनदेखि लगातार राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीति देखि नै  देशव्यापी  संगठन र सञ्जाल निर्माण गरेका गुरुङ आफ्ना असन्तुष्टिहरु स्पष्ट रुपमा सार्वजनिक रुपमै राख्ने नेताको रुपमा चिनिन्छन् । पार्टीभित्र सभापति शेरबहादुर देउवाको आलोचक रहेका उनी शुरुदेखि नै चुनावी गठबन्धनको विरोध र टिके रुपमा टिकट वितरणको विरोधमा आवाज उठाउँदै आएका थिए । स्थानीय चुनावमा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो राजनीतिक दल बनेपछिको उनको प्रतिक्रिया, चुनावी नतिजा, गठबन्धनको भविष्य, आगामी चुनावमा तालमेलको अवस्था, लगायत विषयमा खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बने पनि केहि महत्वपूर्ण स्थान गुमाएको छ । कसरी समिक्षा गर्नु भएको छ ? 

निर्वाचनको परिणामले हामीलाई एक प्रकारको उत्साह थपेको छ । २०७४ को तुलनामा संख्यात्मक रुपमा हामी धेरै स्थानमा विजयी भएका छौँ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । अघिल्लो पटक धेरै स्थानीय तहमा सिंहदरबारको अधिकार मात्रै गाउँ गाउँसम्म पुगेन भ्रष्टाचारसमेत पुग्यो । अनियमितता मौलायो । बेथिति झाँगियो । अब यो सबैलाई पन्छाउने हटाउने र चुस्त सुशासनयुक्त स्थानीय सरकार बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यसपटकको निर्वाचनले उत्साहित बनाएको छ नै हामी सुध्रिनु पर्ने र सच्चिनु पर्ने आवश्यकता पनि औँल्याएको छ । टिकट वितरणमा अझै सजग र सचेत हुन आवश्यक छ । नेता कार्यकर्ताको न्यायोचित व्यवस्थापन र जिम्मेवारीमा हामीले अझै केही काम गर्नुपर्छ भन्ने पनि यो परिणामले देखाएको छ ।

नेपाली कांग्रेसले धरान धनगढीजस्ता रणनीतिक महत्व बोकेका सहर त गुमाउन पुग्यो । यसलाई चाहिँ कसरी लिनु भएको छ ?
पूर्वको धरान र पश्चिमको धनगढी दुवै अत्यन्तै महत्त्वपूर्ण सहर हुन । यी उपमहानगर पहिले कांग्रेसले जितेको नगर हो । तर, अहिले जसरी हारिएको छ, यसले कांग्रेसलाई ठूलो धक्का लागेको छ । हामीले अनुमान गरेभन्दा निकै फरक नजिता यी सहरमा आएका छन् । अन्य दलले होइन स्वतन्त्र उम्मेदवारले जीत हात पारेका छन् । यो हामीले सोच्नै पर्ने र समीक्षा गर्नै पर्ने विषय हो । यसले कांग्रेसलाई मात्रै होइन सबै दललाई झड्का दिएको छ । हामी कहाँ चुक्यौ, के कारणले स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आयो ? यसलाई हामीले समीक्षा गर्नु पर्ने विषयका रुपमा टिपोट गरेका छौँ ।

धरान धनगढीसँगै काठमाडौँमा पनि स्वतन्त्र उम्मेदवार जित नजिक पुगेका छन् । यसले नेपालमा दलहरू असफल हुँदै गएको, नेताहरुप्रति वितृष्णा बढ्दै गएको संकेत गर्दैन ? 
स्थानीय निर्वाचनमा केही महत्त्वपूर्ण सहरमा स्वतन्त्र उम्मेदवारहरू जसरी विजयी भएका छन्। यसले दलहरुलाई बेलैमा सचेत हुन खबरदारी गरेको छ । अधिकांश दल र अधिकांश नेताहरुमा देखिएको बोली र व्यवहारबीचको फरकपन, जनतासँग जोडिएका जनजिविकाका विषयलाई गरिएको बेवास्ता, मौलाएको भ्रष्टाचार जस्ता कुराले मतदाताको मन कुँडिएको जस्तो देखिन्छ । दलहरू छाडेको ट्र्याकलाई फेरि बाटोमा ल्याउन अझै भनौँ सुशासनको लिकबाट नेपाली राजनीति बाहिर जाँदै गरेको अवस्थामा त्यसलाई सहि मार्गमा ल्याउन जनताले स्वतन्त्र व्यक्ति छानेको हो की भन्ने मेरो विश्लेषण छ ।

स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले स्खलित र असफल हुँदै गएका दललाई झापड हाने भनियो भने सत्य हुन्छ ? 
यो केही हदसम्म सत्य हो । दल र तिनका नेताहरुले जनतालाई जति आस देखाए, जुन स्तरको आश्वासन बाँडे त्यसको एक प्रतिशत पनि काम गरेनन् । बरु आफ्नो थैलो भर्न उद्यत देखिए । भ्रष्टाचार र कुशासनलाई बढवा दिए । जसको रिफ्लेक्ट हो अहिलेको मतपरिणाम । नेपाली जनताले यो चुनावमार्फत दलहरुलाई सचेत गराएका छन् । सिंहदरबारको अधिकार होइन सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँ पुगेको अवस्थामा त्यसको अन्त्य गर्न दलहरुले छाडेको सुशासनको बाटोलाई लिकमा ल्याउन जरुरी छ भन्ने सन्देश यो चुनावले दिएको छ । गाउँ वा सामान्य सहर होइन मुख्य मुख्य सहरमा स्वतन्त्र उम्मेदवारले जसरी जितिरहेका यसले के संकेत गर्छ भने अब पनि दलहरु सचेत भएनन् भने नेपाली राजनीति फेरि अर्को दुर्घटनामा जान सक्छ । जनताले कुरा होइन काम खोजेका छन्, सुशासनमार्फत, नैतिक राजनीति मार्फत मुलुक समृद्ध बनाउने बाटोमा अग्रसर हुन दलहरुलाई धक्का दिएका छन् ।

चुनाव अगाडी कुनै नगर वा सहरमा हामीलाई स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिन सक्छन् भनेर तपाईहरुले आंकलन गर्नु भएको थियो ? 
स्वतन्त्र उम्मेदवार उठ्ने कुरा नयाँ होइन, यसअघि पटक पटक धेरै चुनावमा स्वतन्त्र उम्मेद्वार उठेका छन् । कतिपय ठाउँमा जितेका पनि छन् । तर, यसपटक महानगर र उपमहानगरमै जुन तरिकाले स्वतन्त्र उम्मेदवारहरु उदाएका छन् यसले दलहरुलाई धक्का दिएको छ । इमान्दारपूर्वक भन्नुपर्दा यसरी धक्का दिने गरी स्वतन्त्र उम्मेदवार आउँछन् होला भनेर हामीले थोरै पनि अनुमान गरेका थिएनौँ । उनीहरुप्रति मतदाता यसरी झुम्मिन्छन् भन्ने आकँलन हामीले गर्दै गरेका थिएनौँ । तर, एउटा कुरा चाही के हो भने देशमा बढ्दै गएको भ्रष्टाचार, बेथिति र कष्टकर बन्दै गएको जनताको जनजीविकाका विषयमा दलहरुले गरेको बेवास्ताको आक्रोश चाहिँ प्रकट हुने खतरा मैले व्यक्तिगत रुपमा देखेको थिए । प्रजातन्त्र भनौँ वा लोकतन्त्र आएको यतिका वर्षसम्म हामी राजनीतिक एजेन्डामै अल्झियौ । व्यवस्था बद्लियौ तर जनताको अवस्था प्रति झन्डै झन्डै बेवास्ता नै गरियो । जसको परिणाम हो आजको नतिजा । अब दलहरुले यसबाट पाठ सिक्नै पर्छ । अनुमान नगरेको नतिजा आएसँगै यसको समीक्षा गर्दै अगाडीको बाटो तय गर्नै पर्छ । राजनीतिलाई सुशासन र नैतिकताको ट्र्याकमा ल्याउनु पर्छ । हामीलाई पुरानै ढर्रामा हिँड्ने छुट छैन । नत्र राजनीतिक प्रणाली नै धरापमा पर्न सक्छ ।

गठबन्धनको चर्को विरोध गर्ने नेता भित्र तपाई पनि एउटा हुनुहुन्थ्यो । तर गठबन्धन त कांग्रेसका लागि फलिफाप नै सिद्ध भयो, विरोध गर्नुको त कुनै तुक देखिएन नी ?
म आज पनि भन्छु– सैद्धान्तिक रुपमा गठबन्धन गर्नु गलत हो । बहुलबादमा आधारित संसदीय प्रणालीमा सबै राजनीतिक दल आ–आफ्ना नीति, सिद्धान्त, योजना र कार्यक्रम बोकेर चुनावमा जानुपर्छ । जानु पर्थ्यो । तर देश काल परिस्थितिअनुसार त्यस्तो अवस्था बनेन । पार्टीले निर्णय गर्‍यो । पार्टीको निर्णय मैले मान्नै पर्‍यो । गठबन्धन गर्दा संख्यात्मक हिसाबले हामी बलियो देखिएका छौँ । ३२० पालिकाभन्दा धेरैको चुनावी नतिजा हाम्रो पक्षमा आएको छ । यो त हाम्रो जित हो । तर, यो तालमेलले मात्रै दिएको परिणाम होइन । कांग्रेसको एजेन्डा र संगठनको बलमा प्राप्त उपलब्धि हो । यसपटक कांग्रेसमा गुटको राजनीति हाबी नहुनु पनि हाम्रो जितको अर्को महत्त्वपूर्ण कारण हो । विगतमा गलत तरिकाले टिकट वितरण हुन्थ्यो, यसपटक त्यो प्रवृत्ति नदेखिनु पनि कांग्रेस जितको अर्को महत्त्वपूर्ण कारण हो ।

सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले त सभापति देउवाले मनलाग्दी ढंगबाट टिकट वितरण गरेको, आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको थियो नी ? 
होइन, उहाँले त्यसरी मनलाग्दी भयो भन्नु भएको होइन । कहीँ कहीँ इमानदार कार्यकर्ता पाखा परे तिनलाई पनि समेट मात्रै भन्नु भएको हो । गठबन्धनका नाममा कांग्रेसमा वर्षौँदेखि योगदान गरेका नेता कार्यकर्तालाई पन्छाउने काम भयो भनेर आपत्ति जनाउनु भएको मात्रै हो । कहीँ कहीँ आर्थिक लेनदेन नै भएको हो की भन्नेसम्मका आशङ्काहरू उब्जिएका होइनन् तर, त्यस्तो भेटिएन । त्यो प्रवृत्ति कांग्रेसमा न्यूनीकरण हुँदै गएको छ ।

स्थानीय तहको चुनावमा कांग्रेसले जुन नतिजा हासिल गर्‍यो प्रतिनिधि सभामा पनि यो कायम रहन्छ ? के देख्नु भएको छ सम्भावना ? 
हामी आगामी मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा पनि पहिलो दल बन्छौ । कांग्रेसको एजेन्डा, कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्न खेलेको भूमिका, खोपका लागि गरेको प्रयत्नका कारण पनि जनताले कांग्रेसलाई माया गर्नेछन् । एमाले र केपी ओलीको दम्भ तोड्न पनि जनताले आगामी प्रतिनिधि सभाको चुनावमा कांग्रेसलाई जिताउने छन् ।

प्रतिनिधिसभाको चुनावमा पनि तपाईँहरू गठबन्धन गरेर नै जाने हो ? 
त्यो चाहिँ कथाले जे माग्छ त्यही हुन्छ । अहिले नै यसै हुन्छ भन्न सकिँदैन ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ४५ बजे

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा