विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १० २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २६, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

नाइजेरियामा सैनिक कारवाहीमा परी ५७ जना अतिवादी हतियारधारी मारिए

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारवाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा सेनाले जारी राखेको कारवाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।

नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारवाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारवाही गरेको थियो ।

उक्त कारवाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नो र योबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारवाहीको प्रक्रिया थालेको थियो ।

त्यस कारवाहीका क्रममा एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकुहरुको प्रभाव रहेको मानिन्छ ।

कोरोना अपडेट

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० हजार नौ सय १३ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब ११ करोड १३ लाख ९४ हजार भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच, विश्वभर हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

वर्ल्डमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ ।

वर्ल्डमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ ।

यता दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ ।

योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ ।

अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना सङ्क्रमित भएका थिए ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

सरकारले राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।

ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

त्यसैगरी बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबार विहिन भएका र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर विदेशीका लागि पनि बिक्री खुला गर्ने

पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको शेयर विदेशीलाई पनि बिक्री गर्ने भएको छ ।

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइललाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानले मैत्रिपूर्ण मुलुकहरुलाई सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर बिक्री गर्न लागेको हो ।

यस्तो शेयरको खरिद बिक्री सरकारी स्तर (जीटुजी) बाट हुने जनाइएको छ । आवश्यक परेको खण्डमा सरकारले ती शेयर पुनः खरिद गर्न सक्नेगरी व्यवस्था पनि गरिएको डनले उल्लेख गरेको छ ।

पाकिस्तानी अर्थमन्त्री इस्माइलले चाँडै सरकारले केही आयातित वस्तुहरुमा लगाएको प्रतिबन्ध पनि चाँडै फुकुवा गर्ने समेत जनाएका छन् ।

आर्थिक समस्या झेलिरहेको पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चिन्तामाझ पाकिस्तानी अर्थमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

भारतमा एउटै परिवारका छ जना मृत फेला

भारतमा शुक्रबार एउटै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषयबारे भने प्रहरीले जानकारी दिएको छैन ।

घटनामा ६५ बर्षका संगत राम, ३४ बर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए ।

उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ ।

लेबनानमा बालअधिकार खुम्चिँदै

लेबनानमा पछिल्लो समयमा देखा परिरहेको आर्थिक सङ्कट र कोभिड १९ को महामारीका कारण यहाँका बालबालिकाको अधिकार खुम्चिदै गएको पाइएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार आर्थिक सङ्कटका कारण यहाँका बालबालिकाले पाउने शिक्षा स्वास्थ्यलगायतका कैयौँ आधारभूत अधिकारहरुमा पनि कटौती भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ ।

बाल सिर्जना, खेल्ने अधिकार, शिक्षा तथा अन्य आधारभूत स्वास्थ्यको अधिकारबाट पनि यहाँका बालबालिका दिन प्रतिदिन बञ्चित हुदै गएका सो एजेन्सीले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खासगरी यहाँ पछिल्ला दिनहरुमा आर्थिक सङ्कटका कारण चर्काे मूल्य वृद्धि भएको र बेरोजगारी दर पनि दिनहुँ बढ्दै गएको छ । यसका कारण यहाँका मानिसहरु गरिबीको चपेटामा पर्दै गएका छन् ।

बाबुआमामा गरिबी तथा महङ्गीको समस्या आएपछि उनीहरुका छोराछोरीका आधारभूत बालअधिकारका सुविधाहरुमा पनि कटौती हुन पुगेको बताइएको छ ।

विश्वमा कोभिड १९ को सङ्क्रमणले समस्या पारिरहेको छ । त्यस्तै पछिल्ला केही महिनायता आर्थिक सङ्कट र महङ्गीको समस्या पनि उत्पन्न भएको छ ।

यसले गर्दा विश्वका अरु देशको जस्तै लेबनानमा पनि आर्थिक अभाव देखिएको छ । कोभिडका कारण अर्थतन्त्र पनि सङ्कटमा पर्न लागेको बताइएको छ ।

सो अध्ययनले लेबनानका ८० प्रतिशत भन्दा बढी नागरिकले घरमा आवश्यक पर्ने न्युनतम आवश्यकताको पूर्ति गर्नका लागि खर्च गर्न पनि नसक्ने अवस्थामा पुगेका देखाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : १० बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्