विवाह पञ्चमी पर्व देशभर मनाइँदै | Khabarhub Khabarhub

विवाह पञ्चमी पर्व देशभर मनाइँदै


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।

त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ। यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ। अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ।
-रासस

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ४० बजे

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

रौतहट – गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल

‘महिला’को परिभाषा के ? बेलायती अदालतमा बहस सुरु

एजेन्सी – बेलायतको सर्वोच्च अदालतले मङ्गलबार कानूनमा ‘महिला’ को परिभाषामा

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’

पाटन – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा

बाँसबारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन घाइते

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा