सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो | Khabarhub Khabarhub

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी–भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सङ्क्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा सङ्क्रमण देखिएकामा हाल त्यो सङ्ख्या बढेर ५६ हजार ७९७ पुगेको छ । मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलङ्गा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ ।

भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले सङ्क्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, ‘परीक्षण बढेकाले सङ्क्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले सङ्क्रमणदर बढेको हो ।’

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा मङ्गलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौँ ।’

सीमा नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । यसका साथै कोभिड–१९ सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३० बजे

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ

पशुमा कृत्रिम गर्भाधान बढ्दो

बागलुङ– पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

बागलुङ– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण