अडियो सुन्नुहोस्ः
स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न
निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हिजोको तुलनामा आज उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए । हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार अर्थात करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको उनले बताए । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताए । निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
स्थानीय निर्वाचन : साढे ६ बजेसम्म करिब ६१ हजारको उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ६० हजार ९५० जनाको उम्मेदवारी परेको छ ।साढे ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा १४ हजार ६५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन आयोगका अनुसार लुम्बिनीमा ११ हजार ३६९, प्रदेश नम्बर १ मा ११ हजार २३५, बागमतीमा ९ हजार ५६६, सुदूरपश्चिममा ४ हजार ९२०, कर्णालीमा ४ हजार ६३५ र गण्डकीमा ४ हजार ५७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।प्रमुखका लागि मात्रै देशभरी १९१४ जनाको उम्मेदवारी दर्ता भएको छ । पालिका अध्यक्षका लागि १९४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अधिकांश पालिकामा सत्ता गठबन्धनको तालमेल मिलेन
केन्द्रमा सत्ता गठबन्धनबीच देशभर चुनावी तालमेल गर्ने सहमति भएपनि देशका विभिन्न ठाँउमा दलहरूले गठबन्धन तोड्दै आ आफ्नो उम्मेदवार उठाएका छन् । सबैभन्दा बढी चर्चामा रहेको चितवनको भरतपुर महानगरमा माओवादीकी रेणु दाहालको उम्मेदवारी परेको छ । तर सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पौडेल पनि स्वतन्त्रमा उम्मेद्वारी दायर गराएका छन् । पौडेलले आज दिउँसो कांग्रेसको झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । अर्को चर्चामा रहेको पोखरा महानगरमा पनि कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । भने ललितपुरमा गठबन्धन तोड्दै एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै रसुवामा सत्तारुढ गठबन्धन आवद्ध दलले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुखमा कांग्रेस नेता सिंहको उम्मेदवारी
स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गराइन् । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।
माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त
नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडपले उग्र रूप लिएपछि सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी निर्वाचन कार्यालय परिसरमा सेना परिचालन गरिएको छ । जिल्लाका शीर्ष नेताहरूमाथि नै आक्रमणको खबरसँगै सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो । सेनाले भने निर्वाचन कार्यालय सुरक्षाका लागि नियमित कायम अनुसार परिचालित भएको जनाएको छ । माओवादी आधार इलाका मानिने साँगा चोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए । तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एकीकृत समाजवादीलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो ।
विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको छ : माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको जनाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताए । उनले बैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने उल्लेख गरे । महराले बाहिर प्रचार गरिएजस्तो गठबन्धन टुट्ने अवस्था नरहेको समेत बताए । उनले स्थानीय तहका निर्वाचनका लागि अपिल जारी रहेको र माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने बताए ।
गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइयो
गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । २०७२ साल वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पका कारण करिब नौ हजार नागरिकले ज्यान गुमाए । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको सरकारी तत्थ्यांक छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ४२ पीसीआर परीक्षणका क्रममा १९ जना र १ हजार १ सय ३३ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ४० जना निको भएका छन् । हाल नेपालमा २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नासु देवीबहादुर थापाविरुद्ध मुद्दा दायर
भन्सार जाँचपास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा आयोगले आज मुद्दा दायर गरेको हो । २०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरी पछिल्लो पटक निलम्बनमा रहेका नासु थापाले २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानुनी चल अचल सम्पत्ति आर्जन गरेको आयोगले दाबी गरेको छ ।
शेयर बजार परिसूचक नेप्से कारोबारमा आज गिरावट
शेयर बजार परिसूचक नेप्से कारोबारमा आज गिरावट आएको छ । नेप्से आज ३४ दशमलव ९२ अकंले घटेर २ हजार ३ सय ४६ दशमलव १ बिन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि आज घटेको छ । आज कुल ५ लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर २ अर्ब २ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा कारोबार भएको छ । आज जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । आज सेन्ट्रल फाइनान्सको मूल्य ५.३ प्रतिशत घटेको छ ।
राष्ट्र बैंकको अध्ययन भन्छ – नेपालमा १५ बैंक भए पुग्छ
नेपालमा बढीमा १५ वटा वाणिज्य बैंक भए पुग्ने राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या’ विषयक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । संख्या धेरै भएकाले बैंक तथा वित्तीय संस्थाको घटाउन विभिन्न उपायमार्फत मर्जरलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले अहिले संख्या आघा घटाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । अध्ययनमा समावेश सहभागीमध्ये करिब ५० प्रतिशतले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय व्यक्त गरेका छन् ।
इञ्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका स्थगन
नियामक निकाय बिमा समितिले इञ्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका स्थगन गरेको छ । विद्यमान निर्देशिका समय सान्दर्भिक परिमार्जन गर्नुपर्ने भएको भन्दै आजदेखि निर्देशिका स्थगन गरिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । बिमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनियरिङ बिमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले जानकारी दिए ।
ग्याँस लुकाउने दुई ग्यास डिपो कारबाहीमा
कृत्रिम अभाव देखाई ग्यास लुकाउने दुई ग्यास डिपो कारबाहीमा परेका छन । ललितपुरको शंखमुलमा रहेको राजु स्टोर्स र ललितपुरकै प्रयागपोखरी स्थित एस एण्ड जे एस स्टोर कारबाहीमा परेका हुन् । दुबै स्टोर्सले ग्यास लुकाएको पुष्टि भएपछि कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए । ती डिपोमा आयल निगमको टोलीले अनुगमन गर्दा व्यवसायीले ग्यास नभएको बताएका थिए तर डिपोभित्र ग्यास लुकाएको भेटिएको सूचना अधिकारी पौडेलले बताए ।
स्याङ्जामा लागूऔषधसहित दुई जना पक्राउ
स्याङ्जामा अवैद्य लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका–१३ बस्ने १९वर्षीय विमल थापा रहेका छन् । उनीहरूको साथबाट फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै सिरहाको धनगढीमाई नगरपालिका–१२ कुस्माटोलस्थित चौरबाट करिब ४० केजीअवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
दार्चुलामा बसको ठक्करबाट बालकको मृत्यु, गाडी जलाइयो
दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका २ रौतेउडामा बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो । उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन् ।
भोजपुरमा करेन्ट लाग्दा २५ वर्षीय युवाको मृत्यु
भोजपुरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।करेन्ट लागेर भोजपुर नगरपालिका–१२ मोरियाका २५ वर्षीय गणेश थापाको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आरीखोला घर भई मोरीया बस्ने थापालाई रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगाले छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीको बताएको छ ।
प्रतिक्रिया