‘मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु’ « Khabarhub

‘मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु’


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन्। आज बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए।

मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री दाहालले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। “पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ”, उनले भने।

मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन्। “त्यो प्रक्रिया अघि बढिसकेको छ”, उनले भने, “यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘र्‍यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु।”

मिटरब्याज पीडितको समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पार्टी अध्यक्षको हैसियतमा रहेका बेला समेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको सुनाए। “म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ। तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह गरेको थिएँ। केही मान्छे त समातिए। त्यो बेला मिटरब्याजी भागाभाग पनि भए। तर यसको दिगो समाधान भने भएन। त्यो बेला अर्कै व्यक्ति प्रधानमन्त्री हुनुहुन्थ्यो। यो पटक म प्रधानमन्त्री छु। यसको दिगो समाधानमा मेरो ध्यान छ”, उनले भने।

अहिले यो समस्या पूर्णरूपमा समाधान गर्न नसके यसले गम्भीर रूप लिने प्रधानमन्त्री दाहालको भनाइ थियो। “मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ”, उनले भने, “अहिले यो समस्या समाधान नभए कहिल्यै हुन्न, त्यसैले यो समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ।”

मिटरब्याज पीडितले मार्च गर्दै राजधानी आएकामा समेत प्रधानमन्त्री दाहालले धन्यवाद दिए। “तपाईहरू यसरी पैदल हिँडेर काठमाडौँ आउनुभयो। तपाईहरूको समस्या राष्ट्रियरूपमा सुनियो। अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए। तपाईहरूलाई धन्यवाद छ”, उनले भने, “मैले जिल्लाबाट हिँडेदेखि नै तपाईंहरूका बारेमा जानकारी लिइरहेको छु। तपाईहरूलाई कहीँकतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु।”

अहिले आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री दाहालले आफूले आश्वासन मात्र नदिएको स्पष्ट पारे। “मलाई तपाईहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ। मैले आश्वासन मात्रै दिइरहेको छैन। यो समस्या हल हुन्छ। तपाईहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला”, उनले थपे।

प्रधानमन्त्री दाहालसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ४९ बजे

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक