आज २०७९ साल साउन १२ गते बिहीबार । सन् २०२२ को जुलाई २८ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।
सन् २००५ जुलाई २८ मा आइरिश रिपब्लिकन आर्मी आईआरए नामक आइरिश सशस्त्र बलले सशस्त्र अभियानको अन्त्य गरेको घोषणा गरेको थियो । आईआरएले बेलायतको अधीनमा रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्ड गणतन्त्रमा गाभ्न बनाउन ३६ वर्ष देखि जारी सशस्त्र अभियानको अन्त्य गरेको थियो ।
सन् २००५ जुलाई २८ मा बेलायतले आँधीका कारण इतिहासकै सबैभन्दा ठूलो क्षति व्यहोरेको थियो । बेलायतको बर्मिङ्घममा आएको सो आँधीका कारण ४० मिलियन स्टर्लिङ पाउन्डको क्षति भएको थियो ।
सन् १९९६ जुलाई २८ मा वासिङ्टनस्थित केनविकमा प्रागैतिहासिक पुरुषको अंशहरु भेटिएको थियो ।
सन् १९९० जुलाई २८ मा अमेरिकाको सिकागोको विद्युतीय सब–स्टेसनमा भएको आगलागीका कारण लोडसेडिङ भएको थियो । यसकारण करिब ४० हजार मानिस ३ दिन सम्म विद्युत बिना बस्न बाध्य भएका थिए ।
सन् १९६५ जुलाई २८ मा अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले भियतनाम युद्धका दौरान दक्षिण भियतनाममा थप ५० हजार सेना तैनाथ गरेका थिए ।
सन् १९४५ जुलाई २८ मा न्यू योर्क सहरस्थित एम्पायर स्टेट बिल्डिङमा संयुक्त राज्य अमेरिकाको सैन्य विमान बी–२५ बम्बर दुर्घटना भएको थियो । बाक्लो तुवालोका कारण सो दुर्घटना भएको थियो ।
सन् १९२९ जुलाई २८ मा अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीको श्रीमती ज्याकलिन बोभियर केनेडी ओनासिसको जन्म भएको थियो ।
सन् १९२८ जुलाई २८ मा नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन भएको थियो । सो ओलम्पिकमा संयुक्त राज्य अमेरिकाले सबैभन्दा धेरै पदक जितेको थियो ।
सन् १९१४ जुलाई २८ मा अष्ट्रिया–हङ्गेरीले सर्बियामाथि युद्धको आह्वान गर्दै पहिलो विश्वयुद्धको सुरुवात गरेको थियो ।
सन् १८६८ जुलाई २८ मा संयुक्त राष्ट्र अमेरिकाको संविधानको १४ औँ संशोधन अन्तर्गत अमेरिकामा जन्मेका सबै नागरिकलाई नागरिकता दिने प्रावधान राखिएको थियो ।
प्रतिक्रिया