जन्मदिनमा आरडी बर्मन : यस्ता छन् आशा भोसलेसँगको प्रेम किस्सा « Khabarhub

जन्मदिनमा आरडी बर्मन : यस्ता छन् आशा भोसलेसँगको प्रेम किस्सा


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो । ६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले तीन सय बढी फिल्ममा संगीत दिए । उनलाई बलिउडको सफल संगीतकार मानिन्छ ।

उनले किशोर कुमार र आशा भोसले जस्ता गायक गायिकालाई ‘सुपरस्टार गायक गायिका’ बनाए । आरडी गायिका आशालाई मन पराउँथे र एकदिन उनले विवाहको प्रस्ताव राखे । आशा पनि आरडीलाई मन पराउँथिन्, तर विवाह प्रस्तावलाई अस्वीकार गरिन् । निकै लामो समयसम्म प्रेम र अस्वीकार चलिरह्यो र अन्ततः उनीहरु एकअर्काका भए ।

आरडीले दुई विवाह गरेका थिए । पहिलो विवाह रीता पटेलसँग भएको थियो, तर उनीसँग सम्बन्धविच्छेद भयो । आशाको पनि यो दोस्रो विवाह थियो । आशासँग आरडीको पहिलो भेट सन् १९७० मा भएको थियो । सम्बन्धविच्छेदपछि आरडी एक्लो थिए । यता आशाका पति गणपतरावको पनि सन् १९६६ मा निधन भएको थियो । दुवै एक्लाएक्लै भए पनि सांगीतिक सहकार्य जारी थियो । ‘पिया तू ब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई लोकप्रिय बनायो । यी दुवै गीतको कम्पोज आरडीले नै गरेका थिए ।

आरडी र आशा दुवैको जिन्दगीबाट जीवनसाथी अलग भएपछिको अनुभव र पीडा करिब करिब एउटै थियो, त्यहीकारण दुवैको बीचको प्रेम गहिरो थियो । आरडीले एकदिन आशालाई विवाहको प्रस्ताव गरे, तर आशाले यस कुरालाई अस्वीकार गरिन् । आरडी उमेरमा आशाभन्दा ५ वर्ष कान्छा थिए । तर, आशाले विवाह प्रस्ताव अस्वीकार गर्नुमा उमेर कारण थिएन । उनी पतिको निधनको शोकबाट बाहिर निस्किएकी थिइनन् । तर आरडी हार मान्ने अवस्थामा थिएनन् । जसोतसो उनले आशालाई विवाहका लागि राजी बनाए । यो काममा उनलाई लता मंगेशकरले सहयोग गरेकी थिइन् । अन्ततः उनीहरूले सन् १९८० मा विवाह गरे ।

आशा र आरडीको विवाहलाई लिएर अर्को एउटा रोचक किस्सा छ । जुन लता मंगेशकरसँग जोडिएको छ । लतासम्बन्धमा आरडीको जेठी सासु थिइन् । आरडी लतालाई ‘दिदी’ भनेर बोलाउँथे । लताले आरडीसँग सहकार्य गर्दै कयौं सुपरहिट गीत दिए । लताले चैतन्य पादुकोणको पुस्तक ‘आरडी बरमनिया’मा आरडीसँगको सम्बन्धका बारेमा उल्लेख गरेकी छन् ।

‘जब आरडी र आशाको विवाह भयो, तब आरडीले मलाई ‘हामी तपाईँबाट कुनै महंगो उपहार चाहँदैनौं । यदि तपाईं दिन चाहनुहुन्छ भने मलाई एक वैवाहिक जीवनलाई सुन्दर बनाउनका लागि के के गर्नुपर्छ र के के गर्नुहुँदैन भन्ने कुराको परामर्श पत्र लेखेर दिनुहोस् भनेका थिए’, लताले भनेकी छन् । लताका अनुसार उनले दिएको त्यो पत्र आरडीले जिन्दगीभर सम्हालेर राखेका थिए । आरडीको ५४ वर्षको उमेरमा सन् १९९४ जनवरी ४ मा हृदयघातका कारण निधन भएको थियो ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ५७ बजे

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको

पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)

काठमाडौं– आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड

ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : मन्त्री मेहता

काठमाडौं– धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका