'देउवा र ओलीले राष्ट्रियता र अखण्डताको रक्षा गर्दैनन्' | Khabarhub Khabarhub

‘देउवा र ओलीले राष्ट्रियता र अखण्डताको रक्षा गर्दैनन्’



स्थानीय चुनाव सम्पन्न भएपछि सरकारले संघीय चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। सरकारले यसअघि पेश भएको नागरिकता विधेयक फिर्ता गरेर संशोधनसहित पारित गरेको छ। सत्ता गठबन्धन एकातिर छ भने प्रतिपक्षी दल एमाले आफ्नै दाउमा छ। सत्ता गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग सरकारका काम, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयकलाई कसरी लिनुभएको छ ?
नागरिकता विधेयक अहिलेदेखि चर्चामा आएको होइन। पहिले २००९ सालदेखि नै अत्यन्तै विवादित विषय हो। छिमेकी मुलुक भारतसँग खुला सिमाना भएका कारण धेरै जनसङ्ख्या नेपालमा भित्रिएको छ। भूगोलमाथिको पनि आक्रमण छ। लिम्पियाधुरा लिपुलेक लगायतका क्षेत्रमा लगातार अतिक्रमण भएको छ। जनसंख्याको आकारबाट नेपालीलाई अलपत्र पार्ने र भारतीयलाई नेपालमा बहुमतमा परिणत गराउने योजनाबद्ध तरिकाले यो भइरहेको छ।

नेपालमा शासकले नागरिकतालाई हतियार बनाएर भारतीय शासकको आर्शिवादमा सत्ता र शक्तिमा बस्ने यो प्रविधि २००७ सालपछिको घातक प्रविधि छ। त्यसको विरुद्धमा राष्ट्रिय जनमोर्चाले संविधान बनाउँदा पनि दर्जनौँ संशोधन राखेको छ। अहिले पनि नागरिकतालाई खुकुलो बनाएर ठूलो सङ्ख्यामा भारतीयलाई नेपालमा प्रवेश गराएर शान्तिपूर्ण किसिमले नेपाललाई भारतमा विलय बनाउने योजनाका साथ जुन कामहरू भइरहेका छन्, त्यसलाई नेपालका भारतीय मतियारले आँखा चिम्लेर समर्थन गरिरहेका छन्। त्यसै कारणले राष्ट्रिय जनमोर्चाले लगातार सङ्घर्ष गरिरहेको छ।

तपाईंलाई मन नपरेको विषय के हो ? कि नागरिकता विधेयक आउनै हुँदैन थियो भन्नुहुन्छ ?

नागरिकता विधेयक आउनुपर्थ्यो तर राज्यले कुनै पनि नागरिकलाई नागरिकबिहीन गर्नु हुँदैन। ३५/३६ मा पञ्चायत विरोधी आन्दोलन भइरहेको बेलामा सूर्यबहादुर थापाले लाखौँ भारतीयलाई निर्दलीय व्यवस्थाको पक्षमा मत हाल्ने शर्तमा नागरिकता दिने काम गरे। यो नेपालको इतिहासमा बदनाम छ। बहुदल आएपछि पनि नेपाली कांग्रेसले सूर्यबहादुर थापाले गरेको कामलाई निरन्तरता दिँदै गयो।

यसमा एमाले माओवादी कांग्रेस जुनसुकै पार्टीले भारतबाट पैसा लिएर नेपालको विभिन्न जिम्मेवार ठाउँमा बसेर भारतीयको वकालत गर्दै आएको जग जाहेरै छ। नेपालमै पिता पुर्खा भएका नेपालमै जन्म भएका नागरिकलाई नागरिकता दिने कुरामा त कुनै आपत्ति नै छैन।आपत्ति भारतीयलाई वंशका आधारमा नागरिकता दिएर राष्ट्रप्रमुख, संसद् प्रमुख, न्यायपालिकाको प्रमुख बनाउने भारतको योजना भएकाले यसको विरुद्धमा हामी एक्लैले प्रयास गरेका छौँ।

मधेसी जनता खुसी भएका छन् त्यसमा तपाईंलाई कुनै आपत्ति भएको होला भन्ने प्रश्नहरू उठेका छन् नि ?

मधेसी जनता खुसीप्रति हाम्रो समस्या होइन, भारतीय नेपाली भएर खुलेआम नेपाल कब्जा गर्ने, नेपालीलाई भारतमा नागरिकता दिनको लागि कडाभन्दा कडा प्रावधान राख्ने तर नेपालको जमिन पनि मिच्दै जाने भएको छ।

नेपालका नेता भारतलाई रिझाएर अमेरिकालाई रिझाएर राज्यसत्तामा रजाइँ गर्ने प्रवृत्ति छ।  नेपाली जनताले यस्ता राष्ट्रघातीलाई अझै पनि बढवा दिएर अगाडि लैजान्छन्। भारतबाट आएर नेपालमा जमिनदार नेपालको अङ्गीकृत नागरिकता पाउने र नेपालमा सांसद, मन्त्री भइसके सबै क्षेत्रमा बिगबिगी छ। भारतले अब वंशजका आधारमा नागरिकता दिएर अगाडि लैजानै योजना बनाएको छ।

त्यो योजना पूरा गर्नका लागि नेपालका राजनीतिक पार्टी लाज नमानी यस्तो नागरिकता विधेयक पारित गरेर भारतीय शासकको सहायता आशीर्वाद लिन लागिपरेका छन्।  जुन राष्ट्रघाती छ। त्यसैले यसका लागि राष्ट्रिय जनमोर्चाले निरन्तर सदनमा सडकमा सबैतिर सङ्घर्ष गरिरहेको छ।

नागरिकता विधेयकमा सबै राजनीतिक दलका नेताको फरक–फरक मत हुन्छ र ?
फरक मत नै छैन। राष्ट्रिय जनमोर्चा र मजदुरबाहेक सदनमा कसैले विदेशी कसैलाई पनि नागरिकता दिनु हुँदैन भनेर कसैले भनेको छैन। सबै जनाले एउटै नीति बनाएर अगाडि बढे भने विदेशीले नागरिकता पाउँदैनन्।

नागरिकताको विषयलाई चुनावको मुखमा मात्र किन ल्याइन्छ ?
सत्ता र शक्तिमा जानका लागि भारतीयको सहयोग चाहियो। मधेसका जमिनदारले त घोषित रूपमा नै भारतको प्रतिनिधित्व गर्छन् भन्ने आएको छ। पहाडिया मूलका पनि भारतीय शासकको चाहना अनुसारको नीति बनाउने र त्यसलाई कार्यान्वयन गरेर राज्यसत्तामा बसेका छन्। पञ्चायत कालमा राजाको विरोध गर्दा मलाई हाई स्कुलमा मास्टर भएर जागिर खाने अनि राजाको विरोध गर्ने अन्तर्राष्ट्रिय तत्त्व होस् भन्थे।

मण्डलीले त्यसैगरी अहिले पनि हामी एक्लै विरोधमा आएका छौँ। २०७४ सालमा प्रचण्ड र केपी ओलीसँग सहकार्य गरेका थियौँ। तर, शेरबहादुर देउवाले मलाई दुई घण्टा बालुवाटारमा बोलाएर वामपन्थी दलमा नजानुहोस् यात सहकार्य गरौँ भन्नुभयो। तर, तपाईँकोमा जाँदैनौँ। वामपन्थीको पक्षमा नै जान्छौँ भनेर वामपन्थीबाट धेरै राम्रो भएको छ। गणतन्त्र बलियो बनाउन पर्दछ भनेर भनेको हो। नेपाली जनताले ओलीलाई दुई तिहाई मत दिए राष्ट्रिय जनमोर्चाको मात्र हैन। केही महिनामै सरकार ढल्ने भएर वाक्क भएर तत्कालीन नेकपालाई बहुमत दिलाए। तर, उनीहरुले पनि मतको दुरुपयोग गरे। संविधानमा नै नभएको व्यवस्थाबाट सरकार भत्काए।

आगामी निर्वाचनमा कसरी अगाडि बढ्नुहुन्छ त ?
सबै कुरा मिले त एउटै पार्टी हुन्छ। बेग्लै मत भएको कारणले अब शेरबहादुर देउवाले देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्छन् भन्ने हामीलाई छैन। ओलीले पनि देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्छन् भन्ने हामीलाई छैन। महाकाली सन्धि पास गरेर भारतलाई बुझाउँदा यी सबै सामेल छन्। त्यसैले देउवासँग देशको संसदलाई जीवित राख्नुपर्दछ भन्ने हिसाबले सम्झौता गरेको हो। अहिलेसम्म प्रदेश र संघको चुनाव भएको छैन। अहिलेसम्म प्रतिगमनविरुद्धमा बनेको गठबन्धन कायम छ । भोलि के के हुन्छ हेर्दै जाऔँ।

तपाईँहरू समाजवादी केन्द्र वा गठबन्धनमा हुनुहुन्छ कि एमालेले संघीयताको विरोध गर्‍यो मत मिल्यो भनेर त्यता जानु हुन्छ ?
एमालेले सङ्घीयताको विरोध गर्दैन, जनमोर्चाले सङ्घीयता हुँदैन भन्दा कहिले पनि सुनुवाइ गरेनन्। अहिले अर्बौ  रुपैयाँ संघीयताको आवरणमा उडाएका छन्। पहिले मैले संघीयता काम नलाग्ने भयो यो गलपासो भयो भन्दा मलाई वास्ता गरेनन् तर अहिले नेपाली जनताले जसरी भए पनि संघीयता खारेजीको माग गर्न थालेपछि गर्ने भए पछि झिनो स्वरमा  संघीयता आवश्यक रहेनछ भन्न थालेका हुन्। नेपाललाई संघमा लगेर जातीय प्रदेश बनाएर ध्वस्त बनाउने योजना युरोपियनको हो। भारतीयले मधेश अलग पार्नको लागि संघीयता चाहिन्छ भनेका हुन्।

सङ्घीयताले आधिकारको हिसाबमा सबैलाई राष्ट्रिय मूलधारमा  ल्याउन सहयोग गर्‍यो भन्ने पनि छ नि त ?
त्यही समानुपातिक भएको भए त दिनमा हजारौँ नेपाली वैदेशिक रोजगारीमा जानुपरेको ?  संघीयताले देशमा उद्योग कलकारखाना बढाएर, जातीय सद्भाव बढाएर, पहाडी र मधेसीबीचको सद्भाव अझ घटायो। अझ अन्तर्विरोध सल्काएर मुलुकको अर्थतन्त्र टाट पारेर केही राजनीतिक पार्टीका मान्छेले सत्ता र शक्तिमा रजाइँ गरेर मुलुक बिगार्दै लगेका छन्। त्यसैले मालिकले संघीयता खारेज गर नभनेसम्म यो सम्भव छैन।

सङ्घीयताको विरोध त पहिला देखिनै गर्नुभयो , तर, तपाईँहरू बलियो हुन सक्नुभएन, यो त विरोधको लागि मात्र विरोध गरेको जस्तो देखियो नि ?
पहिला त जनताले बुझ्नुपर्दछ। त्यसका लागि समय लाग्छ। जनता एमाले कांग्रेस माओवादीमा बन्दी भएर उनीहरूले जहाँ समर्थन गर भन्छन् त्यही गर्छन्।

प्रचण्ड, ओली र देउवामध्ये तुलनात्मक रूपमाको राष्ट्रवादी हुन् ?
व्यक्ति विशेषमा कोही पनि राष्ट्रवादी छैनन्।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ०६ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी