युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’ « Khabarhub

युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’

८० प्रतिशत आपूर्ति रोकिएपछि भू–राजनीतिक जटिलता



काठमाडौं– रुसले युरोपतर्फ जाने ग्यासको परिणाम घटाइदिएपछि यसबाट पर्ने असरबारे चर्चा सुरु हुन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ८० प्रतिशतसम्म घटाइदिएको छ।

यसअघि रुसले युरोपतर्फ ग्यास आपूर्ति गर्ने मुख्य माध्यम नोर्ड स्ट्रिम–१ मर्मतका लागि भन्दै केही दिन ठप्प पारेको थियो। रुसले ग्यास आपूर्तिमा भारी कटौती गरेसँगै युक्रेनमा जारी रुसी आक्रमणसँगै उत्पन्न भू–राजनीतिक जटिलता अझ बढेको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युरोपविरुद्ध ‘ग्यास युद्ध’ छेडेको भन्दै यसको बदलामा रुसविरुद्धका प्रतिबन्ध थप सशक्त बनाउन आग्रह गरेका छन् । ‘आज हामीले युरोपविरुद्ध ग्यासको धम्की सुन्यौँ’, जेलेन्स्कीले भने, ‘एकीकृत युरोपविरुद्ध रुसले खुला ग्यास युद्ध छेडिरहेको छ ।’

यसअघि रुसको राज्यनियन्त्रित ग्यास कम्पनी गाजप्रोमले नोर्ड स्ट्रिम–१ पाइपलाइनको टर्बाइनमा ‘प्राविधिक समस्या’का कारण जुलाई २७ बाट ग्यास आपूर्ति रोक्ने जनाएको थियो ।

गत साता गाजप्रोमले १० दिनको मर्मतपछि नोर्ड स्ट्रिमबाट पहिलेको तुलनामा केबल ४० प्रतिशत ग्यासको आपूर्ति सुचारु गरेको थियो । क्यानडामा मर्मतका लागि पठाइएको टर्बाइन फिर्ता आउन समय लागेका कारण आपूर्ति कटौती गर्नु परेको दाबी गरिएको थियो ।

जर्मनीको ऊर्जा नियामकले गत जुलाई २५ मा ग्यास आपूर्ति कटौती गर्नुमा कुनै प्राविधिक कारण नरहेको स्पष्ट पारेको थियो ।

जर्मनीको फेडेरल नेटवर्क एजेन्सीले घटनाक्रमबारे सूक्ष्म निगरानी गरिरहेको बताउँदै ‘कुनै प्राविधिक कारण नरहेको’ जनाएको थियो ।

एजेन्सीका प्रमुख क्लाउस मुलरले केही दिनअघि मात्रै रुसले नोर्ड स्ट्रिम १ पाइपलाइनबाट हुने ग्यास आपूर्ति नियन्त्रण गर्न सक्ने भएकाले जर्मनी ‘रुसको निगाहामा रहेको’ टिप्पणी गरेका थिए ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले गत साता रुसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी थिइन् । साथै उनले रुसी ग्यासको आपूर्ति पूर्ण रुपमा कटौती हुने सम्भावनाका लागि तयार रहनुपर्ने चेतावनी दिएकी थिइन् ।

उनले गत जुलाई २५ मा ‘क्रेमलिन युरोपका लागि ऊर्जा आपूर्तिको भरपर्दो साझेदार नभएको’ बताएकी थिइन् । नोर्ड स्ट्रिम १ को समस्यासँगै गाजप्रोमले जानाजान आफ्नो भण्डारण क्षमतालाई न्यून स्तरमा राखेको छ ।

यसबाहेक यस कम्पनीले युरोपेली युनियनका १२ सदस्य राष्ट्रलाई आशिंक वा पूर्ण रुपमा शून्य ग्यास आपूर्ति गर्दै आएको भोन डेर लाइनलाई उद्धृत गर्दै जर्मन समाचार संस्था डीपीएले जनाएको छ ।

रुसबाट ग्यासको आपूर्ति पूर्ण रुपमा रोक्का भएको खण्डमा उत्पन्न हुने परिणामका लागि तयार रहनका लागि युरोपले ग्यास उपभोगको १५ प्रतिशत कटौती गर्नुपर्ने योजना अघि सारेको छ ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने युरोपतर्फ ग्यासको आपूर्ति रोक्का गर्ने रुसको चाहना नरहेको स्पष्ट पारेका छन् । युरोपको गुनासोतर्फ इङ्गित गर्दै उनले प्राविधिक रुपमा सम्भव भएजति ग्यास आपूर्ति भइरहेको बताए ।

‘रुस जिम्मेवार ग्यास आपूर्तिकर्ता हो र युरोपेली आयोगले, युरोपेली राजधानीहरुमा, अमेरिकामा जे भनिए पनि रुस युरोपको ऊर्जा सुरक्षा प्रत्याभूत गर्ने मुलुक थियो र हो’ पेस्कोभलाई उद्धृत गर्दै रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ ।

रुसी ग्यासको पूर्ण रोक्का वा आपूर्तिमा भारी गिरावटले युरोपेली मुलुकमा उद्योग बन्द हुने, घर तताउन ग्यासको प्रयोग कटौती गर्नुपर्ने वा उच्च मूल्य तिर्नुपर्ने अवस्था आउनसक्छ । गत वर्ष रुसले युरोपेली युनियनको कूल ग्यास खपतको ४० प्रतिशत आपूर्ति गरेको थियो ।

(स्रोत : रोयटर्स, एएफपी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : २० बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा