काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिने
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । फागुन १ मा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।
२. सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।
३. आमनिर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने
निर्वाचन आयोगले आगामी मंसिरमा हुने आमनिर्वाचनका लागि करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने जनाएको छ । आयोगका अनुसार यीमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिए ।
४. ओली कञ्चनपुर जाँदै
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन् । एमाले कञ्चनपुरको आयोजना हुने जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज कञ्चनपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ । ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने तयारी रहेको एमाले कञ्चनपुर इन्चार्ज निरु पालले जानकारी दिए ।
५. माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डले केही दिनदेखि प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिँदै आएका छन् ।
६. सूर्यविनायक–धुलिखेल सडक तीन वर्षमै बन्ने
अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो ।
७. दाङमा चट्याङ लागेर २ जनाको मृत्यु
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन् । चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए। घटनाबारे आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ ।
८. नारायणगढ–मुग्लिन खण्ड अबरुद्ध
नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।यस्तै, हिजो साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।
९.सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभको निधन
तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुगेका थिए । उनले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गरेका थिए भने आन्तरिक रूपमा सुधारहरू गरेका थिए । सोभियत युनियनको स्खलनसँगै नयाँ रुसको उदय भएको हो । गम्भीर दीर्घरोगसँग जुध्दै आएका गोर्बाचोभको मस्कोस्थित अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
१०. युएस ओपन टेनिसमा नाडालको विजयी सुरुआत
स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिसमा विजयी सुरुआत गरेका छन् । न्युयोर्कमा आज बिहान भएको पहिलो चरणमा अष्ट्रेलियाका रिन्की हिजीकाटालाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् । महिलातर्फ साविक विजेता ईमा राडुकानु पहिलो चरणबाटै बाहिरिएकी छिन् । बेलायती खेलाडी राडुकानुलाई फ्रान्सकी एलीजी कोर्नेटले ६–३ र ६–३ को सेटमा पराजित गरेकि हुन् ।
प्रतिक्रिया