लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे « Khabarhub

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे



नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा पुस्तान्तरण र रूपान्तरण हुनुपर्छ भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दह्रो साथ दिने नेता हुन्, मोरङका गुरु घिमिरे। शेरबहादुर देउवा सभापति रहँदादेखि नै फरक धारमा रहेका घिमिरे १५ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भए।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सुरुआती अवस्थामा ‘चिर्कटो’ नबाँड्ने भनिए पनि अन्तिम समयमा विभिन्न नामका लिस्ट वितरण गरिएको खबर सार्वजनिक भए । उक्त चिर्कटोमा कुनै पनि समूहमा गुरु घिमिरेको नाम समावेश नभएको बारे प्रश्न गर्दा उनी यो विषय नेतृत्वलाई नै बढी जानकारी हुने बताउँछन्। घिमिरे स्वयंले भने यस्ता कुरा राजनीतिमा स्वाभाविक हुने उल्लेख गर्दै महामन्त्रीको उम्मेदवारी दिँदा नै यस्तो स्थितिको पूर्वआकलन गरिसकेको जनाएका छन्।

लिस्ट बाँडिनु, लिस्टमा घिमिरेको नाम नहुनु र धेरै उम्मेदवार हुनु- यी कारणले गर्दा १५ औँ महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको आकलन घिमिरेको छ। घिमिरेसँग १५ औँ महाधिवेशनको परिणाम र अबको भावी राजनीतिक बाटोका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश:

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको नतिजा सार्वजनिक भइरहेको छ, यसलाई कसरी हेर्नुभएको छ?

कांग्रेस प्रजातान्त्रिक पार्टी हो। यसमा नेतृत्व चयनका लागि चुनाव हुनु र प्रतिस्पर्धा मार्फत प्रतिनिधि आउनु स्वाभाविक मानिन्छ। यो नै लोकतन्त्रको सबैभन्दा ठूलो अभ्यास हो। प्रक्रियामा सामेल भइसकेपछि जित र हारलाई स्वाभाविक रूपमा लिनुपर्छ। तर, त्यसको अन्तर्यमा रहेका विविध विषयलाई विश्लेषण गर्दै अगाडि बढ्नुपर्छ।

तपाईं स्वयं प्रतिस्पर्धी हुनुहुन्थ्यो। चुनावमा स्वस्थ वा अस्वस्थ कस्तो प्रतिस्पर्धा भयो ?

स्वस्थ प्रतिस्पर्धा थिएन, यो कुरा भन्न म डराउनु हुँदैन। जब लिस्ट बाँडिन्छ र माथि केन्द्रमा बस्ने साथीहरूले यी कुराहरूलाई रोक्न सक्नुहुन्न, तब प्रतिनिधिमा एक किसिमको अन्योल सिर्जना हुन्छ। एउटा स्पष्ट मनस्थिति बनाएर भोट हाल्न आएका साथीहरू त्यसबाट अलमलिन्छन्। यी सबै कुराहरूलाई ‘हेल्दी कम्पिटिसन’ मान्न सकिँदैन।

स्वस्थ प्रतिस्पर्धा थिएन, यो कुरा भन्न म डराउनु हुँदैन। जब लिस्ट बाँडिन्छ र माथि केन्द्रमा बस्ने साथीहरूले यी कुराहरूलाई रोक्न सक्नुहुन्न, तब प्रतिनिधिमा एक किसिमको अन्योल सिर्जना हुन्छ।

लिस्ट बाँड्नेलाई कारबाही गर्नेसम्मको टीओआर बनाउने त तपाईंहरू नै होइन र?

कांग्रेस पार्टीमा अनुशासन असाध्यै खुकुलो छ। त्यसैले यो लिस्ट वितरण कहाँबाट भयो भन्ने कुरा खोजीको विषय बन्छ। भोट दिन लाइनमा बसेका साथीहरूलाई समेत गएर ‘यसलाई भोट हाल, यसलाई नहाल’ भन्ने किसिमको परिपाटी बस्यो। तीमध्ये धेरै कुरा मैले आफ्नै आँखाले देखेको छु।

मतदान केन्द्रभित्र पनि जिम्मेवारी बाहिरका अनधिकृत व्यक्तिहरू देखिए। कतिपय उम्मेदवारहरू स्वयं त्यहाँ गएर ‘मलाई र उसलाई भोट नहाल’ भनेको पनि देखियो। महाधिवेशन गराउने जिम्मेवारीमा रहेकाले चुनावलाई स्वस्थ, निष्पक्ष र स्वतन्त्र गराउने दायित्व हाम्रै थियो। तर, त्यति हुँदाहुँदै पनि प्रक्रिया ट्रयाकभन्दा बाहिर गएकै हो।

पार्टीभित्र मौलाएको अस्वस्थ प्रतिस्पर्धाले यसपटकको महाधिवेशनलाई पनि केही रूपमा छोयो। म आफूले पनि यस्ता गतिविधि धेरै देखेँ। त्यसैले यी सबै गतिविधिलाई हेर्दा स्वस्थ प्रतिस्पर्धा भयो भन्नेमा म ढुक्क छैन। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन सकेन, यसको जवाफ अब नेतृत्वले देला।

सबै गतिविधिलाई हेर्दा स्वस्थ प्रतिस्पर्धा भयो भन्नेमा म ढुक्क छैन। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन सकेन, यसको जवाफ अब नेतृत्वले देला।

अब तपाईंहरू के गर्नुहुन्छ ?

पार्टीका नियमित काम गर्छौँ। पार्टीले जिम्मेवारी दिएको खण्डमा त्यसलाई निभाउँछौँ। जिम्मेवारी नपाएको खण्डमा पनि पार्टीको हित हुने काममै खट्छौँ। म बाहिरै बसेर काम गर्न अभ्यस्त छु; काम गर्नका लागि कुनै पद नै चाहिँदैन। अब अर्को सिराबाट नयाँ ढङ्गले राजनीतिलाई अगाडि बढाउने हो।

पार्टी निर्माणका निमित्त नियमित खट्नेछौँ। राजनीतिलाई एउटा जित र हारको विषयले मात्र अन्त्य गर्दैन, यो त नयाँ सुरुवात हो। कांग्रेस पार्टीमा यो नयाँ घटना होइन, यहाँ धेरैले जितेका छन् र धेरैले हारेका पनि छन्।

पार्टीलाई समयानुकूल र जनभावना अनुसारको बनाउने काममा म निरन्तर खट्छु। नेपाली कांग्रेसको बौद्धिक पहिचान र क्षमतालाई जोगाएर अघि बढ्नु मेरो मुख्य काम रहनेछ। पदमा बसेर काम गर्ने इच्छा यसपटक पूरा भएन, तर बाहिरै बसेर राम्रो काम गरी पार्टीलाई सहयोग पुर्‍याउने कुरामा कुनै कमी हुने छैन।

कतिपय नेताहरू हारेपछि भूमिकाविहीन हुने र निराश हुने परिपाटी देखिन्छ। तपाईं भने सक्रिय भएर काम गर्ने भन्दै हुनुहुन्छ?

हिजो पनि काम गरेकै हो, फेरि पनि काम गर्ने हो। निर्वाचनको परिणामले म निराश छैन। यसले आफूलाई थप पुनर्गठित र व्यवस्थित बनाउने अवसर दिएको छ। हरेक असफलताले सफलताको अर्को ढोका खोल्छ भनेजस्तै मेरा लागि पनि नयाँ ढोका खुलेको छ। अब नयाँ सिराबाट पार्टीको नेतृत्व लिने गरी अगाडि बढ्छु।

हिजो पनि काम गरेकै हो, फेरि पनि काम गर्ने हो। निर्वाचनको परिणामले म निराश छैन। यसले आफूलाई थप पुनर्गठित र व्यवस्थित बनाउने अवसर दिएको छ।

तपाईं कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र विशेष महाधिवेशनका लागि जुटेको नेता। तपाईंको हारलाई सामान्य ढङ्गले हेरिएको छैन, यसमा आन्तरिक मूल्याङ्कन के छ ?

वास्तविकताको विषयमा अध्ययन र विश्लेषण हुँदै जाला। जनमानसले पनि यसलाई हेरिरहनुभएको छ। बाहिरका विश्लेषक र पार्टीभित्रकै साथीहरूले पनि यसको विश्लेषण र विवेचना गर्नुभएको होला। यसको वास्तविक कारण बिस्तारै बाहिर आउने नै छ।

टिमवर्क गरेर काम गरौँला भन्ने हाम्रो इच्छा थियो, तर त्यसमा अहिले खलबल पुगेको छ। त्यो सम्भावना खण्डित भएर गएको छ। यसको दोष म कसैलाई लगाउँदिन, तर यो किन भयो भन्ने कुरा पार्टीका उच्च तहका नेताहरूलाई सोध्दा सही जवाफ आउन सक्छ।

नेतृत्वको असहयोगका कारण हार भएको भन्न मिल्छ ?

मैले स्वाभिमानपूर्वक काम गरेको हुँ। पार्टीको मूल्य र लोकतन्त्रको निष्ठामा कसैसँग सम्झौता गरेको छैन। न मैले हिजो पद र प्रतिष्ठाका लागि हात जोडेको थिएँ, न भोलि नै जोड्नेछु।

तपाईंको हारबाट कांग्रेसभित्र घात-प्रतिघातको रोग कायमै छ भन्ने प्रमाणित भएको मान्न सकिन्छ?

यो कुराको मूल्याङ्कन गर्ने जिम्मा पनि सचेत नागरिक र कार्यकर्तालाई नै छ। मैले कति काम गरेको थिएँ या थिइनँ भनेर तराजुमा हालेर जोख्ने काम पार्टीका साथीले नै गर्नुहोला। एउटा व्यक्ति हार्दैमा ‘अब सबै सकियो, केही हुँदैन’ भनेर निष्कर्ष निकाल्नु हुँदैन। यो हारलाई मैले जीवनको अन्तिम कडी ठानेको छैन। यो त अगाडि बढ्ने नयाँ सिँढी थपिएको हो। उघ्रिएको ढोका हेरेर म नयाँ बाटोबाट अगाडि बढ्न चाहन्छु।

नयाँ बाटोको अर्थ पार्टी छोड्ने सङ्केत त होइन ?

बिल्कुल होइन, म त्यो पक्षमा छँदै छैन। पार्टीलाई निष्ठापूर्वक अगाडि बढाएको मान्छेले नयाँ बाटो भन्दैमा पार्टी छोड्न लागेको होइन। हिजो जुन कार्यशैलीमा हिँडिएको थियो, अब अर्कै कार्यशैलीमा जानुपर्ने भएकाले ‘नयाँ बाटो’ भनिएको हो।

पार्टीमा कार्यशैली र कार्यटोली फरक हुन सक्छ। त्यसैले अब कार्यसमितिमा नरहेपछि बाहिरै बसेर विवेचनात्मक, विश्लेषणात्मक सुझावहरू दिने, अनुसन्धान गर्ने र तल्लो तहका समस्या बुझेर नेतृत्वलाई झक्झकाउने काम हुन्छ। सबै कुरा परिमार्जित, परिष्कृत र परिवर्तनशील हुने भएकाले यो नै नयाँ बाटो हो।

अहिले निर्वाचित नयाँ टिमलाई के भन्नुहुन्छ?

अहिले नयाँ साथीहरू आउनुभएको छ, उहाँहरूले राम्रो काम गर्नुहोस् भन्ने शुभकामना छ। पार्टीभित्र र बाहिर दुवैतर्फ ठूला चुनौतीहरू छन्। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने दायित्व छ। पार्टीबाहिर रहेका असन्तुष्ट साथीहरूलाई पनि समेट्नुपर्ने आवश्यकता छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले कस्तो नतिजा ल्याउँछ, त्यसैबाट तल्लो तहका जनताको मन जित्न सकियो कि सकिएन भन्ने पुष्टि हुन्छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले कस्तो नतिजा ल्याउँछ, त्यसैबाट तल्लो तहका जनताको मन जित्न सकियो कि सकिएन भन्ने पुष्टि हुन्छ। त्यसैले नयाँ पदाधिकारीसहितको केन्द्रीय कमिटीको टिमले अझ धेरै मेहनत गरेर तल्लो तहसम्म सङ्गठन निर्माण गर्नुपर्ने दायित्व छ।

पार्टीभित्र मतभेद छ, विशेष महाधिवेशन पक्षधको वर्चस्वजस्तै देखिन्छ। यस्तो अवस्थामा पार्टी एकताको अभियान अघि बढ्ने सम्भावना कत्तिको देख्नुहुन्छ?

एकता अभियान सफल हुनैपर्छ। निर्वाचनले जस्तोसुकै परिणाम देखाए पनि पार्टीभित्र को कहिले आयो र कसरी आयो भन्ने कुरालाई मात्र महत्त्व दिनु हुँदैन। पार्टीलाई एकताबद्ध बनाउन सबै ढङ्गबाट पहल हुनुपर्छ। हामीलाई असफल हुने छुट छैन। पार्टी एकताका लागि ठूलो मेहनत आवश्यक छ; सामान्य अवस्थामा यो सफलता प्राप्त हुन सक्दैन।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : ३४ बजे

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई