सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो « Khabarhub

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो ।

नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक/एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन । त्यसैगरी सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर-१ मा पूर्वमन्त्री बीना मगर पराजित भइन् ।

गठबन्धनकै साथमा नेकपा (एकीकृत समाजवादी) ले पनि तीन सिट जितेको छ । यहाँ समाजवादीले अछाम-१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित भए ।

पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा (एमाले)  सुदूरपश्चिममा दुई सिट जित्न सफल भएको छ । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो । एमालेका लागि बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर-१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले जित दिलाए ।

त्यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो वर्चश्व प्रस्तुत गरेको छ । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको हो । यहाँ निर्वाचन क्षेत्र नं १ मा उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी र ३ मा गङ्गाराम चौधरी निर्वाचित भए । 

यसपटकको निर्वाचनमा सुदूरपश्चिममा सबैभन्दा खराब नतिजा माओवादीले पाएको छ । सत्ता गठबन्धनमा भागबन्डा गर्दा माओवादीले बैतडी, कञ्चनपुर-१ र कैलालीमा निर्वाचन क्षेत्र नं २ र ३ पाएको थियो । प्रतिनिधिसभामा शून्य भएको माओवादी प्रदेशसभामा भने आठ सिट जितेर दोस्रो ठूलो दल बनेको छ ।
अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले दुई सिटमा खुम्चिनुमा पार्टी फुट र गठबन्धनको असर रहेको एमाले नेताहरूको भनाइ छ । नेपाली कांग्रेसमा डडेल्धुराबाट प्रधानमन्त्री देउवा, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद, कञ्चनपुर ३ मा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित  भएका छन् ।

कांग्रेसबाट कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली ५ मा कांग्रेस नेता डिल्लीराज पन्त, अछाम २ मा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित भए । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता तथा हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित भए।

हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) बाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री चिन्तामणि भट्टले कांग्रेसले सोचेअनुसार नतिजा आएको बताए ।

‘समानुपातिकको गणना सकिएपछि बैठक हुन्छ, समीक्षा हुन्छ’, उनले भने, ‘त्यसपछि प्रदेश सरकार बनाउने गृहकार्य सुरु हुन्छ ।’ त्यसैगरी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सह-इञ्चार्ज राजेन्द्रसिंह रावलले सत्ता गठबन्धनका बाबजुद पनि एमालेले जनताको स्नेह पाएको बताए। उनले भने, ‘अहिले पनि सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले लिड गरिरहेको छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : २४ बजे

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।