डेंगु संक्रमणले महामारीग्रस्त काठमाडौँ | Khabarhub Khabarhub

डेंगु संक्रमणले महामारीग्रस्त काठमाडौँ


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समययता नेपालभर डेँगु संक्रमितको संख्या बढिरहेको छ । यो रोगका बिरामी बढेपछि काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप पनि उत्तिकै बढेको छ ।

टेकुस्थित शुक्रराज ट्रपि‌कल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा बढी डेँगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दुई दिनयता दैनिक १५० भन्दा बढी डेँगुको लक्षणसहित बिरामीहरू उपचारका लागि पुग्ने अस्पताल पुग्ने गरेका हुन् । अस्पताल पुग्नेमध्ये ९० प्रतिशतलाई डेँगु पुष्टि हुने गरेको उनले बताए ।

‘बेड थपेर भए पनि हामीले उपचार गरेका छौँ, बेड अभाव छैन,’ सूचना अधिकारी गौतमले भने । उनले अस्पतालमा डेँगु संक्रमणका कारण आईसीयूमा ४, क्याबिनमा ३, जनरल वार्डमा १५ जनाको उपचार आइरहेको जानकारी दिए ।

ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएका डेँगु पुष्टि भएका बिरामीलाई घरमै आराम गर्न पठाइने उनले बताए । उपत्यका अस्पतालहरूले डेँगु बिरामी बढे पनि प्रेसर कम भएका, खाना नरुच्ने, बान्ता धेरै हुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको पनि उनले बताए ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पनि ज्वरो आएर अस्पतालमा डेँगु परीक्षण गराउनेको संख्या  बढेको छ । अस्पतालमा उच्च ज्वरो आएर परीक्षण गर्न आउनेको संख्या एकिन नगरिए पनि डेँगुका कारण अहिले दिनमा १० देखि १५ जनासम्मलाई अस्पतालमा भर्ना गरिने अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

बानेश्वरस्थित सिभिल अस्पतालमा पनि बिरामीको संख्या बढेको छ । अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले दैनिक ८ देखि १० डेँगुका बिरामी भर्ना हुने गरेको बताए ।  ज्वरोसँगै अन्य लक्षण देखिएर अस्पताल जाँच गराउन आएकामध्ये रगतमा सेतो मात्रा कम भएका र प्रेसर कम भएकालाई मात्रै अस्पताल भर्ना गर्ने गरिएको उनले बताए ।

यस्तै, वीर अस्पतालमा मात्रै दैनिक डेँगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. बस्नेतले खबरहबलाई बताए ।

‘डेँगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् । अहिले ३० जना भर्ना भएर डेँगुको उपचार गराएका छन्,’ उनले भने । डा. बस्नेतका अनुसार अस्पतालमा दैनिक कम्तीमा चार जना भर्ना हुने गरेका छन् ।

यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा डेँगु संक्रमित भएको पुष्टि भएको छ । ईडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दाहालले ललितपुरमा बढेको केश अब क्रमशः घट्ने बताए ।

काठमाडौँ जिल्लामा अझै दुईचार दिनसम्म डेँगुका केश बढ्ने प्रक्षेपण गरिएको छ । ईडीसीडी र काठमाडौँ जिल्लाका स्थानीय तहबीच डेँगु भएका लामखुट्टे बढ्न नदिनका लागि छलफल भएको थियो । सोही छलफल अनुसार लामखुट्टेको लार्भा नष्ट गरिने तयारी छ ।

महामारी क्षेत्र घोषणा गर्ने तयारी

ललितपुर जिल्लामा तीव्र रुपमा डेंगु संक्रमण फैलिएपछि सरकारले उक्त जिल्लालाई डेँगु महामारी क्षेत्रका रुपमा घोषणा गर्ने तयारी गरेको छ । विगत ५ वर्षको तथ्यांकका आधारमा सम्भावित जोखिमबारे जानकारी गराउन लागेको हो । स्वास्थ्य अधिकारीहरुले यस वर्ष डेँगुबाट हजारौं नागरिक प्रभावित हुनसक्ने अनुमान लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख  डा. गोकर्ण दाहालले महामारी घोषणा गर्न विगत पाँच वर्षको तथ्यांक अध्ययन गरिएको बताएका छन् । हाल देशका ७२ जिल्लामा डेँगु फैलिएको छ । सबैभन्दा धेरै ललितपुरमा देखिएको छ । उक्त जिल्लालाई महामारीका रुपमा भन्ने कि नभन्ने विषयमा छलफल जारी भएको उनले बताए ।

पछिल्लो सरकारी तथ्यांक अनुसार २५ सय ३९ जनामा संक्रमित पुष्टि भइसकेको छन् । प्रदेश १ मा १७९ जना, मधेश प्रदेशमा ५२ जना, बाग्मती प्रदेशमा १४७८ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ६४५ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ७९ जनामा डेँगु पुष्टि भएको छ ।

गत जनवरीमा ११ जना, फेब्रअरी ३ जना, मार्चमा १५, अप्रिलमा १८, मे मा २५ जना, जुन मा ९३ जना, जुलाइमा ५०४ जना, अगष्टमा १८७० जना गरी हालसम्म २५३९ जना पुगेको हो ।

डेँगुको अहिलेसम्मको अवस्था

नेपालमा अझै तीन महिना डेँगुका बिरामी बढ्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनसँगै डेँगु तराईबाट पहाड हुँदै हिमाली भेगमा पनि देखिन थालेको छ ।

मधेसमा बढी देखिने डेँगु २०१८ पछि पोखरा, काठमाडौँजस्ता पहाडी शहरमा पनि देखा परेको थियो । सन् २०१९ मा नेपालमा डेँगुको प्रकोप देखिएको थियो । वि.सं. २०६७ मा डेँगुले प्रकोपको रूप लिँदा करीब ११ सय जनामा यो रोग पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २५ सय भन्दा धेरैमा जनामा डेँगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका ६ महिनाको अवधिमा ४ सय डेँगुका संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष ५३० जनामा डेँगु पुष्टि भएको थियो ।

डेँगुबाट जोगिन के कुरामा ध्यान दिने ?

लामखुट्टेको टोकाइले डेँगु सार्ने भएकाले सकभर लामखुट्टेले नटोक्ने गरी जोगिने गर्नुपर्छ । पूरा बाहुला भएको लुगा लगाउन र अनिवार्य झुलभित्र सुत्ने गर्नुपर्छ ।

साथै घरको झ्याल तथा ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने र घर, कार्यालय तथा अन्य क्षेत्रमा पानी जम्न दिनु हुँदैन । चिकित्सकका अनुसार खाल्डाखुल्डी र खानेपानी या ढल चुहिएको छ भने त्यसलाई तत्काल मर्मत गर्नुपर्छ ।

यस्तै गमला प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने तथा पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने गर्नुपर्छ । उच्च ज्वरो आएमा, ज्यान अत्यधिक दुखेमा तत्काल अस्पताल जान चिकित्सकको सल्लाह छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ५८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द