प्रधानमन्त्रीको भारत भ्रमणमा चिवाभञ्ज्याङ नाका खोल्नेबारे कुरा राख्न माग | Khabarhub Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणमा चिवाभञ्ज्याङ नाका खोल्नेबारे कुरा राख्न माग


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो।

नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ। नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए। स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए।

नेपालले चिवाभञ्ज्याङमा एक दशकअघि नै सडक पुर्‍याएको थियो। मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहासम्म सवारीका साधन पुग्न थालेका थिए। दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरेको छ। अहिले सिक्किमबाट नियमितजसो पर्यटक चिवाभञ्ज्याङ आउन थालेका छन्। तर सीमानाका नभएका कारण सिक्किमबाट चिवाभञ्ज्याङ हुँदै सीमावर्ती क्षेत्र, नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन्। “विशेषतः सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्न जान चाहने भारतीयले बाटो प्रयोग गर्न पाएका छैनन्”, याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने, “यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन्।”

पाँचथर र ताप्लेजुङका हजारौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ। अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ। प्रहरीको पास बोकेर आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ भने सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ। चिवाभञ्ज्याङको सीमा क्षेत्रमा सिक्किम भारतमा गाभिएसँगै सीमा सुरक्षा बल तैनाथ छ भने नेपालका तर्फबाट तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। सुरक्षा व्यवस्था भइसकेको अवस्थामा नाका स्थापना सहज रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाइ छ।

नाका सञ्चालन भएका पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रमा उत्पादन हुने घ्यू, छुर्पी, राडी, ऊन, गलैँचालगायतले सिक्किममा बजार पाउने स्थानीयवासी बताउँछन्। सिक्किममा प्रशस्तै बजार रहेका यी सामग्री नाका नभएकै कारण लैजान नसकिएको वडाध्यक्ष राईको भनाइ छ।

अर्कोतर्फ मध्यपहाडी लोकमार्गसँग याङवरक–६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ–१ फेदापामा तमोर करिडोर जोडिन्छ। नाका खुलेमा नाकाका माध्यम हुँदै सामग्री आयात सहज हुने, यसले राजस्व सङ्कलन वृद्धि हुने गाउँपालिका अध्यक्ष योङ्या बताउँछन्। चिवाभञ्ज्याङबाट याङवरक–४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र बाँकी रहे पनि कालोपत्रको ठेक्का लागिसकेकाले नाका सञ्चालन सहज रहेको उनको भनाइ छ।

सीमानाका सहज सञ्चालनमा आएमा विशेषत भारतीय पर्यटक भित्र्याउन सकिनेमा यहाँ स्थानीय तहहरू आशावादी देखिन्छन्। अहिले पनि दैनिक सयौँको सङ्ख्यामा सिक्किमका दर्शनार्थी पाथीभरा मन्दिर पुग्दछन्। तर उनीहरूले काँकरभिट्टा नाका हुँदै निकै लामो फेरो मारेर पाथीभरा पुग्नु पर्दछ। नाका खुलेको अवस्थामा यो दूरी दुईतिहाइभन्दा बढी घट्नाले पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा यहाँका स्थानीय तहहरूको छ। अझ सिक्किमसँग सीमा जोडिएका तिम्बुपोखरीबाट तीनसिमान (फालोट)सम्मको निकै फराकिलो क्षेत्र भारतभन्दा नेपालतर्फ बढी रमणीय छ। जसको फाइदा पनि नेपालले लिन सक्ने अध्यक्ष योङ्याको भनाइ छ।

अन्तर्राष्ट्रिय व्यापारलाई प्रवर्द्धन गर्दै पर्यटन विकासमा समेत टेवा पुग्ने नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सङ्घीय सरकारबाट ठोस सहयोग आवश्यक रहेको भन्दै गाउँपालिकाले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : २४ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण