किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन | Khabarhub Khabarhub

किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी छन् । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उनले भने, “यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ ।”

नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने कतिपयले फोनको भरमा सुन्तला माग गरेपछि किसानले टिपेर पठाइदिने गरेका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहजता भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । व्यापारीको मागअनुसार स्थानीयरूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्‍याएमात्रै हुने उनले बताए । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उनको भनाइ छ । “व्यापारीले माग रामै गरिरहेका छन्, यही मूल्य तय गरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन”, उनले भने।

किसान आफैँले सुन्तला बजारमा पुर्‍याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यक्तिले सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् ।

बबकका सुन्तला किसानले अहिले प्रतिकिलो रु ५५ का दरले सुन्तला बगैँचाबाट बिक्री गर्दै आएका छन् । यो मूल्य राम्रो भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । गत वर्षभन्दा राम्रो नै मूल्य किसानले प्राप्त गरेको उनको भनाइ छ ।

यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताए । यस वर्ष गत वर्ष एक हजार २० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पाद बढ्ने अनुमान गरिएको उनको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका पहाडी क्षेत्रका विभिन्न वडा समेटेर सुन्तला जोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ । जसअन्तर्गत किसानलाई प्राविधिक सहयोग साथै विभिन्न अनुदान प्रदान गर्ने गरिएको छ । यसले पनि सुन्तला उत्पादन बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

गत वर्षभन्दा सुन्तला उत्पादन हुने क्षेत्रसमेत क्रमशः वृद्धि हुँदै गएको कार्यालय प्रमुख शर्माले बताए । जिल्लाको बौदिकाली, बुलिङ्टार, गैँडाकोटको पहाडी क्षेत्रमा गरी करिब सात हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको उनको भनाइ छ ।

गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला बिक्रीबाट किसानले रु पाँच करोड १० लाख आम्दानी गरेकामा यस वर्ष किसानको आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । जोन कार्यक्रम सञ्चालन गरी किसानलाई सहयोग प्रदान गर्न थालेपछि सुन्तला खेतीतर्फ पहाडका किसानको आकर्षण बढ्दो छ । “जोन कार्यक्रमबाट निरन्तर सुन्तला किसानलाई आवश्यक प्राविधिक सहयोगसहित अनुदान उपलब्ध गराउँदै आएका छौँ, किसान यसतर्फ लाग्ने क्रम बढ्दो रहेको छ”, कार्यालय प्रमुख शर्माले भने, “पहाडका किसानले सुन्तलाबाट आम्दानीसमेत राम्रो लिन थालेका छन् ।”

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ५७ बजे

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये