सेलाएको फुटबल सरुवा बजारमा तातेका रोनाल्डो | Khabarhub Khabarhub

सेलाएको फुटबल सरुवा बजारमा तातेका रोनाल्डो

जसको च्याम्पियन्स लिगको कीर्तिमानी भोक जारी छ !



काठमाडौँ : विश्व फुटबलको सरुवा बजार यसपटक निकै उतारचढावमा रह्यो । यो उतारचढावबीच थुप्रै स्टार र सुपरस्टार खेलाडीको सरुवाले बजार तात्यो । तर एउटा नाम भने अझै सरुवा बजारमा चर्चामा छ । जुन नाम हो, क्रिष्टियानो रोनाल्डो ।

सेप्टेम्बर १ मा ट्रान्सफर मार्केट बन्द हुँदैछ । अब सम्भावित खेलाडीहरुलाई आफ्नो टोलीमा आबद्ध गराउन वा आफ्नो टोलीबाट बिदा गर्न मात्र २४ घण्टाको समय बाँकी छ ।

इङ्लिश प्रिमियर लिगमा आगमी २४ घण्टामा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छ भने अत्याधिक समर्थकहरुको चासोको विषय बनेको छ ।

यसैगरी घडीको टिकटिकसँगै क्रिस्टियानो रोनाल्डोको लिगको आगामी दिनहरु कस्तो हुन्छ ? र कुन क्लबसँग हुनेछ भन्ने पनि चर्चाको विषय बनेको छ ।

नापोलीको प्रयास
रोनाल्डोका म्यानेजर जर्ज मेन्डेसले रोनाल्डोलाई बायर्न म्युनिख, चेल्सी र एट्लेटिको म्याड्रिडमा ट्रान्सफर गराउन विफल भएका थिए ।

यसपश्चात थुप्रै यूरोपबाहिरका क्लबहरुले राम्रो रकमका साथ रोनाल्डोलाई आबद्ध गर्ने प्रस्ताव आएको पनि खबर आएको थियो ।
तर, विश्वकप फुटबलको मुखमा रोनाल्डोको चाहना यूरोपियन क्लबमा नै खेलेर फर्म हुने रहेको कुरा बाहिरिएको थियोे । विश्वकपमा राम्रो प्रदर्शनको लागि रोनाल्डोको सो निर्णय भएको हुनु पर्दछ ।

कुन क्लबले रोनाल्डोलाई आबद्ध गर्छन ? भन्ने प्रश्न उठिरहँदा नापोलीले रोनाल्डोलाई आबद्ध गर्ने कुरा चर्चामा आइरहेको छ । इटालियन क्लब नापोलीले पूर्ण रुपमा नै रोनाल्डोलाई आफ्नो टोलीमा आबद्ध गर्ने कुरा बाहिरिएको छ ।

२ पटक सिरि ए, ६ पटक कोप्पा इटालिया, २ पटक सुपरकोप्पा इटालियाना र १ यूईएफए कपको उपाधी जितिसकेको नापोलीलाई रोनाल्डो सहि लगानी बन्न सक्ने सम्भावना रहेको छ ।

तर, सन् २०२१–२०२२ को सिजनमा म्यान्चेष्टर युनाईटेडका लागि २० खेलमा १४ गोल गर्न सफल रोनाल्डोले यस सिजनको ४ खेल गोलरहित बिताइरहेका छन् । यस्तोमा रोनाल्डोको सरुवा बजारले धेरै शंका, उपशंका र आशयहरु जन्माएको छ ।

यूनाइटेड छोड्न रोनाल्डो आतुर
सन् २०२१ को सिजनमा म्यान्चेष्टर यूनाईटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो । यो परिणाम रोनाल्डोको लागि भने पक्कै पनि अस्वीकार्य नै थियो । यससँगै रोनाल्डो युनाईटेडबाट टाढिने चर्चा व्यापक हुन थाल्यो ।

साथै यूनाईटेड प्रिमियर लिगको उत्कृष्ट ४ मा पर्न असफल भएका कारण रोनाल्डोलगायत अन्य खेलाडीको तलबमा पनि २५ प्रतिशत कटौती गरेको थियो । हार जितलाई खेलको नतिजाको रुपमा नलिई खेलाडीलाई हतोत्साहित बनाउने कार्य भएको रोनाल्डोले महसुस गरेको देखिन्छ ।

यस्तै ट्रान्सफर मार्केटमा यूनाईटेडको कमजोर प्रस्तुति पनि रोनाल्डोलाई चित्त नबुझेको देखिन्छ ।

यूनाईटेडको दोस्रो कालमा रोनाल्डोको प्रदर्शन
रोनाल्डोलाई स्टार खेलाडी बनाउनमा यूनाईटेडको पहिलो कार्यकालले निकै महत्वपूर्ण भूमिका खेलेको थियो । यसमा दुई मत छैन ।

११ वर्षपश्चातको रोनाल्डोलाई हेर्दा उनको क्षमता र अनुभवसँगसँगै उमेर पनि वृद्धि भएको छ । ३७ वर्षीय रोनाल्डोले भने आफ्नो उमेरले खेलको प्रदर्शनमा असर नपरेको दाबी गर्दै आएका छन् । उमेरको विषय उठ्दा उनले सार्वजनिक रुपमा पनि आक्रोश पोख्दै आएको पनि सबै जना अवगत छन् ।

यद्यपि, ११ वर्षपश्चातको यूनाईटेडको कार्यकालमा भने रोनाल्डो एक स्थापित खेलाडीका रुपमा भित्रिए । रियल म्याड्रिड,युभेन्ट्स जस्ता क्लबमा आफ्नो क्षमता पुष्टि गरिसकेका रोनाल्डोले कसैलाई प्रदर्शनले पुष्टि गराउन नपर्ने वातवरण सृजना भईसकेको पनि दखिन्छ ।

यस्तै, यूनाईटेडको सुरुवाती कार्यकालमा रोनाल्डोलाई आफुलाई स्थापित गर्न जुन उर्जा देखिन्थ्यो । त्यो उर्जा दोस्रो कार्यकालमा आउँदा भने धेरै हदसम्म घटेको पनि धेरैको टिपणी रहेको छ ।

प्रिमियर लिगमा रोनाल्डोको वर्तमान
यस वर्षको लिगको सुरुवात यूनाईटेडको लागि दुःखद बन्यो । ब्राइटन एण्ड होभ अल्बियनविरुद्धको खेलमा २–१ गोलले पराजित भएसँगै माहोल निराशाजनक बन्यो ।

ब्रेन्टफोर्डविरुद्धको दोस्रो खेलको पहिलो हाफमा नै यूनाईटेडले व्यहोरेको ४–० गोल क्षति लजास्पद साबित भयो ।

रेड डेभिल्स्का स्टार खेलाडी सीआर सेभेन चम्कन त परै जाओस् गोल हान्न पनि असमर्थ रहे । यससँगै रोनाल्डोको टोलीका अन्य खेलाडीसँग मेलमिलाप कम भएको खबर पनि बाहिरियो ।

सो खेलपश्चात प्रशिक्षक एरिक टेन ह्यागले पनि यूनाईटेडबाट रोनाल्डोको ट्रान्सफर खुल्ला रहेको आशय व्यक्त गरे । तर, क्लबले रोनाल्डोसहितको प्रशिक्षण भिडियो सार्वजनिक गर्दै माहोल ठिक भएको देखाउन पनि खोजेको थियो ।

रोनाल्डो र प्रशिक्षक ह्यागको सम्बन्ध चिसिसेकेको हल्ला चल्दैँ गर्दा लिभरपुलविरुद्धको खेल नजिकियो । यूनाईटेडले लगातार ३ खेलमा पराजित हुने सम्भावना धेरै खेल पण्डितले प्रकट गरेका थिए ।

सो सम्भावनालाई गलत साबित गर्न प्रशिक्षक ह्याग सफल भए । उनले रोनाल्डोलाई प्लेलिङ ११ मा समावेश नगरी लिभरपुलविरुद्धको टोलीलाई मैदान प्रवेश गराएका थिए ।

सो खेलमा यूनाईटेडको लिगमा पुर्नागमन भयो । २–१ ले लिभरपुललाई पराजित गर्दै यूनाईटेडले रोनाल्डो बिना नै लिगमा जितको खाता खोले । यसले रोनाल्डो बिना नै यूनाइटेड बलियो भएको सानो झलक देखायो ।

साथै जितलाई निरन्तरता दिन सोहि टोलीको साथ ह्यागले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्ने सम्भावना देखियो । यूनाईटेडले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको थियो ।

दोस्रो हाफमा यूनाईटेडको पक्कड बलियो हुँदा र अग्रता कायम नै रहँदा प्रशिक्षक ह्यागले रणनीतिमा परिवर्तन ल्याए । करिब २२ मिनेट बाँकी हुँदा ह्यागले रोनाल्डोलाई मैदानमा प्रवेश गराएका थिए ।

रोनाल्डोको प्रवेशसँगै साउथह्याम्पटनको रणनीति दबाबमा आएको देखियो । साथै सोहि दबाबलाई बढाउन ह्यागले क्यासमिरोलाई पनि यूनाईटेडको लागि डेब्यु गराए । खेलमा अर्को गोल हुन सकेन ।

यसले ह्यागले प्रतिस्पर्धी टोलीलाई कसरी आश्चर्यमा पार्न सक्छन् भन्ने एउटा उदाहरण पनि दिएको थियो । ह्यागले टोलीसँग थप प्रयोग गर्न बाँकी भएको पनि बुझ्न सकिन्छ ।

लेस्टर सिटीविरुद्धको पाँचौँ खेलमा भने ह्याग, रोनाल्डो र अन्य खेलाडीको तालमेल कतिको फलदायी हुन्छ, त्यो भने हेर्न बाँकी नै रहेको छ । तर टोलीमा रोनाल्डोको भूमिका कस्तो हुन्छ, त्यो सारा फूटबल जगतले नियालिरहेको साँचो हो ।

यद्यपि, भरपर्दो गोलकर्ताको छवि भएको रोनाल्डोको गालरहित खेलहरुले भने पक्कै पनि प्रश्न उठाएको छ । रोनाल्डोको प्रि–सिजन टुरमा भएको अनुपस्थिति र उनको प्रशिक्षण शैलीमा आवश्यक परिवर्तनको अभावले पो उनको गोलको खडेरी भएको हो की जस्तो पनि महशुश हुन्छ ।

रोनाल्डाको आगामी गोल इङ्लिश प्रिमियर लिगमा हुन्छ कि नापोलीसँगको आबद्धतापश्चात च्याम्पियन्स लिगमा हुन्छ, भन्ने अर्को प्रश्नको विषय बनेको छ । वा प्रशिक्षक ह्यागले यूनाइटेडमा नै रोनाल्डोको लागि ठाँउ बचाउँनेछन् ।

तर जे हुन्छ, रोनाल्डोको क्षमता, च्याम्पियन्स लिगमा कीर्तिमान थपिरहने उनको चाहना र विश्व बजारको मूल्यले देखाउनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : ४२ बजे

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा