‘साइकल अभियन्ता हुँ भनेर गर्व गर्छु’ | Khabarhub Khabarhub

‘साइकल अभियन्ता हुँ भनेर गर्व गर्छु’

समग्रमा विश्वविद्यालयमा साइकल संस्कृति नाजुक छ !



विश्व जलवायु परिवर्तनले आक्रान्त बन्दैछ । हरेक दिन पृथ्वीको तापक्रम बढ्दै गएर त्यसको असर सिधा रुपमा आम नागरिकमा परेको छ । यस्तो अवस्थामा प्रदुषण बढाउने महँगा विलासी निजी सवारी साधनभन्दा वातावरणलाई सन्तुलन राख्ने साइकल चढ्ने अभियन्ताहरूको संख्या बढ्दै छ । डा. तारालाल श्रेष्ठ लेखक, विश्लेषक र अभियन्ता हुन् । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्ने श्रेष्ठ साइकल प्रेमी हुन् । पछिल्लो समय श्रेष्ठ प्राध्यापनसँगै साइकल चलाँउदै विभिन्न अभियानमा पनि सक्रिय रहेका छन् । खबरहबका लागि प्राध्यापक श्रेष्ठसँग लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंमा साइकल मोह कसरी बढ्यो ? 

कार्यपत्र प्रस्तुत गर्नका लागि म सन् २०१४ मा युनिभर्सिटी अफ अक्सफोर्ड बेलायत गएको थिए । त्यहाँका वरिष्ठ प्राध्यापकहरू राती दिउँसो सँधै साइकल प्रयोग गरेर हिँडेको मैँले देखेँ । हिउँ, पानी तथा चिसो मौसममा पनि रेनकोर्ट ओढ्दै प्रोफेसरहरुले साइकल चढिरहेको देखेँ । त्यही बेलामा म नेपालमा कार किन्नुपर्छ भनेर शोरुम चहार्दै थिएँ । बेलायतका विश्वविद्यालयमा हुलका हुल विद्यार्थी र प्राध्यापकहरूले साइकल चढिरहेको देख्दा कार किन्नुपर्छ भन्ने मेरो मनस्थिति बदलियो र काठमाडौं फर्किएपछि सामान्य साइकल चलाउन थाले । काठमाडौँको जुनसुकै ठाउँमा पनि साइकल चलाएर जान थाले । करिब ७ वर्ष एउटा सामान्य साइकल चलाएँ र म साइकलमा अभ्यस्त भएँ ।

नेपालमा साइकल संस्कृति हिजो स्थापित थियो र अहिले विस्थापित भएको हो ?

नेपालमा साइकल संस्कृति हिजो बढी स्थापित थियो । आज अलि विस्थापित भएको हो । पहिलो र दोस्रो विश्व युद्धमा धेरै नेपाली युवा युद्धमा होमिए । विश्व युद्धको समयमा साइकल प्रयोग भएको रहेछ । विश्व युद्धमा प्रयोग भएका केही साइकल भारत हुँदै नेपाल आइपुग्यो भनिन्छ । विश्वयुद्धको पृष्ठभूमिबाट साइकल संस्कृति नेपालमा पस्यो । त्यसमा पनि राणा खान्दान, सीमित धनाढ्य र केही हुनेखाने वर्गमा मात्र साइकल सीमित थियो । विस्तारै साइकल आम मानिसको साधन बन्दै गयो । साइकल संस्कृति राम्रोसँग फस्टायो । पहिले शासक वर्ग, राणा परिवारका मान्छेहरू साइकलमा हिँड्थे । विस्तारै समाजमा चिनिएका मान्छेहरू साइकलमा हिड्‌न थाले । त्यसबेला साइकलमा हिँड्दा एकदम इज्जत हुन्थ्यो । एक जमानामा काठमाडौँमा साइकल चढ्नेलाई उपल्लो वर्गमा सम्मान गरिन्थ्यो । त्यो संस्कृति विस्तारै विस्थापित भयो । 

विश्वमा दोस्रो विश्वयुद्धपछि अर्थात सन् १९५० देखि साइकल संस्कृतिलाई पाखा हुत्याउने गरि कार संस्कृतिको विकास भयो । तर नेपालमा सन् १९९० सम्म पनि साइकल संस्कृति स्थापित थियो । वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, अभि सुवेदी, ध्रुवचन्द गौतम लगायत स्थापित लेखकहरु साइकलमै हुइकिनु हुन्थ्यो । साइकलबाटै कीर्तिपुरसम्ममा पढाउन जानुहुन्थ्यो । सन् १९९० पछि जव राजनीतिक परिवर्तन भयो । उदार अर्थतन्त्रको आगमन पछि इन्धनवाला सवारी साधन हावी हुन थाल्यो । 

पश्चिमा शैलीको विकासका मोडेलहरुसँगै मोटरबाइक तथा कार संस्कृति नेपाल भित्रियो र साइकल संस्कृतिमा ह्रास हुँदै गयो । सन् २००० पछि अझ धेरै निजी सवारी साधन बढ्दै गयो । साइकल चढ्नेलाई निरीह वर्गका रुपमा व्यवहार गर्न थालियो । तैपनि नेपालमा साइकल संस्कृति विद्यमान छ । अहिले पनि बच्चालाई घरमा साइकल किनिदिइन्छ । नेपालमा साइकल संस्कृति संकटमय अवस्थामा पुगे पनि जीवित देखिन्छ ।

तपाईं त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापन गर्ने मान्छेलाई कारको साटो साइकलै प्रिय लाग्नुको कारण के हो ?

म आर्थिक हिसावले कार चलाएर हिड्‌न सक्छु । बाइक तथा कारलाई म घृणा गर्दिन, ती पनि चाहिन्छन् । तर नेपालमा दुई तीन प्रतिशतले कार चढ्दा त यस्तो भयावह अवस्था आयो । आज पनि विश्वका थोरै जनसंख्याले कार चढ्छन् । विश्वका ७ अर्ब जनसंख्या सबैले कार चढ्ने हो भन्ने विश्व विष्फोट हुन्छ । काठमाडौँमा ७० लाख जनसंख्यामा पाँच सात लाख कार र १६ लाख मोटरबाइक हुँदा त यस्तो हालत छ । भोली ७० लाखले निजी गाडी चढ्यो भने काठमाडौँको अवस्था नरक जस्तो हुन्छ । अब साइकल संस्कृतिमा जानुको विकल्पै छैन । 

मेरो तीन जनाको परिवारमा समान्यदेखि इलेक्ट्रिकल गरेर चारवटा साइकल छन् । जब हामी सबैजना साइकल चढेर केही समय बाहिर निस्कन्छौँ । हामीभित्र साइकलले ह्यापि हार्मोन उत्पादन गर्छ । यसर्थ प्राध्यापक लगायत ठुलो समूह अहिले साइकलमै रमाइरहेका छन् ।

विश्वका अन्य विश्वविद्यालयको दाँजोमा यहाँको साइकल संस्कृतिको अवस्था चाहिँ कस्तो छ नि ?

तपाईंले मिठो प्रश्न गर्नुभयो । विभिन्न विश्वविद्यालय जस्तै बेलायतको अक्सफोर्ड, अमेरिकाको कतिपय विश्वविद्यालय गए । विशेष रुपमा युरोपको नेदरल्याण्ड साइकलको स्वर्ण भूमि बनेको छ । विद्यार्थीले ट्रली जस्तै साइकल प्रयोग गरेर विद्यालय जान्छन् । ससाना उमेरका बच्चाहरूले पनि सधैँ साइकल प्रयोग गर्छन् । विशेषतः युरोपेली देशहरू साइकल संस्कृतिमा समर्पित भएका छन् । अमेरिका अझै कार क्रेजी कन्ट्री हो । 

विश्वविद्यालयमा अन्य सवारीसाधन महँगो हुने भएर पनि होला साइकल बढी चढ्छन् । स्वीडेन, नर्वे जस्तो माइनस ४० डिग्रीसम्म चिसो हुने र हिउँ पर्ने ठाँउमा पनि सधैँ साइकल प्रयोग गर्छन् । अरुको देश तथा विश्वविद्यालयमा साइकल संस्कृति एकदम राम्रो देखिन्छ तर हाम्रो विश्वविद्यालयमा साइकल संस्कृति सिला खोज्नु पर्ने अवस्था छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एउटा साइकल स्ट्यान्डसम्म छैन । साइकल संरचना केन्द्रीय विश्वविद्यालयभित्रै जिरो छ । साइकल चढ्ने मान्छे पनि अति कम छन् । नेपाली विश्वविद्यालयमा औलामा गन्दै खोज्नुपर्ने साइकल प्रयोगकर्ता छन् । समग्रमा भन्नुपर्दा नेपाली विश्वविद्यालयमा साइकल संस्कृति नाजुक छ ।

त्यसो भए हरेक विद्यालय र विश्वविद्यालयमा साइकल प्रयोगलाई प्राथमिकतामा राख्न के गर्नु पर्ला ?

सबैभन्दा ठुलो कुरा संस्कृति रहेछ । हाम्रो संस्कृति कस्तो छ त्यसले पनि साइकल संस्कृतिलाई निर्धारण गर्छ । विलासी कार प्रयोग गर्नेलाई सम्मान गर्ने प्रचलन छ । जनप्रतिनिधि, मेयर, मन्त्रीहरू लस्कर लाएर मोटर चढेर हिँड्छन्उनीहरूलाई समाजले ठुलो मान्छे ठान्छन् । साइकल चढेर हिड्नेलाई उलीविल्ली गर्छन् । यो संस्कृतिको कारणले भएको हो ।

 कुनै विश्वविद्यायलको उपकुलपति, रेक्टर, रजिस्ट्रार लगायत उच्च व्यक्तित्वहरु सबैले साइकल चढेर अफिस आउने हो भने व्यक्तिको स्वास्थ्य मात्रै होइन समाज र राष्ट्रकै स्वास्थ्य राम्रो हुन्छ । यसरी सोच्ने हो भने दुई दिनभित्र अधिकांश मान्छे साइकल प्रयोग गर्न अभिप्रेरित हुन सक्छन् । साइकल संस्कृति विद्यालयदेखि विश्वविद्यालयसम्म लागू गर्न सहजै सकिन्छ । हप्तामा एक दिन अनि दुई दिन बाध्यकारी बनाउँदै लगेमा साइकल संस्कृति सबै क्षेत्रमा छिटै विस्तार गर्न सकिन्छ । 

नेपालमा तपाईंले देखिरहेको साइकल अभियन्ताको गतिविधि चाहिँ कस्तो छ ?

नेपालमा धेरै पहिला प्रत्येक स्कुल तथा कलेज, बैकंहरु र निजी तथा सरकारी संस्थाहरूमा साइकल स्ट्यान्डको व्यवस्था रहेछ । तर सरकारको नीतिले मन्त्री भएपछि धेरै लामो लस्करको गाडी किन्न बजेट छुट्याउने, मोटरलाई प्राथमिकतामा राख्ने, बाटो ठूलो फराकिलो बनाउने जस्ता गतिविधिलाई सभ्यता र विकास भन्ने सोचियो । जब नीतिगत रुपमा मतलब गरेनौँ साइकल संस्कृति विस्थापित बन्दै गएको हो । यस्तो नाजुक अवस्थामा पनि नेपालमा प्रशस्तै साइकल क्लब तथा संघसंस्था सक्रिय छन् । उनीहरुले पिधँबाट प्रशस्तै काम गरिरहेका छन् । 

साइकल सम्बन्धि नीति बन्दै छ, साइकल संरचना बन्न थालेका छन् । ललितपुर, कीर्तिपुर लगायतका ठाउँमा साइकल संरचनाका केही काम भएको छ । नेपालका विभिन्न ठाउँमा साइकल लेनहरु बनाउन थालिएको छ । साइकलको गुरु योजना बनाउन थालिएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

तपाईं आफूलाई चाँहि साइकल प्रयोगकर्ता कि साइकल अभियन्ता, के भन्न रुचाउनुहुन्छ ?

पहिले मेरो पनि साइकल प्रति हेर्ने दृष्टिकोण एकदमै नकारात्मक थियो । पहिले म साइकल चढेको कुरा कसैमा सेयर गर्दिनथे । म साइकल चढ्छु भनेर सार्वजनिक रुपमा भन्दा लाज लाग्थ्यो । जब साइकल मेरो नशानशामा प्यासको रुपमा पसिकक्यो । साइकल बिना बाँच्नै नसक्ने भइसकेँ । अन्ततः साइकल अभियानमा लानुपर्छ भन्ने लागेर अब साइकल अभियन्ता हु भन्नमै गर्व गर्छु ।

काठमाडौँ उपत्यका जस्ता शहरहरू साइकलको नियमित प्रयोग सम्भव होला र ?

मैँले पछिल्लो पटक विभिन्न अनुसन्धान गर्ने कोसिस गरेको थिएँ । हेटौंडा लगायत भुटानी शरणार्थी शिविर झापामा साइकल संस्कृति कसरी स्थापित थियो । शिविरमा अहिले साइकल संस्कृति कसरी बेपत्ता हुँदै छ भनेर पनि अध्ययन गरेको थिए । काठमाडौँमा पनि साइकलसँग जोडेर अध्ययन अनुसन्धान गर्दै आएको छु । मैँले के पत्ता लगाएँ भने नेपालमा अहिले करिब ३८ लाख सवारी साधन रहेछन् । काठमाडौंमा १६ लाख मोटरसाइकल छ भनिन्छ । यति धेरै सवारी चाप हुँदा साइकल लिएर निस्कन सजिलै सक्ला भन्ने धेरैको मनमा प्रश्न उठ्न सक्छ । मलाई पनि यो कुराले पहिले पिरोल्थ्यो । साइकल चलाउन सम्भव छैन जस्तो लाग्थ्यो । तर सडकमा साइकल चलाएर निस्किएपछि सबैतिर छिटै पुग्न थालेँ । अन्य सवारी साधनको तुलनामा साइकल यात्रा थप सहज लाग्न थाल्यो ।

अन्त्यमा, नेपालमा साइकल संस्कृति स्थापित गर्न कसले के गर्नु पर्ला ?

साइकल यात्री तीन किसिमको हुन्छः नियमित साइकल चलाउने, कहिलेकाँही साइकल चलाउने र साइकल नचलाउने वर्ग । तेस्रो समुहले सहजै साइकल यात्राबारे सोच्दै सोच्दैनन् । यो सम्भव हुनै सक्दैन भन्ने सोच्छन् । साइकल चलाएर नेपाल तथा विश्व घुम्ने तथा इलामदेखि रारासम्म साइकलबाट घुम्ने महिलाहरु छन् नेपालमा । साइकल सम्भव छ भनेर रेगुलर साइक्लिस्टले अन्य दुई समूहलाई कन्भिन्स गर्न सक्नु पर्छ । जब सयौँ मानिसहरु एकैपल्ट सडकमा साइकल चलाएर निस्कन्छन् इन्धन दोहन गर्ने निजी सवारी संस्कृति स्वतः विस्थापित हुन्छ । 

घरका सबै सदस्य साइकलबाट यात्रामा निस्किएमा छिटै साइकल संस्कृति स्थापना सम्भव हुन्छ । हाम्रो देश आर्थिक रुपले धराशायी हुनसक्ने हल्ला छ । यसको मुख्य कारण पेट्रोलियम पदार्थमा हुने ठुलो लगानी हो । साइकल प्रयोगले यो भार कम गर्न सक्छ । यसर्थ सबै व्यक्ति सामुहिक तथा राष्ट्रिय स्वार्थका लागि समर्पित भएर आलोचनात्मक बहससहित नीति बनाउँदै त्यसलाई लागू गर्दै गएमा कही समयमा साइकल संस्कृति बढाउन सम्भव छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ०२ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच