'ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने | Khabarhub Khabarhub

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो ।

धनगढी क्रिकेट एकेडेमीको अगुवाइमा विगतमा आयोजित सुदूरपश्चिमाञ्चल एकेडेमी क्रिकेट कप (एसपिए कप) र धनगढी प्रिमियर लिग (डिपिएल कप) क्रिकेट प्रतियोगिताका संस्करण सञ्चालनसँगै महसुस भएको स्तरीय रङ्गशालाको अभावले यो ड्रिम फाप्ला अभियानलाई अघि बढाउने सोच बनेको थियो ।

धनगढी उपमहानगरपालिका–३ को मोहना नदी छेउमा रहेको फाप्ला मैदान झण्डै ३८ बिघा क्षेत्रफलको छ ।  एकेडेमीका अध्यक्ष सुभास शाहीले क्रिकेट प्रतियोगिता सञ्चालन गर्दा भएको खेलकुद मैदानको अभावले यो अभियान अघि बढाउने सोच बनेको बताए ।

‘विगतमा धनगढीमा आयोजना भएका एसपिए कप र डिपिएल प्रतियोगिताकै क्रममा फाप्ला मैदानमा क्रिकेट रङ्गशाला निर्माण गर्ने सोचसहित ड्रिम फाप्ला अभियान अघि बढाएका थियौँ’, उनले भने, ‘पछिल्लो पटक सरकारले विकास समिति गठन गरेपछि यो प्रोजेक्ट केही वर्षभित्रै पूरा हुने विश्वासमा छौँ ।’

शाहीलाई नेपाल सरकारले ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति’ को अध्यक्षमा नियुक्त गरेको छ । विगतमा धनगढीमा देशकै सर्वाधिक धनराशि पुरस्कारको डिपिएल प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता यो डिपिएलको आयोजनापछि प्रतियोगिताले राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलो पटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने प्रतियोगिता पनि डिपिएलनै हो । डिपिएलमा अक्सर गरेर छनोटमा पर्ने खेलाडीलाई कमाउने अवसर मिलेको थियो । ‘ड्रिम फाप्लामा पुग्न डिपिएल प्रतियोगिता पनि मुख्य सिँढी थियो’, अध्यक्ष शाहीले भने, ‘हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, अब सबैको सहयोग प्राप्त भएमा यो अभियान सफलतामा पुग्ने निश्चित छ ।’सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेशबमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिइसकेको छ ।  

सरकारको प्राथमिकता प्राप्त यो आयोजनालाई आगामी तीन वर्षभित्र पूरा गरिसक्ने लक्ष्य लिइएको छ । विकास समिति आदेशमा रङ्गशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको जनाइएको छ । विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित विभिन्न खेलका पूर्वाधार निर्माणको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिमको मुहार फेरिदिने यो अभियानप्रति कांग्रेस नेत्री तथा समाजसेवी आरजु राणा देउवाले चासो राखेर प्राथमिकतामा राख्न पहल गरेसँगै विकास समिति मोडेलमा फाप्ला निर्माण कार्यअघि बढेको अध्यक्ष शाहीले बताए । गठन आदेशअनुसार पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा सरकारले एक-एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्नसक्ने आदेशमा उल्लेख गरिएको जनाइएको छ ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानुनबमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्नेलगायतका जिम्मेवारी पूरा गर्ने जनाइएको छ ।

प्रस्तावित फाप्ला क्रिकेट मैदानमा रङ्गशाला बनाउने योजनाले यस क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीय दीपकबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘खेलक्षेत्रमा यो ठूलै योजना हो भन्ने सुनेका छौँ, यसको कार्यान्वयन हुनसके राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटका गतिविधि बढ्न गई आर्थिक विकास हुने अपेक्षा छ ।’  फाप्ला मैदानलाई स्तरीय क्रिकेट मैदान बनाउन स्थानीयवासीको सहयोग रहेको उनले बताए । सुदूरपश्चिम र खासगरी धनगढीमा क्रिकेट प्रतिको ‘क्रेज’ बढ्दै गए पनि खेल खेल्नस्तरीय खेल मैदानको अभाव रहेको छ । क्रिकेटका गतिविधि बढ्दै जाँदा यस क्षेत्रमा नयाँ खेलाडी जन्मिन थालेका मात्र नभई पछिल्लो दशकमा यो खेलसँग हजारौँ दर्शक जोडिन पुगेको खेलप्रेमीको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण पछिल्ला तीन वर्षयता भने यो खेलका गतिविधि रोकिएका थिए ।

एक दिवसीय र टेष्ट प्रतियोगिताको सट्टा टि–२० क्रिकेट खेल खेल्ने चलन सुरु भएसँगै क्रिकेट खेलप्रति आकर्षण बढेको क्रिकेटर धरम खड्का बताउनु हुन्छ ।  ‘टि–२० प्रतियोगिताले छोटो समयमै खेलप्रेमीलाई मनोरञ्जन दिन्छ, एक दिवसीय र टेष्ट म्याचबाट मनोरञ्जन पाउन लामो समय पर्खिनुपर्छ’, उनले भने , ‘पछिल्ला वर्षमा टि–२० क्रिकेट प्रतियोगिता आयोजनाको प्रचलन बढ्दा यो खेल लोकप्रिय बन्दै गएको छ ।’ 

नेपालमा क्रिकेट खेलप्रति बढेको आकर्षणसँगै खेलाडीलाई यो खेलमा लागेर हुने कमाइले सहज जीवनयापन गर्ने वातावरणसमेत बन्न थालेको उनले बताए । धनगढीमा होटेल सञ्चालन गरिरहेका खड्काले आफ्नो क्रिकेटप्रति लगाव भएकाले नै होटेलको नाम पनि ‘द होटेल क्रिकेट क्लासिक’ राखेको र यसबाट होटेलमै बसेर भए पनि प्रत्यक्षरूपमा क्रिकेट खेलको प्रवर्द्धन गर्न टेवा पुगिरहेको बताए ।

प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न विगतमा प्रदेशको गौरवको योजनाका रुपमा फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय खेलकुद केन्द्र (स्पोट्र्स सेन्टर) को रुपमा विकास गर्न प्राथमिकता पनि दिएको  थियो तर फाप्ला मैदानको स्वामित्व हस्तान्तरण हुन नसकेको कारण योजना कार्यान्वयनमा आउन सकेको थिएन ।

–सिद्धराज भट्ट रासस

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ३५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले