बलिया टिमको फितलो प्रदर्शन, फाइनल अनपेक्षित | Khabarhub Khabarhub

कतार विश्वकप फूटबल

बलिया टिमको फितलो प्रदर्शन, फाइनल अनपेक्षित

रोनाल्डो, मेस्सी र नेयमारले फाइनल खेल्न सक्छन् ?


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलको पहिलो चरणका खेलहरुमा बलिया टिमले पनि कमजोर प्रदर्शन गरेका छन् । उपाधि दाबेदार भनिएका ब्राजिल, अर्जेन्टिना, जर्मन लगायत देशहरुको कमजोर प्रदर्शनले यसपटकको फाइनल अनपेक्षित हुने आँकलन गरिएको छ ।

समूह चरणका खेलहरुमा अर्जेन्टिना पराजित भएको छ । ब्राजिलले सर्बियाविरुद्ध जित निकालेपनि फितलो प्रदर्शन गरेको छ । यस्तै जर्मनी भने जापानसँग स्तब्ध भएको छ । इंग्ल्याण्डले पहिलो खेलमा इरानलाई ६ गोल हानेपनि दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको छ । पोर्चुगलले घानासँग जित निकालेपनि त्यो साँघुरो र संघर्षपूर्ण थियो ।

स्पेनले केही बलियो प्रदर्शन गरेको छ । तर यो टिम फाइनलसम्मै पुग्नेमा आशंका गर्ने थुप्रै ठाउँ छन् । यसपटक धेरैले फाइनलमा ब्राजिल र अर्जेन्टिनाको भिडन्त हेर्न चाहेका छन् । तर सुरुवाती खेलहरु हेर्दा नै यी दुई टोली फाइनल पुग्न कठिन देखिन्छ ।

केही समयअघि आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट भएको थियो । जसको फाइनलमा धेरै क्रिकेटरले अष्ट्रेलिया र भारत पुग्ने आँकलन गरेका थिए । तर ठीक उल्टो पाकिस्तान र इंग्ल्याण्डले फाइनल खेलेका थिए ।

फिफा विश्वकपमा पनि त्यही अवस्था दोहोरिने धेरै सम्भावना छन् । किनकी प्रतियोगिताहरुमा अक्सर सोचेका भन्दा धेरै नसोचिएको नतिजा आउने गर्छ । कतार विश्वकपमा पनि सुरुवाती खेलहरुको अवस्था हेर्दा बलिया टिमको कमजोर प्रदर्शन र कमजोर मानिएको टिमको सनसनी प्रदर्शन हेर्न लायक छ ।

कमजोर टिमको बलियो प्रदर्शन

पहिलो पटक विश्वकप आयोजना गरेपनि कतार समूह चरणबाटै बाहिरिएको छ । उसले उद्घाटन खेलमा पराजय भोग्दा बिहीबार राती भएको खेलमा सेनेगलसँग पनि पराजित भएपछि कतार विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ ।

यसबाहेक इरानले शुक्रबार राती अन्तिम समयमा वेल्सलाई स्तब्ध बनाएको छ । उसले इन्जुरी समयको तीन मिनेटमा दुई गोल गर्दै सनसनीपूर्ण नतिजा निकालेको छ ।

साउदी अरेबियाले लियोनल मेस्सीको बलियो दाबेदार टिमलाई सुरुमै स्तब्ध बनाएको छ । मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा उत्कृष्ट कमब्याक गर्दै साउदीले सनसनी जित निकालेको छ । फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोलले हराएपनि त्यो उसका लागि सुखद खेल मात्रै हो । डिफेन्डिङ च्याम्पियन फ्रान्स यसपटक सेमिफाइनल पुग्नेमै शंका छ । किनकी उसका लागि सुपरस्टार बालोन डिओर अवार्ड जितेका करिम बेन्जेमा, स्टार मिडफिल्डर पोग्बा र कान्टे यो विश्वकपमै छैनन् । यसको सिधा असर टिममा देखिन सक्छ ।

एमबाम्पेबाहेक अरु फ्रान्सेली खेलाडीले शतप्रतिशत जित निकाल्नेमा शंका छ । जापानले जर्मनीलाई हराएर यसपटक उत्कृष्ट खेलेको छ । गएको विश्वकपमा क्वाटरफाइनलमै ब्राजिललाई हराएको बेल्जियमले यसपटक सुरुमै क्यानडासँग साँघुरो जित निकालेको छ ।

गोल्डेन पुूस्ता भएको यो टिम अहिले उत्कृष्ट लयमा छैनन् । उसका मुख्य खेलाडी इडेन हजार्ड पछिल्लो दुई वर्षदेखि फर्ममा देखिएका छैनन् । विश्वकपविजेता उरुग्वेले यसपटक फितलो प्रदर्शन गरेको छ । दक्षिण कोरियाले नै उरुग्वेलाई रोकेर आफ्नो बहादुरी देखाइसकेको छ ।

घानाविरुद्ध पोर्चगल ३–२ अन्तरले जित निकाल्दा पनि रोनाल्डो खुशी छैनन । उनले विश्वकपअघि नै पोर्चुगल बलियो उपाधि दाबेदार नभएको बताइसकेका छन् । यद्यपी उनले घानाविरुद्ध पेनाल्टीमा गोल गरेर लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

समूह चरणमा बलिया टिमलाई आच्छु आच्छु पारेका कमजोर टिमको यात्रा कहाँसम्म पुग्छ, त्यो आफैँमा एकिन विषय होइन । तर समूह चरणमै फितलो प्रदर्शन गर्ने टिम फाइनलसम्म पुग्न समय लाग्दैन । त्यो आगामी खेलले तय गर्छ, तर कतार विश्वकपको रोचकता भने यिनै आयामले भरिएको छ ।

सुपरस्टारहरुको भिडन्त

यसपटकको विश्वकपमा पनि सुपरस्टारहरुको भिडन्त रोचक छ । पोर्चुगलका रोनाल्डो, अर्जेन्टिनाका मेस्सी र ब्राजिलका नेयमार कतार विश्वकपका सबैभन्दा चर्चित र आशलाग्दा खेलाडी छन् । त्यसमा पनि मेस्सी र नेयमारलाई यसपटकको फाइनलमा हेर्न लायक टिमका खेलाडीका रुपमा हेरिएका छन् ।

दुवै टिम बलिया मात्रै छैनन्, उपाधिका पनि भोका छन् । रोनाल्डो लयमा नभएकाले उनको यात्रा बढीमा क्वाटरफाइनलसम्म आश गर्न सकिने ठाउँ छ । तर विश्वमा रोनाल्डो मात्रै यस्तो खेलाडी हुन्, जसले चाहेको खण्डमा कुनै पनि उपाधि आफ्नै खुट्टाको गोलबाट हातमा राख्ने हैसियत राख्छन् ।

यो विश्वकपमा रोनाल्डो, मेस्सी र नेयमारबाहेक ग्यारेथ बेल, किलियन एमबाप्पे र सन मिङ हाङ जस्ता खेलाडी पनि चम्किने आश गरिएको छ । नेयमार पहिलो खेलमै घाइते भएर बेन्चमा पुगेका थिए । अब कम्तीमा दुई खेलमा उनी फिट छैनन् ।

यस्तो ब्राजिलको पीडा थपिएको छ । किनकी पछिल्ला लगातार तीन विश्वकपमा नेयमार नै ब्राजिलको नायक मानिन्छन् । तर उनको चोटले विश्वकपमा लगातार ब्राजिलले पीडादायी नतिजा भोग्दै आइरहेको छ । यसपटक पनि सुरुमै नेयमार घाइते हुनुले यसको सुरुवाती संकेत दिन्छ ।

मेस्सी पहिलो खेलमै हार व्यहोरेका कारण घाइते बाघ जस्ता भएका छन् । उनका सबै खेलाडी स्टार छन् । तर पनि देशलाई कोपा अमेरिकाबाहेक अरु उपाधि दिलाउन सकेका छैनन् । यस्तो अर्जेन्टिनाले आगामी खेल कसरी र कस्तो खेल्छ भन्ने हेर्न बाँकी छ ।

पोर्चुगल पनि युवा र क्षमताले भरिएको टिम हो । यो टिमबाट पनि स्टार खेलाडीको भिडन्त पक्का छ । रोनाल्डो, मेस्सी र नेयमारमध्ये कुनै एक जना खेलाडी मात्रै सम्मिलित टिम फाइनल पुग्ने हो भने पनि यो विश्वकप रोचक हुन सक्छ ।

किनकी यी तीन विश्वकै उत्कृष्ट खेलाडी सम्भवतः अन्तिम पटक विश्वकप खेलिरहेका छन् ।

फाइनल अनपेक्षित !

कतार विश्वकपको सुरुवाती परिदृश्य हेर्दा यसपटकको फाइनल पनि अनपेक्षित हुने पक्का छ । उदाहरणका लागि यसअघि भएका लगातार दुइृ विश्वकपको नतिजा हेरे पुग्छ । फूटबलका भगवान मानिने पेले आफ्नै देश ब्राजिलमा भएको विश्वकपमा नेयमारले उपाधि उचाल्ने दाबी गरेका थिए ।

तर ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले पराजित भएर बाहिरियो । कारण थियो, टिमका मुख्य खेलाडी नेयमार र कप्तान थियागो सिल्भा टिममा नहुनु । नेयमार घाइते भए भने सिल्भाले दुई पहेँलो कार्डका कारण सेमिफाइनल खेल्न पाएनन् ।

यसले विश्वभर रहेका ब्राजिलका फ्यानलाई ‘सक्ड’ बनायो । मेस्सीको टिम अर्जेन्टिना फाइनल पुगेपनि जर्मनीसँग १–० गोलले पराजित भयो । जुन अपेक्षा गरिएको थिएन । ब्राजिलपछि सन् २०१८ मा रुसमा भएको विश्वकपमा नेयमारले उपाधि उचाल्ने पेलेको अर्को दाबी थियो ।

तर त्यहाँ पनि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । रुस विश्वकपमा रोनाल्डो, मेस्सी र नेयमारको टिम नै क्वाटरफाइनलबाट बाहिरिएको थियो । फाइनलमा फ्रान्स र क्रोएसिया पुगे । क्रोएसिया सनसनीपूर्ण प्रदर्शन गर्दै फाइनल पुगेको थियो । जुन कसैले सोचेकै थिएन ।

फाइनल फ्रान्सले ४–२ गोलले जित्यो । त्यतिबेला युरोकपमा रोनाल्डोको टिम पोर्चुगलसँग आफ्नै घरेलू मैदानमा व्यहोरेको हारको पीडा फ्रान्सले विश्वकप जितेर पूर्ति गरिदियो । जुन अपेक्षित थिएन ।

यसपटक कतार विश्वकपमा पनि फाइनल पुग्ने टिमको आँकलन गर्न हतार हुन्छ । अहिले समूह चरणकै खेलको प्रतिष्पर्धा चलिरहेका बेला सबै टिम फाइनल पुग्न सक्षम छन् । फरक यति मात्रै हो, जसले जितलाई निरन्तरता दिन सक्छ, त्यही टिम उपाधि नजिक पुगेर ट्रफी जित्ने हो ।

त्यो टिम कुन हुन्छ ? त्यो सेमिफाइनलका खेलपछि मात्रै थाहा हुन्छ । कारण, कतार विश्वकप पनि अरु विश्वकप जस्तै रोचक भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : १५ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ