सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी | Khabarhub Khabarhub

सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।

खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन् ।

तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ । यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् ।

दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झर्नुपर्दथ्यो ।

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टाभन्दा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् ।

हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताइन् । थापाले ११ कक्षा पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताइन् ।

नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताए । आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उनको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उनले बताए ।

गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र ६ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिए ।

गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उनको भनाइ छ ।

वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उनको भनाइ छ । प्रवक्ता भण्डारीले विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : ४२ बजे

दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ : मन्त्री चौरसिया

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दलित

अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ?

काठमाडौं – परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका वर्षा

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक को लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका