बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । कानुनमन्त्री गोविन्द कोइरालाले  सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पनि सदनमा जानकारी गराइने छ । सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक एकलौटी रुपमा अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ । द्वन्द्वपीडित सेना प्रहरीका परिवारलगायतका सरोकारवालाहरूले पनि विधेयकको विरोध गरेका छन् ।

२.  समितिले नागरिकता विधेयकमाथि छलफल गर्दै
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकमाथि आजदेखि छलफल थाल्ने भएको छ। विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक आज मध्यान्ह १२ बजे बोलाइएको समिति सचिव मनोजकुमार गिरीले जनाकारी दिए । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको गिरीको भनाइ छ। हिजो बसेको राष्ट्रियसभा बैठकले सर्वसम्मतिले पारित गर्दै राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा छलफलका लागि पठाएको थियो। समितिमा द्रुत रुपमा छलफल गरेर भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने समितिको तयारी रहेको समितिका सदस्य नारायणदत्त मिश्रले  बताएका छन् ।

३. कर्णालीका दुई मन्त्रीको शपथ आज 
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्। शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् । माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले हिजो राजीनामा दिएका थिए ।

४. प्रहरी महानिरिक्षकद्वय अमेरिका जाँदै
नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । सिंह र अर्याल इन्टर पोल बैठकमा भाग लिन आज अमेरिका जान लागेका हुन् । सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यसनी सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

५. तीज सुरु, आज दर खाने दिन
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देखि सुरु भएको छ । पर्वको पहिलो दिन आज घरघरमा मिठा–मिठा परिकार बनाएर दर खाने गरिन्छ । आज साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ ।भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन रहेको छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ। विशेष गरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र मिठामिठा खानेकुरा बनाएर खाने चलन रहेको छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। आज दर खाएका महिलाहरु भोलि निराहार व्रत बसी पूजा आराधना गरेर तिज मनाउने गर्दछन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको व्रत समापन हुने गर्दछ ।

६. दाङ-सल्यान सडकखण्ड अवरुद्ध 
निरन्तरको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ–सल्यान  सडक खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षाले पहिरो खसेपछि सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि  आज बिहा करिब ३ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अहिले सो क्षेत्रमा आवतजावत पूर्णरुपमा ठप्प भएको  छ ।

७. मोहना नदीमा बाढीले खतराको सतह पार गर्‍यो 
कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । हिजो साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरिएको छ । पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा आज  बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा हिजोदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

८. नेदरल्याण्ड्सका तीन जना कमाण्डरमाथि गोली प्रहार
अमेरिकामा तालिममा रहेका नेदरल्याण्ड्सका तीन जना कमाण्डरमाथि गोली प्रहार भएको छ। अफ–ड्युटी रहेका बेला तीन डच कमाण्डरमाथि अमेरिकी सहर इन्डियाना पोलिसस्थित होटेलबाहिर गोली प्रहार भएको हो। घाइते भएका उनीहरूको उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरीले गोली लागेर घाइते भएका तीन जना भेटाएको र उपचारका लागि स्थानीय अस्पताल लगिएको बताएका थिए। ती घाइते व्यक्ति तालिमका लागि अमेरिका गएका डच कमाण्डर रहेको जनाइएको छ । नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले एक कमाण्डरको अवस्था गम्भीर रहेको र अरू दुईजना भने चेत अवस्थामा रहेको जनाएको छ । उनीहरू नेदरल्याण्ड्स सुरक्षा फौजको विशेष दल कमाण्डो क्रप्सका सदस्य रहेको जनाइएको छ। आफ्नो खाली समय बिताइरहेका बेला होटेलबाहिर उनीहरूमाथि गोली प्रहार भएको डच रक्षा मन्त्रालयले जनाएको छ ।

९. महिला साफ खेल्न पाकिस्तानी टोली नेपालमा
नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाकिस्तानको टोली नेपाल आइपुगेको छ । पाकिस्तानी टोली आज बिहान नेपाल आई पुगेका हुन् । पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । पाकिस्तान समूह ’ए’मा रहेको छ । यस समूहमा पाकिस्तानसँगै भारत, बंगलादेश र माल्दिभ्स रहेका छन्। पाकिस्तानले भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पछिल्लो समय फिफाको प्रतिबन्धको कारण पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको थिएन तर फिफाले हालै पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

१०. केन्याविरुद्ध चौथो टी–ट्वान्टी खेल्दै नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध चौथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल एक खेल अगावै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । आजको खेल जितेमा नेपालले सिरिज एक खेल अगावै आफ्नो बनाउनेछ । पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल २–१ ले अघि रहेको छ । हिजो भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी भोलि हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ०८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले