'सबै समस्याहरुलाई चिरेर महिला अघि बढौँ' | Khabarhub Khabarhub

‘सबै समस्याहरुलाई चिरेर महिला अघि बढौँ’

‘अब एनआरएनएले राम्रो ट्रयाक लिनेछ’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय वैदेशिक रोजगारीमा पुरुषमात्रै होइन युवती र महिलाहरू पनि जानेक्रम बढ्दो छ । शिक्षित, दक्ष र विद्यार्थीहरू युरोप, अमेरिका जस्ता मुलुकमा पुगे पनि अशिक्षित र विपन्न व्यक्तिहरूको रोजगारीको गन्तव्य भारत र खाडी मुलुक बन्ने गरेको छ । विपन्न, दक्षता नभएको र अशिक्षित व्यक्तिहरूले रोजगारीमा जाँदा अनेक समस्या भोग्दै आइरहेका छन् । यस्तोमा महिलाहरू अझ बढी जोखिममा पर्ने र समस्या भोग्न बाध्य छन् । यसरी विदेशमा बस्ने नेपालीहरूको हकहित र संरक्षणका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) संसारभर फैलिएको छ । नेतृत्व विवादका कारण एनआरएनएको महाधिवेशन ६ महिना ढिला गरी भर्खरै सम्पन्न भएको छ । विदेशमा रहेका महिलाहरूको अवस्था, उनीहरूको सहयोगका लागि एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएनए महिला फोरमकी पूर्व संयोजक रजनी श्रेष्ठसँग यमुना रानाले गरेको कुराकानीः

नेपाल आउँदा के गर्न रुचाउनुहुन्छ ?
मैले गैर आवासीय नेपाली संघमा आवद्ध भएर काम गरेको झण्डै २० वर्ष भयो । विशेष गरी म महिला र बालबालिकाहरू लक्षित गरेर काम गरिरहेको छु । नेपाल आउँदा पनि यस्तै कार्यक्रमहरूको चाँजोपाँजो मिलाएर वित्छ । भर्खरै एनआरएनको अधिवेशन सम्पन्न भयो । महाधिवेशन हुन ६ महिना ढिला भयो । यसपालि हामीसँग खासै प्रोजेक्ट थिएन । तर हामी आफै महिलाहरू मिलेर एउटा हेल्थ क्याम्पको तयारी गर्दै छौँ । खासमा धेरै नेपाली महिलाहरू आफू बिरामी परे पनि आफ्नो त्यति केयर नगर्ने, सहेर बस्ने गर्नुहुन्छ । उहाँहरू आफ्ना श्रीमान र बच्चाहरूको मात्रै हेरचाह गर्ने र काम मात्रै गरिरहने हुँदा विभिन्न समस्या र असहजता बोकेर बस्नु हुन्छ । त्यसले गर्दा हामीले त्यस्ता महिला दिदिबहीनीहरूको लागि विभिन्न तालिम र स्वास्थ्य शिविरहरू संचालन गरी केही दिदिबहिनीहरूलाई मात्रै भए पनि सहयोग गर्न पाउँदा खुसी लाग्छ । त्यस्तै १० वर्षे द्वन्द्वले पनि कति महिलाहरूको घर उजाडिएको छ । उहाँहरू एक्लो पर्नुभएको छ । जसको कारणले उहाँहरूको आर्थिक अवस्था कमजोर हुँदा जे पनि काम गर्न तयार हुने स्थिति छ । उहाँहरू धेरै विदेश र त्यो पनि खाडी मुलुकमा रोजगारीमा गएको पाएका छौैँ । र त्यहाँ जाने केही महिलाहरू राम्रोसँग बुझेर नजाँदा समस्यामा परेका पाएका छौँ ।

तपाईँहरू लामो समयदेखि बेल्जियममा बस्नुभएकाले त्यहाँ बस्ने महिलाहरूको अवस्था कस्तो छ ?
बेल्जियममा महिलाहरूलाई त्यस्तो धेरै समस्या छैन । धेरै जना आफ्नै व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ । यदाकदा डकुमेन्ट र घरायसी कारण केही समस्या भए पनि त्यस्तो अन्य समस्या छैन । किनभने महिलाहरूको सुरक्षा र अधिकारका लागि राम्रो कानुन भएकोले गर्दा त्यस्तो समस्या छैन । सुरक्षित पनि छौँ ।

खाडी गएर महिलाहरूको समस्या बुझ्ने कुरा कसरी जुरेको थियो ?
एनआरएनको संसारभरी नै संजाल छ । सबै ठाँउमा महिला फोरम पनि छ । र हरेक वर्ष प्रायः देशहरूमा कार्यक्रमहरू भैरहेका हुन्छन् । त्यस्ता कार्यक्रममा हामी भाग लिने गर्थ्यौँ । सबै जानुपर्छ भन्ने त थिएन । तर हामी जान्थ्यौँ । त्यहाँ जाँदा सबैसँग भेटघाट हुन्थ्यो । त्यता (खाडी मुलुक) जाँदा महिलाहरू के काम गर्छन् ? उनीहरूको अवस्था कस्तो छ भन्नेमा चासो हुन्थ्यो । त्यहाँ रहेका महिलाहरूलाई पनि हामीले फोरममा जोड्यौँ । त्यसले गर्दा हामीलाई खाडी मुलुकमा रहेका महिलाहरूसँग सम्पर्कमा रहन र उहाँहरूको समस्या बुझ्न सजिलो भयो । उहाँहरूलाई हामी कसरी सहयोग पुर्‍याउन सक्छौँ भन्ने विषयमा अन्तर्क्रियाहरू पनि गर्यौँ ।

खाडी मुलुकमा रहेका नेपाली महिलाको अवस्था कस्तो पाउनुभयो ?
खाडी मुलुकको कुरा गर्दा, सबै महिलाहरूलाई समस्या र अवस्था राम्रो छैन भन्ने त छैन । केहीले राम्रै काम पाउनुभएको छ । गरिरहनुभएको छ । तर धेरै महिला अन एजुकेटेड र कुनै पनि सीप, तालिम र जानकारी विना दलालहरूमार्फत जानेहरूले एकदमै दुःख पाएको देख्यौँ । सुरुमा दलालहरूले ३०–४० हजार नेपाली रुपैयाँ तलब हुन्छ भनेर लग्ने तर महिनौँसम्म तलन नदिने । घरमा काम गर्नेहरूलाई घरमा पनि विभिन्न खालको टर्चर दिने र खाना समेत नदिएको पाइयो । उनीहरूलाई एनआरएन र दूतावासको सहयोगमा नेपाल फर्काउने गरिएको छ । हामी दुबई जाँदा करिब १२ जना महिलाहरू त्यसरी नेपाल फर्कनलाई दूतावसको सेल्टरमा राखिएको थियो । उनीहरूको पासपोर्ट समेत रोजगारदाताले राखिदिँदा नेपाल फर्कन नसक्ने हुँदा उनीहरू यातना सहेर पनि बस्न बाध्य भएको देखियो ।

खासगरी ती महिलाहरू नेपालमा पनि श्रीमानबाट हेपिएका, श्रीमानले छोडेका, श्रीमानको मृत्यु भएर एक्लिएका हुँदा आफू र बालबच्चाका लागि गएको पाइयो । तर त्यहाँ पनि महिलाहरू एक्लो हुँदा विभिन्न अन्य परिबन्धमा समेत परेको पाइयो । हामीले भेटेका कतिपय महिला एचआइभी एड्स जस्तो रोग लागेर फर्किन परेको पाइयो । कतिपय गर्भवती भएर समेत फर्किएको पाइयो । पैसा कमाएर राम्रो जीवनका लागिएका महिला उल्टै कहालीलाग्दो पीडा बोकेर फर्कन बाध्य छन् । यस्तो सबै देख्दा हामीलाई उनीहरूको लागि केही गरौँ भन्ने भयो । हामीले एनआरएनमार्फत केही तालिम दियौँ । त्यो समयमा हामीले करिब १०० जनालाई तालिम दियौँ । हामीले नेपालमै रोजगारी गर्न र विदेश गए पनि तालिम दिएर पठाउने गरी तालिमको व्यवस्था गरेका थियौँ । उहाँहरू कोही अहिले बाहिर राम्रै काम गरिरहनुभएको छ । कोही नेपालमै रोजगारी गरेर बस्नुभएको छ । हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौँ । जे होस उहाँहरूलाई खुसी देख्दा हामीलाई पनि खुसी मिल्छ । त्यसैले सकेसम्म नेपालमै रोजगारी दिने र गर्ने खालका तालिम र सीपहरू प्रदान गर्ने नभए विदेशमा जान पनि सीपहरू सिकाउन आवश्यक छ । त्यसले पछिल्लो कार्यकालमा आउनुभएका महिला फोरमका पदाधिकारीहरूलाई पनि महिलाहरूकै लागि केही गर्नुस् भन्ने सुझाव दिने गरेको छु ।

खाडी मुलुक र दुबईको कुरा गर्ने हो भने दुबईमा केही सुरक्षित र सहज छ भन्ने छ । तर तपाईँले दुबईमा दर्दनाक समस्या देखेर महिलालाई विदेश जान रोक्ने भन्नुभएको हो ?
होइन, मैले महिलाहरूलाई विदेश जानबाट रोक्न खोजेको होइन । महिलाहरू बाहिर जानुपर्छ । तर राम्रो तालिम लिएर जानुपर्छ । अहिले त सरकारले पनि सम्झौता गरेर पठाइरहेको छ । दलालहरूको माध्यमबाट जाँदा महिलाहरूले समस्या परेको देखियो । एउटा काम भनेर अर्कै काममा लगाउने, भनेअनुसारको काम नपाउने, बेचविखनमा पर्ने समस्या भयो । त्यसले गर्दा आफू कहाँ, कसरी र कुन कामका लागि जाँदैछु भन्ने बुझेर मात्रै जानुपर्छ । बाहिर त जानुपर्छ । किनभने डेभलप भएको देशमा गयो भने न नयाँ कुराहरू सिक्न सक्छौँ । हाम्रो अनुरोध यति मात्रै हो । हामी महिला कुनैपनि काममा पछि पर्न हुँदैन ।

एनआरएनएले समस्यामा परेका महिलाहरूको लागि के गरेको छ ?
महिला फोरम एनआरएनए मातहतमै रहेको हुँदा हामीले गर्ने सबै कार्यक्रममा एनआरएनएको साथ र सहयोग छ । हामीले संसारभर ‘एक नेपाली एक युरो’ अभियान चलायौँ । यसमा एनआरएनएले सहयोग गर्‍यो । जसबाट हामीले महिला र बालबालिकाका लागि विभिन्न हेल्थ क्याम्प गर्न सफल भयौँ ।

एनआएनए नेतृत्व विवादले होला मानिसहरूमा संस्थाप्रति नकरात्मक प्रभाव परेको जस्तो देखिन्छ । संस्थाभित्रै धेरै अनमेलका कुरा बाहिर आए, किन ?
म यसलाई सकारात्मक रुपमा लिन्छु । गैर आवासीय नेपाली संघले राम्रो काम गरेको भएरै मानिसहरूको ध्यान तानिएको छ । जहाँसम्म नेतृत्वको कुरा छ । पहिला हामीले तपाईँ आएर यो बनिदिनुपर्यो भन्नुपर्ने अवस्था थियो । तर अहिले नेतृत्वमा आउन चाहने धेरै हुँदा समस्या जस्तो देखिएको हो । तर म यसलाई सकारात्मक रुपमा लिन्छु । किनभने एनआरएनएले प्राकृतिक प्रकोप भूकम्प, कोरोना महामारी लगायत अन्य थुप्रै समस्यामा गरेको राम्रो कामका कारण संस्था प्रतिष्ठित बनेको छ । मानिसहरू यसको नेतृत्वमा आउन चाहेका हुन् । त्यसैले यसपाली धेरैलाई समेट्ने प्रयास गरेका छौँ । तीन जना त अध्यक्ष नै हुनुहुन्छ । महिलाहरू पनि धेरै आउनुभएको छ । म यसमा धेरै खुसी छु । किनभने आफ्नो देश र नेपालीको लागि केही गरौँ भन्ने अठोटका साथ साथीहरू नेतृत्वमा आउनु भएको छ । मलाई विश्वास छ अब एनआरएनएले राम्रो ट्रयाक लिने छ ।

देशमै नेपाली कला–संस्कृति र भाषा लोप हुँदै गइरहेको अवस्थामा तपाईं भने नेपाली भाषा र कला संस्कृतिको लागि पनि सक्रिय रहनुभएको छ नि ?
बेल्जियममा सबै जातजातिहरूको जातिगत संस्थाहरू खोलिएको छ । हामी सबैले आ–आफ्नो कला संस्कृति जगेर्नाको लागि काम गरिरहेका छौँ । कमसेकम हामीले आफ्नो चाडपर्व, भाषा, विभिन्न संस्कृतिको मायाँ छ । तर हामीले त्यो भुल्यौँ भने हाम्रो बच्चाहरूलाई थाहा नै हुँदैन । त्यसैले आफ्नो बच्चाहरूलाई सबै कल्चर सिकाउँछौँ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य रुपमा बसोबास रहेको हामी नेवारहरूको आफ्नै छुट्टै संस्कृति छन् । यसलाई पनि जोगाउने र त्यसलाई प्रवद्र्धन गर्ने उद्देश्यले काम पनि गरिरहेका छौँ । हामीले संसारभर रहेका नेवार समुदायको पनि छुट्टै संगठन अर्थात गुठी बनाएका छौँ । अली अगाडिसम्म उपत्यकाका नेवार समुदायले सुकुलको जुत्ता लगाउँथ्यौँ । त्यो त अहिले बुझ्दा एकदम हाइजेनिक र हेल्थको लागि राम्रो रहेछ । कोभिड महामारीको समयमा हामीले नेवारी समुदायमै त्यो जुत्ता बनाउन लगाएर हामीले निर्यात गयौँ । हरेक देशमा पासा पुजा र गुठी छ । हामी मः पुजा गछौँ । त्यसमा हामी भुँईमा बसेर पुजा गर्ने र भोज गर्ने चलन छ । त्यसमा हामीलाई सुकुल अनिवार्य हुन्छ । तर उता सुकुल नपाउँदा कारपेट प्रयोग गर्दै आइरहेका थियौँ । तर अब हामी सुकुल पनि बनाउन लगाउँदै छौँ । यसले थोरै भए पनि देशमा आम्दानी भित्रिन्छ, महिलाहरूलाई पनि सहयोग भयो र हाम्रो कल्चर पनि बच्यो ।

तपाईंको आफ्नो कामको बारेमा भनिदिनुस न ?
सुरुमा श्रीमान पढ्न जानुहँदा म पनि श्रीमानसँगै गएको हुँ । सुरुमा त मैले त्यहाँको भाषा सिकेँ । मैले त्यहा सानो व्यापार सुरु गरेको थिँए । फेरि त्यो छोडेर एउटा एअरलाइन्समा सेक्रेटरीको जागिर गरेँ । ६ वर्ष । त्यो दौरानमा हामी एनआरएनएमा पनि थियौँ । त्यसपछि हामीले गारमेन्टका सामान त लगिरहेका थियौँ । त्यपछि त्यहाँ नेपाली चाउचाउ एकदम चिज मान्ने हुँदा वाईवाई चाउचाउ लगेर बेच्न सुरु गर्यौँ । त्यसपछि नेपाली वियर लग्यौँ । अहिले त सबै नेपाली सामान लगेका छौँ । युरोपभरी सप्लाई पनि गछौँ । हामीले व्यापार सुरु गरेको १६ वर्ष भयो । अहिले बल्ल व्यापार राम्रो भएको छ । अहिले नेपालीले मात्रै होइन अरुले पनि नेपाली उत्पादन प्रयोग गर्न थालेका छन् । पहिले नेपाली गुन्द्रुक, सानो केराउ, वाईवाई खान नेपाल आउनुपथ्र्यो । अब सबै त्यँही खान पाउनुहुन्छ । अब अलिकति सामानको स्ट्यान्डर्ड मात्रै पुगेको छैन । त्यसको लागि पनि पहल गरिरहेका छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामी महिलाले चाह्यो भने जे पनि गर्न सकिन्छ । हामी कमजोर छैनौँ । हामी पुरुष भन्दा पनि बलियो छौँ । सबै समस्याहरूलाई चिरेर अगाडि बढौँ । महिलाहरूलाई यही भन्न चाहन्छु, ‘लेट्स गो अहेड ।’

 

https://www.facebook.com/khabarhubofficial/videos/282069324125070

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : ०६ बजे

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ