थासाङमा ओखर खेती प्रवर्द्धन गरिँदै | Khabarhub Khabarhub

थासाङमा ओखर खेती प्रवर्द्धन गरिँदै


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवर्द्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो । किसानका लागि  उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एक पटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए ।

आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उनले जानकारी गराए। मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रु ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ ।

अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।

उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशसमेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमिनमा तारबारदेखि बाँझो जमिनमा खेती लगाउन सुरुआत गरिने अध्यक्ष गौचनले बताए । गाउँपालिकाले फलफूल र तरकारीका अलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवर्द्धनका कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारिक मल तथा परम्परागत घरायसी कीटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ थियो ।

गाउँपालिकाको पहिचानका रूपमा रहेको अन्नको भण्डार भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सबल बनाइने अध्यक्ष गौचनले  बताए । गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषिपछिको महत्त्वपूर्ण आर्थिक विकासको क्षेत्रका रूपमा विकास गर्ने भएको छ । यहाँ रहेका तालतलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको प्रवर्द्धनका लागि गाउँस्तरमै कार्यक्रम तयार गरिएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : ३९ बजे

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

काठमाडौं – गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ।

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी– गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी

चर्चामा विश्वका सुन्दर एयरपोर्ट

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ