रोनाल्डोले तताएको फुटबल सरुवा बजार | Khabarhub Khabarhub

रोनाल्डोले तताएको फुटबल सरुवा बजार

चेल्सी, एट्लेटिको र बार्यनमध्ये कसले किन्ला च्याम्पियन सुपरस्टार ?



काठमाडौँ : विश्व फुटबलको सरुवा बजार यसै पनि तातेको छ । प्रिमियर लिगका स्टार खेलाडीको सरुवा बजार आकस्मिक र आश्चर्यजनक बनेपछि यतिबेला लण्डनमा ‘रोनाल्डोको हावा’ चलेको छ ।

रोनाल्डोअघि प्रिमियर लिगलाई चलायमान बनाएका खेलाडी रहिम स्टर्लिङ, गाब्रियल जिसस, रिचार्लिसन लगायतका खेलाडी रहे । म्यान्चेष्टर सिटीबाट स्टर्लिङ चेल्सी पुग्दा जिससले आर्सनल रोजे ।

बुन्डेसलिगाबाट सिटीले यो पुस्ताकै आकर्षक र महंगो खेलाडी एर्लिङ हालाण्ड ल्याएपछि जिसस र स्टर्लिङको सरुवा भएको हो ।

तर यी सबै स्टार खेलाडीको सरुवा बजारलाई छायामा पारेर यतिबेला यस शताब्दीकै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बजार तताएका छन् । ३७ वर्षको उमेरमा पनि रोनाल्डोले आफूलाई बिक्रीमा राखेका छन् ।

म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग खेल्न सक्ने हैसियत नबनाएपछि च्याम्पियन रोनाल्डो सरुवा बजारमा बिक्रीका लागि बसेका हुन् । उनले आफूलाई जतिसक्दा चाँडो स्वतन्त्र छाड्न म्यान्युसामु बिन्ती गरिरहेका छन् । यसका लागि उनका फुटबल गुरु सर एलेक्स फर्गुसन पनि म्यान्चेष्टर पुगेका थिए ।

तर सही उपाय अझै निस्किएको छैन । युभेन्ट्सबाट सिटीका लागि उडान भर्ने तयारी गरेका रोनाल्डो अन्ततः आफ्नो पहिलो प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडमा अवतरण गरेका थिए ।

रियल म्याड्रिड र युभेन्टसमा सफल यात्रा पुरा गर्दै रोनाल्डो दोस्रो कार्यकालका लागि म्यान्चेष्टर आएका थिए । म्यान्चेष्टर यूनाइटेडमा आएको पहिलो वर्ष नै रोनाल्डोले क्लबका लागि सर्वाधिक गोल गरेका थिए । तर उनको गोलले म्यान्युलाई प्रिमियर लिगको चौथो क्लब पनि बनाउन सकेन । यसबापत उनले युरोपा लिग खेल्नुपर्ने बाध्यता बन्यो ।

म्यान्चेष्टरसँग रोनाल्डोको अब केवल एक वर्षको सम्झौता बाँकी छ । अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौतामा उल्लेख छ । तर, रोनाल्डो म्यान्चेष्टरमा भविष्य देखिरहेका छैनन । अहिलेकै प्रदर्शनले म्यान्चेष्टरले च्याम्पियन्स लिग खेल्न पनि सम्भव छैन ।

यस्तो अवस्थामा रोनाल्डो जसरी पनि क्लब छाड्न चाहन्छन् । उनी च्याम्पियन्स लिग खेल्नकै लागि लण्डन छाड्न लागेका हुन् । उनको एउटै हिसाबकिताब भनेको च्याम्पियन्स लिग खेलेर फेरि पनि गोल गर्ने हो । आफ्नो कीर्तिमान सुधार गर्ने हो ।

तर यसमा उनको क्लब बाधक बनिरहेको छ । यसका लागि अनेकौ छलफल भइरहेका छन् । रोनाल्डोबाट गोल र व्यापार दुई वटै राम्रोसँग भइरहेपछि म्यान्यु सजिलै उनलाई उम्किन दिने पक्षमा छैन ।

रोनाल्डोको सम्भावित नयाँ गन्तव्य

रोनाल्डोले यस वर्ष पनि च्याम्पियन्स लिग खेल्ने सपना पूरा गर्न लण्डनभित्र र बाहिरका क्लबमा प्रयास गरिरहेका छन् । उनी सरुवा बजारमा आएको हल्ला पाएसँगै उनका लागि केही क्लब इच्छुक देखिएका छन् ।

जस्तो बायर्न म्युनिक । जसले बुन्डेसलिगामा जित्न बाँकी केही पनि छैन । दुई वर्षअघि च्याम्पियन्स लिग जितेको बायर्नले लेवान्डोस्की बेचेपछि उनको विकल्पमा सुपरस्टारका रुपमा रोनाल्डोलाई किन्न खोजिरहेको छ ।

यसको एउटै अर्थ हो, रोनाल्डोबाट कम्तीमा जर्सी र ब्राण्डको व्यापार भइरहोस् । यसमा रोनाल्डोको पनि चाहना छ । किनकी रोनाल्डोले ला लिगा, प्रिमियर लिग र सीरी ए खेलिसकेका छन् ।

रोनाल्डो अब बुन्डेसलिगा खेल्न चाहन्छन् । नयाँ नयाँ क्लबाट खेल्ने उनको चाहना हुन्छ । त्यसलाई सफल र सम्भव पार्न सबै त्याग गर्ने रोनाल्डोको बानी छ । यसका लागि बायर्न उनको उपयुक्त गन्तव्य हो ।

तर यसका लागि म्यान्चेष्टरले आवश्यक रकम तोकेको छैन । ठूलो रकम भनेको खण्डमा बायर्न रोनाल्डोको माया मार्न सक्छ । तर रोनाल्डो केवल च्याम्पियन्स खेल्न मात्रै क्लबमा आउने भएकाले बायर्नका लागि उनी यतिबेला ‘हट केक’ हुन् ।

बायर्नले अहिलेसम्म रोनाल्डोजस्तो शताब्दीकै सुपरस्टार भेटेको पनि छैन । त्यसकारण पनि रोनाल्डोको पहिलो गन्तव्य जर्मनीको राजधानी म्युनिक हुन सक्छ ।

रोनाल्डोको अर्को सम्भावित गन्तव्य हो, एट्लेटिको मड्रिड । ला लिगाको प्रभावशाली क्लब एट्लेटिको च्याम्पियन्स लिग जित्न रोनाल्डो किन्न सक्छ । त्यसमाथि रोनाल्डोले गर्दा नै एट्लेटिकोको च्याम्पियन्स लिग जित्ने सपना तुहिएका थिए ।

एकपटक मात्रै होइन, तीनपटक नै रोनाल्डोले च्याम्पियन्स लिग जित्ने एट्लेटिकोको यात्रामा पूर्णविराम लगाएका थिए । जसमा दुईपटक त फाइनल मात्रै थिए । यो इखका लागि पनि एट्लेटिको रोनाल्डो किन्न चाहन्छ ।

अन्तिममा उनै रोनाल्डोलाई किनेर एट्लेटिको च्याम्पियन्स लिग जित्न सक्छ । यसका लागि रोनाल्डोको ‘रिजिल क्लज’ हेरेर एट्लेटिकोले केही कदम चाल्न सक्छ । रोनाल्डो र एट्लेटिको व्यवस्थापक पक्ष पनि यसमा तयार देखिन्छ । तर लण्डनबाट बाहिरिने रोनाल्डोको उपयुक्त विकल्प टुंगिसकेको छैन ।

रोनाल्डोको अर्को सम्भावित क्लब हो, चेल्सी । प्रशिक्षक थोमस टुचेलबाहेक चेल्सी व्यवस्थापन पक्ष रोनाल्डोको लागि तयार छ । तर म्यान्चेष्टर छाड्ने रोनाल्डोको सही विकल्पको पर्खाईमा चेल्सी छ ।

टुचेलकै प्रशिक्षणकाल चेल्सी दोस्रोपटक च्याम्पियन्स लिग जित्न चाहन्छ । अहिले रहिम स्टर्लिङ उपयुक्त विकल्प भएकाले रोनाल्डो क्लबमा आए खेलाउन समस्या हुने तर्क टुचेलको छ ।

तर च्याम्पियन्स लिगका लागि रोनाल्डो एक मात्रै सुपरस्टार विकल्प हुन् । यसका लागि चेल्सी व्यवस्थापन पक्ष उनका लागि रेडकार्पेट ओछ्याउन तयार छ ।

तर त्यसका लागि पनि रोनाल्डोको बहिर्गमन म्यान्चेष्टरबाट टुंगिनु जरुरी छ । रोनाल्डो मानसिक रुपमा म्यान्चेष्टरबाट जसरी पनि बाहिरिने पक्षमा छन् । तर ओल्डट्राफोर्ड रोनाल्डोले सोचेजसरी आफ्नो आम्दानीको ठूलो हिस्सा त्यत्तिकै गुमाउने पक्षमा छैन ।

सोही विकल्पका लागि पछिल्लो समय क्लबकै अफिसमा यसबारे दर्जनौपटक छलफल चलिरहेका छन् । जसबाट बाहिरिने सूचनाका कण कण पनि सुन्न रोनाल्डोका फ्यान कान थापेर बसिरहेका छन् । जुन अब आउने सूचना वा समाचार कि रोनाल्डोको पक्ष र हितका लागि हुनेछन्, कि त उनको फ्यानका लागि औपचारिकता मात्रै ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ३४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द