दमक–१० का भूमिहीनले धनीपुर्जा पाएपछि खुसी « Khabarhub

दमक–१० का भूमिहीनले धनीपुर्जा पाएपछि खुसी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसकेका थिए। श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सकेका थिएनन्। आफू वर्षौँदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा आएपछि विश्वकर्मा परिवारमा पहिलोपटक औधी खुसी भित्रिएको छ। चार दशकदेखि ती दलित दम्पती परिवार सुकुम्बासीका रूपमा बस्दै आएको छ।

बिहीबार दमक–१० को वडा कार्यालयमा दमक नगरपालिकाले आयोजना गरेको दलित भूमिहीन, भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा धनीपुर्जा वितरण कार्यक्रममा विश्वकर्मा दम्पतीको फोटो टाँस गरिएको जग्गा धनीपुर्जा हात परेपछि खुसीले हर्षविभोर भए। बुढेसकालमा आफूहरूले पाएको जग्गाको मालिक बन्ने सपना पूरा भएको दम्पतीले सुनाए। उनीहरूले एकै स्वरमा भने, “जीवनमा यो भन्दा ठूलो खुसी अरु के हुन्छ र ?”

भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट जग्गाधनी प्रमाण पुर्जा ग्रहण गरेका विश्वकर्मा दम्पतीजस्तै सोही वडाकी सञ्चमाया लिम्बूलाई पनि १५ धुर एक पावा जग्गाको धनीपुर्जा हात पर्दा मन उसैगरी खुसीले गद्गद भएको छ।

विश्वकर्मा र सञ्चमायाजस्तै सोही ठाउँका ६३ वर्षीय कालीचन्द्र दास पनि यो उमेरमा आएर आफूले बसोबास गरिरहेको जग्गाको स्वामित्व आफ्नै नाममा आउँदा उस्तै खुसीले रमाएका छन्। उनीहरूजस्तै सो वडाका कुल २७ परिवारलाई बिहीबार राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाको प्रमुख उपस्थितिमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भूमि आयोगले नापजाँच यकिन गरी जग्गाको धनीपुर्जा प्रमाणपत्र वितरण गरेको हो।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो धनीपुर्जा वितरण कार्यक्रममा नगरप्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले आफूहरूले चुनावताका जनताका घरदैलोमा पुगेर गरेको वाचामध्येको पहिलो प्राथमिकता भूमिहीनलाई जग्गा धनीपुर्जा दिलाउने नै भएको स्मरण गरेका थिए। उनीहरूले नगरपालिकाको सिङ्गो टिम नागरिकका आधारभूत आवश्यकताको उपलब्धताका लागि प्रतिबद्ध रहेको पनि जनाए।

सो कार्यक्रममा स्वागत गर्दै दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले सो वडामा जग्गा धनीपुर्जाका लागि आवेदन गरेका छ सय बढी आवेदनमाथि आयोगले छानविन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर धनीपुर्जा उपलब्ध गराइरहेको बताए। उनले भने, “वडाले हालसम्म भएका अनेकौँ प्रयत्न सफल नहुँदा जग्गाको स्वामित्व पाउन नसकेका भूमिहीनको समस्यालाई वडा कार्यालयले नजिकैबाट बुझेको र जिल्लास्थित भूमि आयोगले समेत सक्रियतापूर्वक काम गर्दा सात महिनामा नै जग्गाधनी पुर्जा दिलाउन सफल भएका छौँ।”

उनले आवेदन गरेका अन्य आवेदकलाई समेत यथाशीघ्र धनीपुर्जा दिलाउन आफू प्रयत्नशील रहेको पनि जनाए। सो अवसरमा आयोगको जिल्ला नेतृत्व, नगरस्तरीय जग्गा धनीपुर्जा प्राप्ति सहजीकरण समितिलाई विशेष धन्यवाद प्रकट गरिएको थियो।

कार्यक्रममा राजनीतिक दलको तर्फबाट कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले शुभकामना मन्तव्य राख्दै आयोग र यहाँका जनप्रतिनिधिले नागरिकको अत्यावश्यकताका विषयलाई बुझेर धनीपुर्जा दिलाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। नगरप्रमुख रामकुमार थापाले अहिलेसम्म दमकमा झण्डै आठ हजार जग्गाको धनीपुर्जाका लागि निस्सा वितरण गरी थप प्रक्रिया अघि बढेको जानकारी दिँदै आयोगलाई सबै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र नगरवासीको जग्गाको स्वामित्व दिलाउन माग गरेका छन्।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ४० बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र