काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।
नेता नेपालले तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरेका भट्टराईलगायतका नेतालाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन् ।
पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सबन्धका बारेमा भट्टराईले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु – कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा:
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यति बेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौँ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
४. छैँटौँ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।
‘पुनश्च : कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।’ अन्त्यमा उनले भनेका छन् ।
प्रतिक्रिया