सबै नागरिकलाई पान जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आएन | Khabarhub Khabarhub

सबै नागरिकलाई पान जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आएन


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता वा राष्ट्रिय परिचयपत्र लिँदाकै बखत सबै नागरिकलाई स्थायी लेखा नम्बर पान जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । करको दायरा विस्तारका लागि भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था यही वर्षभित्र कार्यान्वयनमा ल्याउने उल्लेख थियो ।

निजी क्षेत्रले पनि यो व्यवस्था चाँडो लागू गरिनुपर्ने भन्दै लामो समयदेखि सरकारसँग माग राखिरहेको छ । तर हालसम्म यो विषय अध्ययनकै चरणमा रहेको र कार्यान्वयनमा आउन अझै केही समय लाग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी वसन्तराज तिवारीका अनुसार नागरिकता वा राष्ट्रिय परिचयपत्रसँगै पान जारी गर्ने व्यवस्था कसरी कार्यान्वयनमा लैजाने भन्नेबारे अध्ययन भएर मस्यौदा तयार भइरहेको छ ।

“नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत नम्बर प्रदान हुने व्यवस्था कार्यान्वयन गर्ने पनि बजेटमा राखिएको थियो । यो व्यवस्था कार्यान्वयनका लागि अन्तरनिकाय संयुक्त समिति गठन भई अध्ययनको मस्यौदा प्रतिवेदन तयार भइरहेको छ”, बजेट वक्तव्यमा राखिएको यो विषय कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै उनले भने ।

नाबालिक व्यक्ति कुनै लगानी वा व्यवसायमा संलग्न भएमा उनीहरुलाई जन्मदर्ता, नागरिक परिचयपत्र वा अभिभावकको परिचयपत्रका आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था गरिने पनि बजेटमा राखिएको थियो । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा सुधार गरेर हाल यो व्यवस्था कार्यान्वयनमा ल्याइसकेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी करको दायरा विस्तार गर्नका लागि भन्दै चालु आर्थिक वर्षको बजेटले सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिइ विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्था पनि राखेको थियो ।

बजेटमा भएको यो व्यवस्थाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सात हजार तीन सय ९० वटा सरकारी निकायलाई स्थायी लेखा नम्बर प्रदान गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

नेपालमा काम गरिरहेका विदेशी नागरिकलाई करको दायरामा ल्याउने विषयमा पनि प्रगति भएको मन्त्रालयले जनाएको छ । नेपालमा काम गर्न श्रम सहमति वा कार्य सहमति प्राप्त गरेका विदेशी नागरिकलाई पारिश्रमिक करलगायत अन्य करको दायरामा ल्याउन श्रम स्वीकृति तथा भिसा नवीकरण गर्दा स्थायी लेखा नम्बर वा कर चुक्ता प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको मन्त्रालयको भनाइ छ ।

विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिले आफ्नो पेसागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

त्यस्तै चारपाङ्ग्रे सवारी खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेस गरिनुपर्ने भन्ने व्यवस्था बजेट वक्तव्यमा उल्लेख रहेकामा यो पनि कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : २९ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र