धानको उचित मूल्य नपाउँदा किसान चिन्तित | Khabarhub Khabarhub

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन्  । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

घोराही उपमहानगरपालिका-६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा  धान प्रति क्विन्टल दुई हजार दुई सयमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताए । 

‘महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गए जस्तो हुन्छ’, उनले भने । यस्तै लमही नगरपालिका-५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल रु दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताए। समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनले बताए । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गरे।

लमही नगरपालिका-५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उनले बताए ।

 गत कात्तिक १६ गते  मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९-८० का लागि धानको समर्थन मूल्य तोकेको थियो ।  मोटा धानको मूल्य प्रति क्विन्टल रु दुई हजार नौ सय ६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय १५ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार एक सय २८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ भन्दा बढी हो । 

सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उनले बताए । 

कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ४ : २४ बजे

मानव अधिकार आयोगको ६२ प्रतिशत उजुरीको भएन सुनुवाइ, संस्थाको औचित्यबारे अधिकारकर्मीले उठाए प्रश्न

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार र प्रवर्द्धन सुरु

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन

सम्झौता अवधि सकिएपछि काममा तीव्रता

बागलुङ– कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि

महिला एसिया कप : आज नेपालले भारतसँग खेल्ने

काठमाडौं– एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग