अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १. प्रतिगमनकारी प्रवृत्ति परास्त  नभएसम्म गठबन्धन कायम रहने प्रचण्डको जिकिर 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशलाई राजनीतिक स्थायित्व प्रदान गर्न कम्युनिष्ट  एकता गर्ने योजना रहेको बताएका छन् । उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादको यात्रा पूरा गर्न कम्युनिस्ट एकता आवश्यक रहेको  बताए ।

अहिले भएकै गठबन्धन लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने कुरामा भ्रम नलिन उनले आग्रह गरे । बामपन्थी गठबन्धन मात्रै होइन कम्युनिष्ट एकता गरेर देशमा स्थायित्व गर्न खोजिरहेको  उनले जिकिर गरे ।  

जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन तबसम्म गठबन्धन कायम रहे उनको  भनाई छ ।

२. केपी ओली नै प्रधानमन्त्री बन्ने एमालेका महासचिव  पोखरेलको दाबी 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको बताएका छन् । काठमाडौंमा आज  सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले एमालेसंग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्राउने तयारी भएको बताए ।

उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिँडेको तर्क  गरे । त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरे । आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उनको भनाई छ ।

उनले नागरिकता विधेयकका कतिपय विषयहरू राष्ट्रियता विरोधी रहेकाले आफूहरूको विरोध रहेको जिकिर  गरे । पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राखे ।

३. एमालेसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको गृहमन्त्री खाणको जिकिर 

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेरै ल्याइएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सबै दलहरूको सहमतिमा विधेयक ल्याइएको बताएका हुन् ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पारित गर्ने क्रममा ओलीसँगको सहमतिअनुसार नै एमालेले मौन समर्थन गरेको पनि गृहमन्त्री खाँणको भनाइ थियो ।

नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले उठाएका प्रश्न गम्भीर भएको र कतिपयमा सम्बोधन गर्नुपर्ने तर त्यसका लागि संविधान नै संशोधन गर्न आवश्यक भएको गृहमन्त्रीले  बताए । 

 ४. नेपालले विश्व बैंकबाट १२ अर्ब ७५ करोड करोड बराबरको सहुलियतपूर्ण ऋण लिने 

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि  १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा  अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन् ।

बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउने विश्वास लिइएको छ ।  नेपालको ग्रिड मार्गतर्फको प्रस्थान भनेको यस चुनौतीपूर्ण समयका लागि अवसरले भरिपूर्ण आवश्यक रणनीतिक कदम भएको विश्व बैंकका सञ्चालन प्रबन्धक स्ट्रोलकोभाले  बताए ।

 कोभिडबाट आर्थिक पुनरुत्थानका साथै हाल विद्यमान विपद, जलवायु तथा वातावरणीय जोखिमलगायत दिनप्रतिदिन जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीको माझमा , गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यसले सघाउने सहसचिव अर्यालले  बताए ।

५. अदालतको अवहेलना भएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विरुद्ध रिट दायर

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीसमेतले दायर गरेको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजालासमा सुनुवाइ भइरहेको  हो ।

मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा  गरेका छन् । केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो।

नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो । सो आदेश जारी भएसगेँ मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए । 

६.  दाङ–सल्यान सडक खण्ड पुन सञ्चालनमा

पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड  पुन सञ्चालनमा आएको छ  । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले पन्छाएपछि सडक खण्ड  आज दिउँसोबाट सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

यता दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुलेको छैन । शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडमा झरेको पहिरो पन्छाउने काम भइरहेको  प्रहरीले जनाएको छ  । 

७.  शेयर बजारमा झिनो अंकको सुधार  

शेयर बजार परिसूचक नेप्से आज  भने झिनो अंकले सुधार आएको छ । नेप्से  आज तीन दशमलव ७६ अङ्कले बढेर  १  हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार  ९ सय कित्ता शेयर एक अर्ब २६ करोड  ६६ हजार १९ सय एक सय ५० रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि  रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ  ।

 आज जीवन बीमा र उत्पादन समूहको शेयर  उकालो लागेको छ  ।  त्यस्तै बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

८. टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–२७ दिव्यनगरका ३३ वर्षीय विजय भुजेल रहेका छन् ।

रोकी राखेको ना ७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३ ००४ प ५३७८ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे ठोक्किएको थियो। चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान पौने ४ बजे भुजेलको मृत्यु भएको हो ।

 प्रहरीले घटनाबारे थप  अनुसन्धान गरिरहेको छ ।

 ९. मलेसियामा ६ दशमलव १ रेक्टर स्केलको भुकम्प  

मलेसियाको क्वालालम्पुरमा आज  शक्तिशाली भूकम्प  गएको  छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार आज ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार आज बिहान करिब ९ बजे १० किलोमिटर गहिरो भूकम्प  मापन भएको हो ।

भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् ।

मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ ।

१०. घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा बलिङ गर्ने 

घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल एक खेल अगावै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगावै आफ्नो बनाउनेछ ।पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल २–१ ले अघि रहेको छ ।  

हिजो  भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी  भोलि  हुनेछ ।टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

 


प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ३१ बजे

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसायली

 काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रकाश रसायली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन ७ गते पूर्वराजा

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

 घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी

‘२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो’ मा नेटा सहभागी

काठमाडौं– पीटी नेटा अटो इन्डोनेसियाले इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस)

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै