दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज दिनभर एक दशकपछि नेपाल टी २० विश्वकपमा, टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ, कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ, राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने, झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय, दुई पाइलटको लाइसेन्स निलम्बन, सुनको भाउ दुई सयले बढ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

एक दशकपछि नेपाल टी २० विश्वकपमा

यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकपमा नेपालले पहिले पटक सहभागिता जनाएको थियो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेट्टायो ।

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् ।

आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी महसुस गरिरहेको बताएका छन् । उनले विश्वकपमा छनोट भएकोमा आफूहरुलाई गर्व लागिरहेको पनि बताए ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले आफूहरु सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् । नेपाललाई विश्वकपसम्म पुर्‍याउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।

कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्।

कार्कीले कात्तिक १ गते बुधबार कोशी प्रदेशसभाबाट भारी बहुमतसहित विश्वासको मत पाएका थिए। उनी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने

 राष्ट्रपति रामचन्द्र पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसीर १ गते स्वदेश फर्कन भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।

झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय

सरकारले झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर गरेको छ । मन्त्रिपरिषदको बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण पेस गरेका काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको जानकारी दिइन् ।

खसी भन्दै बाख्राको मासु बेचेपछि…

खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ ।

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हरित, उत्थानशील र समावेशी विकास ग्रिड बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।

मुगु हत्याकाण्ड : चारै जनाको दाहसंस्कार

छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो ।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो ।

कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गते बस्ने

कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गते बस्ने भएको छ ।

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो ।

वीरगञ्ज महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन

मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।

महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट रु सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट रु एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट रु एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट रु एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट रु एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट रु ६१ लाख राजस्व सङ्कलन भएको छ ।

दुई पाइलटको लाइसेन्स निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।

आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

सुनको भाउ दुई सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ मा कारोबार भएको थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ०० बजे

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो

बीपी राजमार्गमा फेरि पहिरो खस्यो, वैकल्पिक बाटो पनि अवरुद्ध

धुलिखेल – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको