साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।

साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी छैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केही निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका हुन् । उनले कुन सरकारका पालामा कुनै निजी क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताए।

अरबौँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरूले नै निराधार भ्रमण फैलाउने काम गरेको उनको भनाइ छ ।

मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारे। अहिलेको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उनले बताए। उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्ब ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए। मन्त्री बडूले पेट्रोलियम पदार्थको ढुवानी निजी क्षेत्रबाट हुने गरेको भन्दै ढुवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे।

त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तर्राष्ट्रिय मूल्य बन्दा कममा बिक्री गरेको जिकिर गरे। निगमलाई सरकारले सघाउने गरी नै काम गरे पनि केही समस्या भने देखिएको उनको भनाइ छ ।

२. लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् ।

 नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोला /नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चालिने बताएकी हुन्  टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुँदा वित्तीय जोखिम समेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताइन् ।

मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन् । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनले विद्युत् व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उनले संसद्को चालू अधिवेशनमा पास हुने भए सो ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बित्तिकै केही प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै औद्योगिक क्षेत्रलाई पर्याप्त विद्युत् उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताएका छन्।

ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने उनले जानकारी  दिएका हुन् ।  उनले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढवा दिनुपर्नेमा जोड  दिएका छन् । त्यस्तै ट्रान्समिसनलाईनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको दाबी गरे ।

३. राष्ट्रपतिद्वारा ब्राजिलका लागि राजदूत नियुक्त

ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरेको  छ ।

 काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।

४. श्रमिक अस्पताल अध्ययन कार्यदलले मन्त्रीलाई बुझायो प्रतिवेदन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आज  मन्त्री कुँवरलाई बुझाएको हो ।

अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यादेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरू उल्लेख गरेको छ ।

 साथै कार्यदलले अस्पताल निर्माणका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको छ। नेपालमा श्रमिक अस्पतालको आवश्यकता महसुस गरी सोही आधारमा कार्यदलले अस्पताल निर्माणका लागि १३ वटा सुझावहरू दिइएको छ ।

५. गृहमन्त्री खाणद्वारा खोटाङ भूकम्पबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाणले  खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् ।

घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य छिटो गर्न र जिल्ला  तथा प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन उहाँले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट भोजपुर जिल्लाको भोजपुर नगरपालिकाको–१२ टक्सारमा दुई घर भत्केको छ  भने खोटाङको साकेला गाउँपालिकामा पनि भूकम्पको कारण  एउटा कच्ची घर भत्किएको छ

६. नेप्सेमा उच्च अङ्कको वृद्धि
कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० विन्दुमा पुगेको हो ।

आज फाइनान्स बाहेक सबै  उपसमुहको शेयर उकालो लागेको छ  । आज २ सय  २० वटा कम्पनीको  १ करोड १३ लाख  ३९ हजार  ४ सय ७६ कित्ता शेयर कुल  ४ अर्ब ६० करोड  ९७ लाख  ९१ हजार २ सय ७२ रुपैयाँमा कारोबार भएको छ । आज  १० कम्पनीको मूल्य  झन्डै १० प्रतिशतले बढेको छ ।

त्यस्तै युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबार रकमका आधारमा अमज शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावरअगाडि रहेका छन् ।

७. तुलसीपुर हवाई इन्धन डिपोमा तालाबन्दी

दाङको तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरेका  छन् ।

 दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यवसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् ।

बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुग्नुभएको थियो ।

वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एक मात्र टरिगाउँ एयरपोर्टको विकासले बिस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षडयन्त्र भएको बताएका छन् ।

८. इरानमा अविरल वर्षासँगै आएको बाढीमा ५९ जनाको मृत्यु 

इरानमा अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको मृत्यु भएको छ ।अन्य ३० जना बेपत्ता भएका  छन् । गत जुलाई २३  देखि वर्षापछि आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको हो ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको,  ९ सय ४४ जनालाई उद्धार गरिएको छ ।

यसैबीच  राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

९. थप ६२० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

१०. अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा शपथ लिने तय भएको छ ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : २४ बजे

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा