‘समाजवादको नाराले पेट भरिएन, करको सदुपयोग भएन’ | Khabarhub Khabarhub

स्वस्थानी र गरिवीको जीवन्त दर्शन

‘समाजवादको नाराले पेट भरिएन, करको सदुपयोग भएन’

नेपालमा खाने मुख बढ्यो, उत्पादन घट्यो



नेपालीहरुका घरघरमा पढिने स्वस्थानी कथा र नेपालीको व्यथा यो वर्ष फेरि उजागर भएको छ। हरेक वर्ष पुस पूर्णिमादेखि माघ पूर्णिमासम्म महिनाभरि सतिदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानीको मेला काठमाडौँ उत्तर पूर्वी भागको साँखु शहर छेवैमा लाग्ने गर्छ।

त्यसो त संसारमा ३३ करोड पीठहरु छन्, त्यसमा सबैतिर पुग्न सकिन्न। तर जीवनभरिमा ५० पीठमा भने पुग्नु पर्ने शास्त्रीय मान्यता छ। सतीदेवीको निधन हुँदा पति महादेवले उनको लासलाई लिएर विश्वभर भ्रमण गर्ने क्रममा पहिले गुह्य पतन भई पीठ बनेको ‘गुह्येश्वरी’ पावन पशुपतिक्षेत्रमै रहेको छ भने दाँत पतन भएको क्षेत्र दन्तकाली धरानमा, जिव्रो पतन भएको क्षेत्र बाँकेको वागेश्वरी लगायत सयौँ पीठ हाम्रै देशमा छन्। अन्त्यमा बाँकी सर्वाङ्ग पतन भएको क्षेत्र दैलेखको धुलेश्वर सधैँ हाम्रो चर्चाको विषय हो।

उनै सतीदेवीले अर्को जीवन पार्वतीका रुपमा यहीँका हिमालय र पत्नी मेनकाका गर्भबाट जन्मिएर पति शिवलाई पाउन एक महिनासम्म स्वस्थानीको व्रत गरेको गौरीघाट र यहीँको शालिनदीक्षेत्रले सर्वत्र चर्चा पाएकै छ। स्वस्थानीमा गरिबीको चित्रण बढी छ।

हो, देशमा आज पनि बेरोजगारी छ। गरिबी पनि। ‘मुनामदन’मा महाकविले मुनाको दुःख र पति मदनले भोटमा पाएको कष्टको चर्चा गरेका छन्, हाम्रो आधुनिकताको उपज। तर स्वस्थानी सत्य युगको कथा हो, तर खोलाहरूमा धेरै पानी बगे, परिवेश उही छ हाम्रो, उही अशिक्षा, उही भोक, बढी रोग, र त विश्व कहाँ पुग्यो, हामी अल्प विकसित र श्रम बेचिएको पैसाले धानिएको अर्थतन्त्रमा।

‘स्वस्थानी’को मूल पात्र शिव भट्टकी छोरी गोमाको बिहे सानै उमेरमा शिव शर्मासँग भएको, उनी गर्भिणी हुँदा घरमा खानाको अभावले पति परदेशिएका थिए। सन्तानको लालन पालनका लागि घर खर्च जुटाउन विदेश गएका शिव शर्माको उतै मृत्यु हुन्छ। यता गोमाले छोरो पाउँछिन्, जसो तसो हुर्काउँछिन् पनि। छोरो नवराज खेल्न जाँदा छिमेकीले घोचपेच गर्छन् र भन्छन् ‘बिना बाबुको छोरो’।

पिडाले नवराज बाबु खोज्दै बिदेसिन्छन्। मरेका बाबुको हाडखोड पत्ता लगाई अन्तिम संस्कार गरी केही खर्चको जोहो गर्दै आमा भेट्न आइपुग्छन्। पति, पुत्र दुवैको बेचैनीमा रहेकी गोमा स्वस्थानी गुहार्दै माघ मासको व्रत गर्छिन्, आपत्कालमा सम्झने ईश्वर नै त हो।

छोरो एक्लै फर्केको देखी आमा पति विरहमा हुन्छिन्, जसो तसो सम्हालिएर छोरालाई ठूलो हुने, पौरख गर्ने आशीर्वाद र स्वस्थानीको प्रसाद दिन्छिन्। अहिले पनि उही समस्या छ, खाडीमा गएर बाकसमा लास फर्केको स्थिति, देशमा रोजगारी नभएरै त हो।

अझ भनौँ देशको अर्थतन्त्र पूरै रगत बेचिएको विप्रेषणमा चलेको छ,, यहाँ विदेशीहरुले खर्बौँ खर्ब लगानी गरिसके, तर देश ऋणमै छ, उत्पादन छैन, मूल व्यवसाय खेतीमै समस्या छ।

उर्बर भूमि टाठा बाठाको हातमा प्लटिँगमा छ। रासायनिक मलको हाहाकार छ, खाना, नाना छानाका लागि बिदेसिनु पर्ने बाध्यता छ। स्वस्थानीमा कुटीर उद्योगको चर्चा छ, ऊन, राडी, पाखी घरेलु कामको संकेत छ।

तर आज पनि त्यही विषय हाम्रो लागि ठूलो भार भएको छ,, भएका उद्योग टाठाबाठाले बेचिदिए, केही रुग्ण छन्, सबैलाई विदेशी व्यापार गर्न, छिटो धनी हुन मन लाग्छ। विदेशी व्यापारबाट कमाइने भंसार राजस्वले देशको महँगो राजनैतिक संयन्त्र चलेको छ, यहीँ धेरै विलासिताका सामग्रीहरुको आयात हुन्छ।

स्वदेशी बिजुली महँगो छ, विदेशी इन्धनमा प्रति लिटर रु ६५ बढी त कर नै लाग्छ, नजिकको देशभन्दा यहाँको पेट्रोलियम पदार्थ महँगो छ। स्वस्थानीका पात्रहरु सबैजसो अभावमा जिएका छन्, वियोगको सागरमा पौडी खेलेका छन्, हो त्यो पिडा अहिले पनि उस्तै छ।

विदेशीले सिमाना मिच्छ, बहादुरी इतिहासका वीर गोर्खालीको रवाफ घुमिल हुन्छ, सुगौली सन्धिपछि साहित्यको रस वीर रसबाट एकाएक भक्ति रसमा परिणत भई भानुभक्तीय रामायणको चर्चा हुन्छ घर घरमा। आज पनि रात विरात खुफिया एजेन्सीहरु कोठा कोठा चाहर्छन्, राष्ट्रियताको बजार चुनावी मैदानमा हुन्छ।

भाषा, धर्म, संस्कृतिमा औपनिवेशिकता, तुइन तर्दा,मृत्युवरण, सिमानामा तातो गोली, पौडी खेलेर महाकाली पार गर्दा एकसरो कपडामा शहर परिक्रमाको बेइज्जती। एकै युवती ९ जनाको बलात्कारको शिकार त्यो पनि राजधानीमै, घाँटी रेटी रेटी मान्छेको हत्या तर पनि मानव अधिकारको कुरा यहीँ छ। देशले समाजवादको खोक्रो नारा लिएको, आत्मरतिमा अल्झिएको छ।

संविधानमा सबै मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, अपाङ्ग, दलित, निमुखा, असहाय, महिला, ज्येष्ठ नागरिक, स्वच्छ हावाको पनि चर्चा छ, तर यी सबै खोज्न सकिने अवस्था छैन, देश विचौलिया र विदेशीको इशारामा एमसीसीहरुको चरित्र देखिएकै छ।

स्वस्थानीका पात्रहरु, तिनले पछिल्लो जीवन सुखमा बिताएको प्रसंग छ, अभावै अभाव बीच दुःख पाएको नवराजले पछि रोजगारी मात्रै होइन ठूलो सम्मान पाउँछन्, आमा खुशीको आँसु बगाउँछिन् तर नवराज पत्नी रानी भएको जोसमा होस गुमाउँछिन् र शालिनदीका किनारामा ठूलै कष्ट पाउँछिन्, पदको दुरुपयोग गर्दा।

हाम्रा नेपालीहरुको रंग उस्तै छ, मिठो खाने, राम्रो लाउने सपना अधुरो छ र त दिन दिनै पासपोर्ट बनाउने भीड बढेको छ। वृद्धहरु गाउँमा बेसहारा छन्, गाई, गोठहरु रित्तै छन्, विदेशी पाउडर दूध बहन्छ शहरमा, यहाँ मेलम्ची होइन विदेशी मिनरल वाटर, ह्विस्की, डिउ, कोक, फ्यान्टा, जंंकफुड, फास्टफुडले स्वास्थ्य कुरुप बन्छ, श्रम नगर्ने र कोठैबाट मोबाइलले संसार हाँकिन्छ।

युवा पुस्ता बेमौसमको राजनीतिमा, व्यसन र दूर्व्यसनीमा फसेको छ। स्वस्थानीको शाब्दिक अर्थ हुन्छ स्व स्व स्थानमा बसेर आफ्नो कर्तव्य, जिम्मेवारी पूरा गर्नु पर्ने। पथभ्रष्ट हुने स्वस्थानीका केही पात्रहरु खेर गएका पनि छन् आफ्नो मर्यादामा नबस्दा विश्वलाई एक तृण बराबर सम्झने स्वयं विष्णुले बृन्दाको श्रापका कारण शिला, झार हुनु परेको छ।

सत्यको अर्थ सत्य नै हुन्छ, निष्ठा र इमानदारिता बिर्सँदा, रानीको सोखले आफन्तको मोहमा पर्दा चन्द्रावतीलाई असह्य वेदना सहनु परेको छ। रानी बन्दा पनि खान नपाएर अरुले ल्याइदिएको बासी भात खान लाग्दा खरानी भएको र त्यो पनि खान खोज्दा हावाले उडाएर लगेको, धरधरी रुनु परेको अवस्था छ। हेर्दा कथा जस्तो लाग्छ तर मर्म आजकै हो।

आज पनि बाली लगाउने असारमा प्रकृतिको वितण्डा छ,, बाली उठाउने मंसिरमा उही समस्या छ र त विगत ५ वर्षमा सबैभन्दा कम धान बालीको उत्पादन गत वर्ष देखियो, यो वर्ष केही बढेको भन्छ, कृषि मन्त्रालयले तर ६० लाख टन धानको उत्पादनको लक्ष्य लिँदा जम्मा ५१ लाख टनमा चित्त बुझाउनु परेको छ।

खाने मुख बढेका छन् उत्पादन घटेको छ। देशमा व्यापारघाटा चुलिँदै छ, जसरी ऋण चुलिएको छ। चन्द्रावतीलाई ल्याइएको झोलाको भात भन्दा परिवेश के फरक भयो त ? बाली भित्र्याउन नपाई प्रकृतिले उडाएर लगेको अवस्था छ, हाम्रो देश धर्मको देश हो, यहाँ अधर्मका काला बादलहरु पनि मडारिएका छन्।

मूर्तिमा सुनको जलप लगाउन पुग्ने तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति छ। सिँहदरबार या कुनै आलिशान महलमा, उच्च सुरक्षाको घेरामा, विलासी गाडी र जिमखाना, सरकारी उपचारमा रहनेहरु एक पटक साँखु पुगेर चन्द्रावतीको छप्पर हेर्नु बेस हुन्छ या त्यहाँसम्म पुन सकिन्न भने गौरीघाटमा पार्वतीले व्रत गरेको प्रदूषित वागमतीको चित्कार सुनी २ मुठा रायो साग लिएर कोठामा गई आफ्नै हातले या आफ्नै परिवारले पकाएर दिएको एक छाक खाना खान सके अझ माओको समाजवादको चित्र कोर्न सकिन्छ होला। र त महाकविले भने ‘सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नो खाएर बस्नु आनन्दी मनले’।

राजनीतिको रडाको छ, चुनाव सकिएर पनि राजनीतिले स्थिरता नदिने हो कि शँका छ, गरिबीले देश कामिरहेको छ अहिले, माटो छोप्ने डोजरे र असारे विकासले गलिरहेको छ देश, विकास खर्च ९ प्रतिशत नपुग्दा चालु खर्चले सीमा नघाएको छ, संयन्त्रहरु पाल्नैका लागि मात्र।

समाजवादको नाराले पेट भरिएन, शरीर ढाकिएन, लालाबाला पालिएनन्, शिक्षा, स्वास्थ्य सुविधा भएन, प्रसूति गृहदेखि आर्यघाटसम्म तिरेको कर सदुपयोग भएन। वर्षेपिच्छे स्वस्थानीको रोइलो छ, सन्देश पनि छ, कसैले सुनेन, पदीय मर्यादामा कोही बसेन, आचरणमा रमाइएन, पेसाप्रति गौरव र इमानदारिता भएन। स्वस्थानीको मूल मर्म बुझिएन, विदेशीको फोटो सजाएर त्यसैमा रमाइयो।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : १६ बजे

तापक्रममा ‘रेकर्ड ब्रेक’: धनगढीलाई नेपालगञ्जले उछिन्यो

बाँके – नेपालगञ्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री

बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा

काठमाडौं – बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको

अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित

काठमाडौं – अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन

अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – टी–२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा नेपालले

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी