सङ्खुवासभामा पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण « Khabarhub

सङ्खुवासभामा पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो ।

समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरेको हो । भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो ।

जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन रु ५० हजार र घर बनाउन तीन किस्तामा रु पाँच लाख दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलव पाँच रोपनी रु ७० लाख र बखल्टुममा १७ दशमलव पाँच रोपनी रु ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ ।

उक्त जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जनाए । जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो ।

पहिरो विस्थापितलाई मनसुनजन्य विपद् प्रभावितलाई पुनःस्थापना गर्नेसम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ । घर निर्माणका लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकेको जनाएको छ ।

सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको प्रजिअ खतिवडाले बताउनुभयो । पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिङ्गो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । उक्त पहिरोमा परी ११ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ०४ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको