दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १. अविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षड्यन्त्र भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको  बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षड्यन्त्र भएको बताए । परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको  भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमित सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने सम्भावना रहेको प्रचण्डले जिकिर गरे । उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको  स्पष्ट पारे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले  त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए । 

२. पार्टी कार्यालयमा धर्ना दिने नेपाली काङ्ग्रेस कोइराला समुहको निर्णय  

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाउँदै ,पार्टीमा समान न्याय र अवसरको माग गदै  शेखर पक्षको दोस्रो तहका नेताहरूको बैठक ठमेलस्थित एक होटलमा  आज बसेको बैठकले पर्सि असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक  घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइने कोइराला पक्षका नेताहरूले बताएका छन् । यस्तै असोज १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।बैठकमा केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेहीलगायतको उपस्थित रहेको थियो । पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरूले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरूको माग छ ।

३. पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्नेमा सभामुखको जोड  

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा आज बोल्दै उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरूरी रहेको बताएका हुन् । सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको समेत उनले बताए। पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने उनले  जिकिर गरे। उनले  स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवा मैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए । राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको उनको भनाई छ ।

४. हनुमानढोकास्थित दशैँ घरमा आज घटस्थापना गरियो 

काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ ।  आज बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाई पनि गरेको थियो । यस्तै गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज विधिपूर्वक जमरा राखिएको छ । शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं एवं नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी, शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ

५. एमालेका सल्लाहकार समिति सदस्य गंगारामद्धारा पार्टी परित्यागको घोषणा

नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्  । उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् । उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।

६. पौने १८ अर्बको तेल आयात 

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको  तेल  आयात गरेको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । सो  मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ । विभागका अनुसार गत  २ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ । सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लीटर कच्चा पाम तेल नेपालमा आएको छ । यस्तै, २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लीटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ । विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरको छ ।  

७. चट्याङले लागेर एक किशोरको मृत्यु 

पर्साको वीरगञ्जमा चट्याङले लागेर एक किशोरको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । आज बिहान वर्षासँगै आएको चट्याङले लागेर वीरगन्ज महानगरपालिका –२ छपकैयाका रामप्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो । छपकैया ईदगाह चोकस्थित छठघाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ  लागेर  उनीसहित फुलनेसा खातुन र १३ वर्षीय अर्जुन राउत घाइते भएका थिए । उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल  पुर्‍याउँदा  सिद्धान्तको मृत्यु भइसकेको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइतेमध्ये अर्जुनको अवस्था गम्भीर  रहेको छ । यस्तै सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाइते भएका छन् ।

८. फिलिपिन्सको आँधीका कारण  ५ जना उद्धारकर्ताको मृत्यु

फिलिपिन्सको मुख्य टापु लुजोनमा आएको शक्तिशाली आँधीका कारण  ५ जना उद्धारकर्ताको मृत्यु भएको छ  । बुलाकान क्षेत्रका गभर्नर ड्यानियल फर्नान्डोले प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका पाँच जना कर्मचारीलाई सान मिगुएल जिल्लामा उद्धार कार्य गरिरहेको बेला बाढीले बगाएको जानकारी दिएका हुन् । नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर हावाको गतिसहित  आएको त्यहाँको  मौसम पूर्वानुमान विज्ञहरूले जनाएका छन् । अहिले सो क्षेत्रमा बाढी आएको र लाखौँ मानिस विस्थापित भएका छन् । घरहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।

९ .दक्षिण कोरिया र अमेरिकाद्धारा संयुक्त नौसैनिक अभ्यास सुरु 

दक्षिण कोरिया र अमेरिकाले आजदेखि प्रायद्वीपनजिकै पहिलो पटक संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । प्योङयाङले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको एक दिनपछि  दुई राष्ट्रले सयुक्त रुपमा आज सैन्य अभ्यास सुरु गरेका हुन् । वासिङ्टन सीउलको मुख्य सुरक्षा साझेदार हो र उसले आणविक रूपमा सशस्त्र उत्तर कोरियाबाट रक्षा गर्न दक्षिण कोरियामा २८ हजार ५ सय सैनिक खडा गरेका छन् । उत्तर कोरियासँग आफ्ना अग्रज तथा पूर्वराष्ट्रपति मुन जाय इनको असफल कूटनीतिदेखि मे महिनामा कार्यभार सम्हालेका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति युन सुक योलले अमेरिकासँग संयुक्त सैन्य अभ्यास वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

१०. युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा पाहुना टोली बंगलादेश विजयी

युएईविरुद्धको पहिलो टी–ट्वान्टीमा पाहुना टोली बंगलादेश विजयी भएको छ ।  दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा गए राति भएको खेलमा पाहुना टोली ७ रनले विजयी भएको हो । यस जितसँगै टी-ट्वान्टी सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।भ्रमणकारी टोलीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीयुएईले पहिलो टी–ट्वान्टीमा पाहुना टोली बंगलादेश विजयी ले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५१ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि चिराग सुरीले ३९ तथा आयान खानले २५ रन बनाए । दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी-ट्वान्टी भोलि  हुनेछ ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ४५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा