तनहुँमा २८ करोडको सुन्तला उत्पादन | Khabarhub Khabarhub

तनहुँमा २८ करोडको सुन्तला उत्पादन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए । 

अघिल्लो वर्ष २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांक छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । 

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । 

म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष ३२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रआठ लाखको सुन्तला बिक्री गरेका छन् । 

आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।

राजनीतिसँगै सुन्तलाखेती

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे राजनीतिसँगै सुन्तलाखेतीमा आबद्ध छन् । विसं २०५३ देखि सुन्तलाखेतीमा आबद्ध रहेका घिमिरेले कृषिसँगै राजनीतिलाईसँगै अगाडि बढाइराखेका छन् । देशमा उत्पादन र जीविकापार्जनका लागि वातावरण नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उपाध्यक्ष घिमिरे भने सुन्तलाखेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । घिमिरेले सुन्तलाखेतीबाट वार्षिक २० लाख आम्दानी गरिरहेको बताए । घिमिरेको सुन्तलाफार्ममा अहिले आठ सय ५० सुन्तलाका बोट छन् । म्याग्दे–२ जोगीथुममा सुन्तलाखेती गरिरहेका घिमिरेले यस वर्ष २० लाखको सुन्तला बिक्री गरेको जानकारी दिए। 

विसं २०३५ मा कृषिको जेटिए अध्ययन गरेका घिमिरे आठ वर्षसम्म शिक्षक पेसामा संलग्न थिए । नेपाली कांग्रेसका नेता घिमिरे विसं २०४९ मा गाउँ विकास समितिको अध्यक्ष बनेका थिए । ‘राजनीतिसँगै सुन्तलाखेतीलाई अगाडि बढाइरहेको छु, हरेक व्यक्ति उत्पादनसँग जोडिनैपर्छ’, घिमिरेले भने। नेपालको हावापानी उर्वर रहेको जनाउँदै घिमिरेले कामप्रति इमान्दार रहने हो भने आत्मनिर्भर बन्न गाह्रो नभएको उल्लेख गरे । ‘यति राम्रो उर्वरभूमि छाडेर हामी भने मरुभूमिमा भविष्य खोजिरहेका छौँ, योभन्दा नराम्रो पक्ष के हुनसक्छ’, उनले भने।

परिश्रम नगर्ने तर तत्काल फल खोज्ने परिपाटीले परनिर्भर बनेको जनाउँदै घिमिरेले भने, ‘विदेशमा गर्ने दुःख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो स्वर्ग देश अन्त छैन ।’ सुन्तला खेती गरेर आर्थिक रुपमा सबल बनेको जनाउँदै घिमिरेले सुन्तलाखेतीबाट सन्तुष्टि मिलेको बताए। ‘सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, हरियाली र लटरम्म फलेका सुन्तला देख्दा आनन्द आउँछ’, उनी भन्छन् । 

सुन्तलाखेतीका लागि गाह्रो नभएको बताउँदै छ महिना यसको हेरचाह गर्ने हो भने वर्षदिनलाई मनग्य आम्दानी हुने घिमिरेको अनुभव छ । उनले भने, ‘सुरुका तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्दछ, अनि फल दिइसेकपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिन्छ ।’ फार्ममा आएर काम गर्दा फुर्तिलो र नवीन सोचको विकास हुने घिमिरेले बताए। ‘बर्सेनि २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, सुन्तला बिक्रीका लागि कुनै समस्या छैन, देशभरबाट सुन्तला खरिदका लागि अग्रिम बुकिङ हुन्छ’, उनले भने । 

सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानबाट मानिस आउने गरे पनि स्थानीयले भने कृषिको महत्व नबुझेको घिमिरे बताउँछन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा जित हासिल गरेका घिमिरेले यस पटकको स्थानीय तह निर्वाचनमा पुनः उपाध्यक्षमा विजय प्राप्त गरेका छन् । घिमिरेले सुन्तलाखेतीका अलवा इँटाभट्टा व्यवसायबाट पनि थुप्रैलाई रोजगारी दिइरहेका छन् । 

– कृष्ण न्यौपाने रासस

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : २१ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला