तीन कोठामा पाँच कक्षा « Khabarhub

तीन कोठामा पाँच कक्षा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन निर्माण अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८र७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दुई कोठे भवन निर्माण थालियो ।

गत आवको बजेटबाट दुई कोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङरोगन गर्न बजेट पर्याप्त थिएन । “विद्यालयको कोषमा रहेको रु ६० हजार रकमसमेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भनिन्, “तर यस वर्ष बजेट नछुट्टिँदा हामी समस्यामा परेका छौँ ।”

प्राविधिक लागत अनुमानअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटर बाटो आई नपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो ।

“रड, सिमेन्ट र बालुवाको करिब रु तीन लाख ऋण छ”, प्रअ घिमिरेले भनिन्, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।” यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटकपटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भए पनि बजेटको प्रबन्ध नहुँदा समस्या भएको घिमिरेले बताइन् ।

नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरुले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले बताए । “नगरप्रमुख, उपप्रमुखलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरे पनि उहाँहरु आउनुभएको छैन”, थापाले भने, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उनको भनाइ छ ।

कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५ जना विद्यार्थी छन् । एक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीन कोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँच वटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाइ प्रभावित भएको प्रधानाध्यापक घिमिरेले बताइन् ।

विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोस्रो कोठामा कक्षा २ र ३ तथा तेस्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उनले बताइन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : १३ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै