डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव ! | Khabarhub Khabarhub

ओली फोनको ‘साइड इफेक्ट’

डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव !

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनभित्रैको अन्तर्घात र असन्तुष्टि बढेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु आपसी छलफलमा जुट्ने भएका छन् ।

चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै ओलीले प्रचण्डलाई टेलिफोन गर्दै आगामी सहयात्राबारे छलफल सुरु गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् । बिहीबार ओली र प्रचण्डको टेलिफोन वार्ता र सम्भावित फेरि वाम सहयात्राबारे समाचार बनेका थिए ।

तर यसलाई चिर्न फेरि सत्ता गठबन्धनका शीर्ष नेता तत्कालै छलफल जुट्ने कुराकानी भइसकेको बालुवाटार स्रोतले जनाएको छ ।

‘प्रचण्डको वर्तमान अवस्था बुझेर ओलीले खेल्न थालेको महसुस भइसकेको छ,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘ छिट्टै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर सबै विषय टुंग्याउने कुरा भएको छ । सम्भवतः नयाँ प्रधानमन्त्री को बन्ने भन्ने विषय पनि छिट्टै टुंगिन्छ ।’

यसअनुसार शनिबार वा आइतबारमै बालुवाटारमा बैठक बस्दैछ । सबै नेता जिल्लाबाट फर्किन ढिला भए सोमबार मात्रै शीर्ष नेताहरुको बैठक बस्नेछ । ओलीले गठबन्धनभित्र खेल्न प्रचण्डलाई फोन गरेको निष्कर्षसहित सत्ता गठबन्धनका शीर्ष नेताहरु आपसमा सहमति गर्न जुट्न लागेका हुन् ।

चुनावी मतपरिणामअनुसार कांग्रेस पहिलो पार्टी बन्नेछ भने एमाले दोस्रो र माओवादी तेस्रो पार्टी बन्नेछ । कांग्रेसले माओवादी, नेकपा समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टी मिलाएर सरकार गठन गर्ने तयारी थालेको छ ।

त्यो तयारीअनुसार शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्नेछन् । त्यसअघि शीर्ष नेताहरुको बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत शीर्ष पदहरुको भागबण्डा हुनेछ । प्रचण्डलाई डेढ वा दुई वर्षपछि प्रधानमन्त्री बनाउने गरि सहमति गरेर बहुमतको आधारमा देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष प्रस्ताव पठाउने शीर्ष नेताहरुको तयारी छ ।

प्रदेशमा पनि सत्ता गठबन्धनकै बहुमत रहेकाले प्रतिपक्षी एमाले अब पुरै पाँच वर्ष फेरि प्रतिपक्षमै सीमित गर्ने योजना देउवा, प्रचण्ड र माधव नेपालको छ ।

नेपालका सबैभन्दा अस्थिर नेता मानिने प्रचण्ड यसपटक पनि ओलीले प्रधानमन्त्री बनाउने सहमति गरेमा कांग्रेससँग छुट्टिन बेर छैन । प्रचण्डको यो स्वभाव राम्ररी बुझेका देउवा सकेसम्म डेढ वर्षपछि नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा छन् ।

तर यसका लागि कांग्रेसभित्र र सत्ता गठबन्धनमा नै कम्तीमा आन्तरिक सहमति चाहिन्छ । सत्ता गठबन्धन नै चुनावी मैदानमा होमिदा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् । यसबाट प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।

त्यसमाथि संसद् विघटन गर्ने ओलीसँग तत्कालै मिल्दा मतदातामा फेरि नराम्रो सन्देश जाने भएकाले प्रचण्ड सत्ता गठबन्धनबाट तत्कालै टुट्टिने सम्भावना छैन । त्यसमाथि यसपटकको चुनावी परिणामले एमालेलाई सरकार बनाउन सहज छैन ।

त्यसैले अंकगणितका हिसाबले कांग्रेस, माओवादी र समाजवादीलाई सरकार बनाउन सहजसँगै मतदाताको पनि जनमत छ । यस्तो बेलामा सबैभन्दा पहिले प्रचण्डको मागलाई सम्बोधन गर्नुपर्ने बाध्यता देउवालाई छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ११ बजे

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन

सुनसरी – नजिकिँदै गरेका पर्वहरूमा दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति एवं