डेंगु संक्रमणले महामारीग्रस्त काठमाडौँ « Khabarhub

डेंगु संक्रमणले महामारीग्रस्त काठमाडौँ


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समययता नेपालभर डेँगु संक्रमितको संख्या बढिरहेको छ । यो रोगका बिरामी बढेपछि काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप पनि उत्तिकै बढेको छ ।

टेकुस्थित शुक्रराज ट्रपि‌कल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा बढी डेँगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दुई दिनयता दैनिक १५० भन्दा बढी डेँगुको लक्षणसहित बिरामीहरू उपचारका लागि पुग्ने अस्पताल पुग्ने गरेका हुन् । अस्पताल पुग्नेमध्ये ९० प्रतिशतलाई डेँगु पुष्टि हुने गरेको उनले बताए ।

‘बेड थपेर भए पनि हामीले उपचार गरेका छौँ, बेड अभाव छैन,’ सूचना अधिकारी गौतमले भने । उनले अस्पतालमा डेँगु संक्रमणका कारण आईसीयूमा ४, क्याबिनमा ३, जनरल वार्डमा १५ जनाको उपचार आइरहेको जानकारी दिए ।

ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएका डेँगु पुष्टि भएका बिरामीलाई घरमै आराम गर्न पठाइने उनले बताए । उपत्यका अस्पतालहरूले डेँगु बिरामी बढे पनि प्रेसर कम भएका, खाना नरुच्ने, बान्ता धेरै हुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको पनि उनले बताए ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पनि ज्वरो आएर अस्पतालमा डेँगु परीक्षण गराउनेको संख्या  बढेको छ । अस्पतालमा उच्च ज्वरो आएर परीक्षण गर्न आउनेको संख्या एकिन नगरिए पनि डेँगुका कारण अहिले दिनमा १० देखि १५ जनासम्मलाई अस्पतालमा भर्ना गरिने अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

बानेश्वरस्थित सिभिल अस्पतालमा पनि बिरामीको संख्या बढेको छ । अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले दैनिक ८ देखि १० डेँगुका बिरामी भर्ना हुने गरेको बताए ।  ज्वरोसँगै अन्य लक्षण देखिएर अस्पताल जाँच गराउन आएकामध्ये रगतमा सेतो मात्रा कम भएका र प्रेसर कम भएकालाई मात्रै अस्पताल भर्ना गर्ने गरिएको उनले बताए ।

यस्तै, वीर अस्पतालमा मात्रै दैनिक डेँगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. बस्नेतले खबरहबलाई बताए ।

‘डेँगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् । अहिले ३० जना भर्ना भएर डेँगुको उपचार गराएका छन्,’ उनले भने । डा. बस्नेतका अनुसार अस्पतालमा दैनिक कम्तीमा चार जना भर्ना हुने गरेका छन् ।

यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा डेँगु संक्रमित भएको पुष्टि भएको छ । ईडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दाहालले ललितपुरमा बढेको केश अब क्रमशः घट्ने बताए ।

काठमाडौँ जिल्लामा अझै दुईचार दिनसम्म डेँगुका केश बढ्ने प्रक्षेपण गरिएको छ । ईडीसीडी र काठमाडौँ जिल्लाका स्थानीय तहबीच डेँगु भएका लामखुट्टे बढ्न नदिनका लागि छलफल भएको थियो । सोही छलफल अनुसार लामखुट्टेको लार्भा नष्ट गरिने तयारी छ ।

महामारी क्षेत्र घोषणा गर्ने तयारी

ललितपुर जिल्लामा तीव्र रुपमा डेंगु संक्रमण फैलिएपछि सरकारले उक्त जिल्लालाई डेँगु महामारी क्षेत्रका रुपमा घोषणा गर्ने तयारी गरेको छ । विगत ५ वर्षको तथ्यांकका आधारमा सम्भावित जोखिमबारे जानकारी गराउन लागेको हो । स्वास्थ्य अधिकारीहरुले यस वर्ष डेँगुबाट हजारौं नागरिक प्रभावित हुनसक्ने अनुमान लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख  डा. गोकर्ण दाहालले महामारी घोषणा गर्न विगत पाँच वर्षको तथ्यांक अध्ययन गरिएको बताएका छन् । हाल देशका ७२ जिल्लामा डेँगु फैलिएको छ । सबैभन्दा धेरै ललितपुरमा देखिएको छ । उक्त जिल्लालाई महामारीका रुपमा भन्ने कि नभन्ने विषयमा छलफल जारी भएको उनले बताए ।

पछिल्लो सरकारी तथ्यांक अनुसार २५ सय ३९ जनामा संक्रमित पुष्टि भइसकेको छन् । प्रदेश १ मा १७९ जना, मधेश प्रदेशमा ५२ जना, बाग्मती प्रदेशमा १४७८ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ६४५ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ७९ जनामा डेँगु पुष्टि भएको छ ।

गत जनवरीमा ११ जना, फेब्रअरी ३ जना, मार्चमा १५, अप्रिलमा १८, मे मा २५ जना, जुन मा ९३ जना, जुलाइमा ५०४ जना, अगष्टमा १८७० जना गरी हालसम्म २५३९ जना पुगेको हो ।

डेँगुको अहिलेसम्मको अवस्था

नेपालमा अझै तीन महिना डेँगुका बिरामी बढ्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनसँगै डेँगु तराईबाट पहाड हुँदै हिमाली भेगमा पनि देखिन थालेको छ ।

मधेसमा बढी देखिने डेँगु २०१८ पछि पोखरा, काठमाडौँजस्ता पहाडी शहरमा पनि देखा परेको थियो । सन् २०१९ मा नेपालमा डेँगुको प्रकोप देखिएको थियो । वि.सं. २०६७ मा डेँगुले प्रकोपको रूप लिँदा करीब ११ सय जनामा यो रोग पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २५ सय भन्दा धेरैमा जनामा डेँगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका ६ महिनाको अवधिमा ४ सय डेँगुका संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष ५३० जनामा डेँगु पुष्टि भएको थियो ।

डेँगुबाट जोगिन के कुरामा ध्यान दिने ?

लामखुट्टेको टोकाइले डेँगु सार्ने भएकाले सकभर लामखुट्टेले नटोक्ने गरी जोगिने गर्नुपर्छ । पूरा बाहुला भएको लुगा लगाउन र अनिवार्य झुलभित्र सुत्ने गर्नुपर्छ ।

साथै घरको झ्याल तथा ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने र घर, कार्यालय तथा अन्य क्षेत्रमा पानी जम्न दिनु हुँदैन । चिकित्सकका अनुसार खाल्डाखुल्डी र खानेपानी या ढल चुहिएको छ भने त्यसलाई तत्काल मर्मत गर्नुपर्छ ।

यस्तै गमला प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने तथा पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने गर्नुपर्छ । उच्च ज्वरो आएमा, ज्यान अत्यधिक दुखेमा तत्काल अस्पताल जान चिकित्सकको सल्लाह छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ५८ बजे

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे