बझाङी आलुले बजार पाउने आशा « Khabarhub

बझाङी आलुले बजार पाउने आशा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बझाङ– खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाए । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्र्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाए। त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट दुई-तीन किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो । 

आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खोजीमा लागे शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि कुहिने चिन्ता लाग्यो उनलाई ।

‘गत वर्षको बाढीले स्थानीय बजारसम्म जाने बाटो पनि अवरुद्ध गरेपछि बारीबाट घरमा ल्याएको आलु कुहिने चिन्ता लागेको थियो’, उनले भने, ‘बारीबाट घरसम्म त पुर्‍यायौँ, अब बजार कसरी पुर्‍याउने भन्ने चिन्तामै थियौँ । करिब डेढ महिनापछि सडक खुल्यो अब बजार पाइन्छ कि भनेर आशा लागेको छ ।’

वर्षौंदेखि बाँझो जमिनमा पनि राम्रै उत्पादन हुँदा तरकारी खेती नै गर्ने सोच बनाएको तर, बजार नपाउँदा निरास हुनुपरेको उनले बताए । ‘मामाले एक क्विन्टल ३० केजी रातो आलुको बीउ दिए’, थापाले भने, ‘दगाउँमा तीन-चार दिन लगाएर लगाएको आलु १५ क्विन्टल जति भएको  छ । आधा निकाल्नै बाँकी छ । अब निकाल्दै बिक्री गर्नुपर्छ ।’

बाह्र कक्षामा पढ्दै गरेका थापा पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित हुनुहुन्छ । ‘टनेलभित्र तरकारी फलाउँदा हरेक सिजनमा पनि ताजा तरकारी खान पाइन्छ’, थापाले भने, ‘गत वर्षदेखि थोरै लगानीमा तरकारी खेती सुरु गरेको हुँ । अहिले आफूलाई पर्याप्त भएर छिमेकीहरूलाई सानोतिनो बेच्ने गरेका थियौँ । त्यसले घर खर्च राम्रै चलेको थियो । यसपटक मात्रै आलु बेच्न पाएको छैन ।’

तिउनेमा शमशेर मात्रै एक्ला छैनन्, वीरजङ्ग थापा र वीरेन्द्र थापाको बारीमा पनि यसपटक आलु राम्रै उत्पादन भएको छ । उनीहरू पनि अहिले सडक खुलेको र आलुले बजार पाउने आशा पलाएको बताउँछन् । ‘पहिले नजिकैको बजारमा तरकारी पुर्‍याए पनि बेचिन्थ्यो’, थापाले भने, ‘बीचमा लामो समय सडक अवरुद्ध भएपछि बजार पाइएन । अब त दसैँ पनि लाग्यो । गाउँघरबाटै पनि बेचिन थालेको छ ।’

खप्तडछान्ना–९ का हिक्मत रोकायाले पनि आलुखेती गर्न थालेको लामो समय भयो । हरेक वर्ष आलुबाट डेढ दुई लाख रुपैयाँ आम्दानी गर्ने रोकायाले यस वर्ष भने सडक नै नभएको भन्दै बारीबाट आलु निकालेका छैनन् ।

छान्नामा आलुको भण्डार भनिने बामया लेकमा लगाएको आलुले यसपटक बजार नपाउने हो कि भनेर चिन्ता लागेको र सडक खुलेपछि सहज हुने उनले बताए । ‘अहिले बारीबाट आलु निकाल्ने तयारी भइरहेको छ’, उनले भने, ‘आलु ल्याएर घरमा कुहिनुभन्दा बारीबाट नै निकालेका थिएनौँ । अब बजार पुऱ्याउनका लागि सडक पनि खुल्यो । आलुले बजार पाउला भन्ने आशा छ ।’

रोकायाको बारीमा यो वर्ष ५० क्विन्टलको हाराहारीमा आलु फलेको छ । ‘एउटै बोटमा पनि राम्रै फल लागेको छ, त्यसमा पनि ठूला ठूला दाना’, रोकायाले भने, ‘पुरै गणा (बारी) को आलु निकाल्दा त ५० क्विन्टलभन्दा बढी हुन्छ ।’ गडरायमा हिक्मत जस्तै सात-आठ जना कृषकको बारीमा सयौँ क्विन्टल आलु निर्यात गर्ने तयारी भएको रोकायाले बताए ।

थापा र रोकाया जस्तै बझाङमा सयौँ कृषक छन् । वर्षायाम भएको हुँदा उत्पादन गरेको तरकारी थन्किएको र अब निर्यात हुने कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत टेकबहादुर विष्टले बताए । उनका अनुसार सडक अवरुद्ध भएर सयौँ क्विन्टल आलु रोकिएको थियो । अब सडक खुलेपछि अन्य जिल्लामा पठाउन सकिने उनले बताए । ‘कृषि ज्ञान केन्द्र बझाङले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नेछ’, उनले भने ‘हामी किसानको तरकारी किनेर बेच्दैनौँ । बजारका लागि समन्वय गरेर ढुवानी गरिदिन्छौँ ।’ बझाङको उत्पादन निर्यात गर्नका लागि कैलालीमा डिपो बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

बझाङबाट आलु जोनको सहयोगमा मात्रै एक हजार क्विन्टल आलु निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको कृषकको आलु डडेल्धुरा, कैलाली, चितवनलगायतका स्थानमा निर्यात भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (आलु जोन कार्यक्रम) प्रमुख सविता जोशीका अनुसार यस सिजनमा मात्रै बझाङमा उत्पादन भएको आलु कोल्डस्टोरसहित एक हजार क्विन्टल बाहिर पठाइएको छ । ‘आलु जोनको सहयोगमा बझाङबाट एक सय क्विन्टल डडेल्धुरा र एक सय क्विन्टल पहलमानपुरको कोल्डस्टोरमा बीउका लागि पठाएका छौँ’, उनले भने, ‘बाँकी आठ सय क्विन्टल कृषकको आलु कैलालीमा पठाएका छौँ ।’

अघिल्लो वर्ष आलु जोनले छ पालिकाका तीन सय २० घरधुरीमा गरिएको सर्वेक्षणअनुसार दुई दशमलव ७८ रोपनीमा आलुखेती गरिन्थ्यो । अहिले जिल्लाभर पाँच सय हेक्टर जमिनमा आलुखेती गरिँदै आएको उनले बताए । पाँच सय हेक्टर जमिनमा १० हजार टन आलु उत्पादन हुने विश्वास लिइएको एकाइ प्रमुख जोशीले बताए । ‘लेकाली आलु कृषकले बीउका लागि पनि त्यत्तिकै मात्रामा छुट्याउने गर्छन्’, उनले भने, ‘कृषकले बीउलाई छुट्याएर बिक्री गर्ने आलु मात्रै जोनको सहयोगमा निर्यात हुने हो ।’

– भूमिराज पिठातोली रासस

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : २५ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी