पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो « Khabarhub

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

गोरखा– हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।

खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको सहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ । 

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।

बर्खामा नदी र खोलामा यसै पनि पानीको सतह बढी हुने भएकाले जोखिम हुने नै भयो, गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भने, ‘त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।’

पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । 

मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।

‘छोटो र मुख्य बाटो भएकाले पनि घन्टौँ लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे ।’ अर्का स्थानीयवासी रामचन्द्र ढकालले भने । ‘बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न पर्थ्यो’, उनले भनृ, ‘हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।’ लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र छ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षौदेखि भोग्दै आएको समस्या हटेको छ ।

पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागि समेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताइन् । 

सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका सहर आवतआवतमा समेत छिटो र सजिलो भएको उनको भनाइ छ ।

झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीले बर्खाको समयमा अत्यावश्यक काम पर्दा खोला तर्नै नसक्ने अवस्थामा लामो दूरी हुँदै  एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कूल तीन करोड ४४ लाख ३१ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ११ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न