पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै « Khabarhub

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै गएको छ । यसले गर्दा  हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए। विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बनेका छन् । बाँदर आतंक बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन् ।

उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन् । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो ।’

त्यसैगरी फलेवास-४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो । बिहादी गाउँपालिका-३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताए। 

‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौँ खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन ।’ बाँदरको हैरानी खेप्न नसकेका उहाँले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए।

अहिले जिल्लाभर बाँदरको आतंक फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ ।  बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाको भनाइ छ । बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । मोदी–२ का गुरुदत्त चापागाईँले भने, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ ।’ जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि बाँकी नराखेर उखेलेको गुनासो गरे । 

जिल्लामा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित बनेका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका समुद्र खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।’

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको  कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

जिल्लाको फलेवास नगरपालिकाले चालु वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको भए पनि अपेक्षित माग नआएको जनाएको छ । ‘फाट्टफुट्ट माग आएको थियो’, कृषि शाखा प्रमुख केदार सापकोटाले गरे, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन् ।’ महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् । 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ४६ बजे

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर