अडियो सुन्नुहोस्ः
स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजारभन्दा बढीको उम्मेदवारी
निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज सवा ३ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४७ हजार २७४ पुगेको हो । आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् । ३ हजार ४३० जनाले प्रमुखमा, ३ हजार ३६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३४५ जनाले महिला सदस्यमा, २२ हजार ८९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४०१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
बेरुजु फर्छ्यौट नगरेको भन्दै चिरिबाबुविरुद्ध दाबी विरोध
ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार रहेका चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृत समक्ष विरोधको उजुरी परेको छ । ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गरेका हुन् । महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग डंगोलले गरेका छन् । त्यस्तै महानगरपालिकाकै वडा नम्बर ५ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका सञ्जीव पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई सरकारी सेवा सुविधामा हालसम्म एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको छ ।
विराटनगर महानगरमा एमाले उपमेयरका उम्मेदवार कार्कीविरुद्ध उजुरी
नेकपा एमालेको तर्फबाट विराटनगर महानगर उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की विरुद्ध मुख्य उजुरी परेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार अरमेन्द्र यादवले उजुरी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले कार्कीविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दा हेर्दाहेदैमा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको निलम्वनविरुद्धको रिटमाथि सुनवाइ हेर्दाहेर्दैमा परेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल प्रधान र टंकबहादुर मोक्तानको सयुंक्त इजलासमा आज भएको सुनुवाइ दुवै पक्षबीच बहस नसकिएकाले हेर्दाहेर्दैमा परेको हो । अब आउँदो विहीबार पुन सुनुवाइ हुने बताइएको छ । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गर्नुभएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको गत वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
कांग्रेसको घोषणापत्र गाली पुराण भएको एमाले अध्यक्ष ओलीको टिप्पणी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन् । मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाँले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन् । कांग्रेसको घोषणापत्रमा संविधानको केही विषय राखिएको र बाँकी बुँदाहरू एमालेको घोषणापत्रबाट चोरिएको उनले आरोप लगाए । उनले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरूले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गरे ।
सहमति विपरीत भएका उम्मेदवारी फिर्ताका लागि पहल भइरहेको छ : देव गुरुङ
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित साक्षात्कारमा गुरुङले धेरैजसो पालिकाहरूमा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताए । । उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक फरक रुपमा भएका मनोनयन फिर्ता हुने दाबी गरे ।
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल सुरु
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल सुरु भएको छ ।आज चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन् । मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । ‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ’, मन्त्री पौडेलले भनाइ छ ।
वायुसेवा निगमका अध्यक्ष अधिकारीसँग नागरिक उड्डयनमन्त्री आलेले सोधे स्पष्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरूलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो । यस्तै मन्त्री आलेले निगम प्रमुख अधिकारीले निगमको एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयमा पनि स्पष्टीकरण सोधेको बताइएको छ ।गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा उनीहरूलाई निगमले निशुल्क रियाद उडाएको थियो ।
जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : सिर्जना सिंह
काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छन् । आज आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनाहरूलाई पुरा गर्ने प्रतिवद्धता जनाइन् । उनले राजधानी काठमाडौँलाई सबैको साझा शहर र सुरक्षित शहर बनाउने दावी गरिन् । त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । त्यस्तै काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरमा विकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई बिजयी गराउनुपर्ने बताइन् ।
एमालेसँग तालमेल गरेका तीन जना उम्मेदवार निष्कासित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ । पार्टीको जिल्ला समन्वय समिति भोजपुरले आज विज्ञप्ति जारी गर्दै भोजपुर नगरपालिका–११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका–९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओम कुमार श्रेष्ठलाई निष्कासित गरेको जानकारी गराएको हो । ’प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेको हुँदा साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौँको महाराजगञ्जबाट २२ चिनियाँ नागरिक पक्राउ
काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरूलाई गत शुक्रबार पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए । उनीहरूमाथि अध्यागमन विभाग अनुसन्धान गरिरहेको छ । बिजनेस भिसामा नेपाल आएका उनीहरूको भिसाको म्याद सकिइसकेको पाइएको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।
काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी
काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । आज अपरान्ह शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ । निभाउनका लागि हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ । नजिकैको माछा पाल्ने पोखरीबाट हेलिकप्टरले पानी उठाएर निभाउने प्रयास भइरहेको छ । आगो के कारणले लगोको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्।
थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको भएका छन् ।हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२५ वटा हिमाल आरोहण गनका लागि ८८६ जनाले अनुमति पाए
यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् ।विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् । सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् । विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जनाले अनुमति पाएका छन् ।
एक हप्तामा १० अर्बले घट्यो बैंकको निक्षेप
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।१ वैशाखसम्म २७ वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । ९ वैशाखमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।उता कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । १ वैशाखमा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ९ वैशाखसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।
शेयर बजार परिसूचक नेप्समा आज पनि गिरावट
शेयर बजार परिसुचक नेप्समा आज पनि गिरावट आएको छ । नेप्से आज १५ दशमलव २ अकंले घटेर २ हजार ३ सय ७० दशमलव ९९ विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि आज घटेको छ । आज कुल ३४ लाख १९ हजार २ सय २८ कित्ता शेयर १ अर्ब ४ करोड ६ लाख ४ हजार ४१७ रुपैयाँमा कारोबार भएको छ ।आज उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सम्रग बजार घटेपनि जल्पा सामुदायिक लघुवित्तको मूल्य झण्डै १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज .सिद्धार्थ बैंक,अपी पाबर ,नेस्डो लघुवित्त क्रमश अगाडि रहेका छन् ।
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिँडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया