बिहे नहुँदै खोप लगाए ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुँदैन « Khabarhub

बिहे नहुँदै खोप लगाए ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुँदैन

‘कम उमेरमा यौनसम्पर्क र विवाह गर्नु हुँदैन’



आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ। अन्धविश्वासका कारण नेपाल क्यान्सर रोगीको संख्या बढिरहेको बेला हरेक वर्ष चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ। क्यान्सर रोग निवारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्। खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएका हुन्। त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा हरेक वर्ष १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ। समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट हरेक वर्ष धेरै महिलाको ज्यान जाने गरेको छ। सुरुकै अवस्थामा रोग पत्ता लगाई उपचार गरेमा यस्तो क्यान्सर निको हुन्छ। यसै सन्दर्भमा खबरहबका लागि विना न्यौपानेले क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :

पाठेघरको मुखको क्यान्सरलाई कसरी बुझ्ने ?
पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनेर बुझ्ने गरिन्छ। यो नेपालमा एकदमै धेरै छ। विदेशमा भने एकदम कम महिलालाई यो क्यान्सर हुन्छ। अमेरिकाको तथ्यांक हेर्ने हो भने यो क्यान्सर १५ औं नम्बरमा पर्छ। सिंगापुरमा १० औँ नम्बरमा पर्छ। नेपालमा भने महिलामा यो क्यान्सर एक नम्बरमा पर्छ। हाम्रो देशमा केही न केही त मिलेको छैन। संसारभरमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै नेपालमा नै हुन्छ। बङ्गलादेश, भारतमाभन्दा पनि जनसंख्याको आधारमा नेपालमा धेरै यो क्यान्सर भएको देखिन्छ।

के कारणले गर्दा यो क्यान्सर हुन्छ ?
ह्युमन प्यापिलोमा भाइरस एक प्रकारको भाइरस हो। जसको संक्रमणको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ। अरु कारण धेरै रहेका छन्। जसलाई सजिलोका लागि बुँदामा भन्नु उपयुक्त होला :
– कम उमेरमा विवाह तथा यौनसम्पर्क गर्नु।
– कम उमेरमा बच्चा जन्माउनु।
– धेरै बच्चा जन्माउनु।
– एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्नु।
– यौन रोग तथा गुप्तांगका दीर्घ रोगहरू।
– गुप्तांगको सरसफाइमा ध्यान नदिनु।
– चुरोट, बिडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन गर्नु।
जसले सानो उमेरमै यौनसम्पर्क राख्यो, जो महिलाको छिट्टो बिहे भयो, छिटो बच्चा जन्मायो उनीहरुलाई यो भाइरसको संक्रमण छिटो हुने सम्भावना हुन्छ। ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भएको १० देखि २० वर्षपछि क्यान्सर हुने हो।

मानौं १५ वर्षको उमेरमा पहिलो पटक यौनसम्पर्क भयो भने त्यसको २० वर्षपछि वा ३५, ४० को उमेरमै क्यान्सर हुनसक्छ। २५ वर्षमा पहिलो पटक यौनसम्पर्क भयो भने त उसको क्यान्सर हुने सम्भावना पनि ढिलो हुन्छ। त्यसैले छिटो बिहे भएको, छिटो बच्चा भएको महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमणसँगै पछि क्यान्सर हुने सम्भावना धेरै हुन्छ।
पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो, जसको कारण थाहा छ, रोकथाम पनि सम्भव छ तर पनि यसैको संख्या बढिरहेको छ। यदि अहिले नै सही तरिकाले अगाडि बढ्यौं भने अबको २० वर्षपछि झन्डै निर्मूल नै बनाउन सकिन्छ।

क्यान्सर त पछि हुने भयो, पहिला नै कुनै लक्षण देखा पर्छ होला नि ?
पाठेघरमा ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भइसकेपछि झन्डै १० देखि २० वर्षपछि क्यान्सर हुने हो। तर कसैको शरीर कमजोर छ भने पाँच वर्षमै हुनसक्छ। भाइरसको संक्रमण भएदेखि क्यान्सरसम्मको बीचमा विभिन्न लक्षण देखिन्छन्। जस्तैः योनीबाट फोहोर पानी बग्ने, सेतो पानी बग्ने, घाउ भएको जस्तो हुने, दुख्ने, धेरै चिलाउने, महिनावारीको बीचमा थोरै रगत जाने, यौन सम्पर्कपछि पीडा हुने वा रगत आउने हुन्छ।

कतिलाई त कुनै पनि लक्षण नदेखिने हुन्छ। त्यसैले हरेक विवाहित महिलाले वा यौन सम्पर्कमा रहने २०, २५ वर्ष माथिका महिलाले स्त्रीरोग विशेषज्ञलाई देखाउने वा पाठेघरको मुखको पानी जचाउँने (मेडिकल भाषामा प्याप् जाँच) गर्नुपर्छ। कम्तीमा पनि एक पटक देखाउने र राम्रो रिपोर्ट आएको छ भने तीन तीन वर्षमा जाँच गराउन सकिन्छ। तर नयाँ लक्षण केही आएका छन् भने तुरुन्तै जाँच गर्नुपर्छ। यस्ता खालका लक्षण क्यान्सर हुनभन्दा ५, १० वर्ष पहिला नै देखिने हो। त्यही घाउँ बिग्रिएर नै पछि गएर क्यान्सर हुने हो। त्यसैले छिट्टै उपचार गर्यो भने क्यान्सर नै हुँदैन।

विकसित देशमा हरेक महिलाले प्याप् जाँच गराएकै हुनुपर्छ, नत्र उनीहरूको इन्सुरेन्सले मान्दै मान्दैन। यो बाध्यकारी नै भयो, त्यसैले क्यान्सर हुनुअघि नै पत्ता लाग्छ र निको पनि हुन्छ। त्यसैले क्यान्सर हुने अवस्था कम भयो। हाम्रो देशमा त्यो चलन नै छैन। जबसम्म रोगले थला पार्दैन, तबसम्म हामी अस्पताल नै जाँदैनौ र जब पुग्छौँ, क्यान्सर निकै अघि बढिसकेको हुन्छ।

रोकथामका लागि के गर्ने त ?
रोकथामको लागि दुई तरिका अपनाउन सकिन्छ। एउटा त नियमित प्याप् जाँच गर्ने। संक्रमण देखिए तुरुन्त उपचार गराउने, रोग अघि बढ्ने नै भएन। अहिले जिल्ला अस्पतालमा पनि यसको जाँच हुन्छ। पाठेघरको मुखको जाँचको लागि डाक्टर नै चाहिँदैन, नर्सहरूले पनि जाँच गर्न सक्छन्। अर्को एकदम राम्रो रोकथाम भनेको खोप भ्याक्सिन लगाउने। ह्युमन प्यापिलोमा भाइरसको खोप पत्ता लागेको १५ वर्ष भइसकेको छ। विकसित देशमा लगाउनै पर्ने हुन्छ। निःशुल्क पनि छ । तर हाम्रो देसमा सबै ठाउँमा अहिलेसम्म उपलब्ध हुन सकेको छैन। त्यो खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुँदैन र क्यान्सर नै हुँदैन। खोप लगाउन पनि सजिलो छ, अविवाहित १३ देखि २६ वर्षका महिलाले लगाउने। ६ महिनाभित्र तीनवटा खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिला सुरक्षित हुन्छन्। त्यो भनेको अहिले चार हजार जनालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अब यो भ्याक्सिन लगायौं भने चार सय जनालाई पनि हुँदैन।

विवाहित महिलाले यो भ्याक्सिन लगाउँदा के हुन्छ ?
यौन सम्पर्कमा आउनुअघि लगाउँदा ९० प्रतिशतभन्दा बढी सुरक्षा हुन्छ। तर यौनसम्पर्क भइसकेका महिलामा सुरक्षित हुने प्रतिशत ४० जति मात्र हुन्छ। त्यसैले घाटा त छैन, नाफा जुन हामीले पाउँथ्यौ त्यो पाइंदैन। लगाउन नहुने भन्ने पनि होइन।

अविवाहितले त भ्याक्सिन लगाएर हुने भयो विवाहितले के गर्ने ?
पाठेघरको मुखको पानी जाँच गराउने। रिपोर्ट राम्रो रहेछ भने हरेक तीन, तीन वर्षमा जाँच गराउँदा हुन्छ। तीन वर्षमा अस्पताल गएर जाँच गराउनु राम्रो बानी हो। अरू क्यान्सर लागेपछि बचाउन सकिएला, नसकिएला। तर पाठेघरको मुखको क्यान्सर भएर कसैको पनि मृत्यु हुनु हुँदैन। यदि भयो भने त्यो हाम्रो स्वास्थ्य व्यवस्थाको कमजोरी हो।

पाठेघरको मुखको क्यान्सर भएपछि उपचार सम्भव छ ?
क्यान्सर लागेपछि पनि उपचार सम्भव छ। पाठेघरको मुखको क्यान्सरमा पनि चरणहरू हुन्छन्। यसलाई चार चरणमा विभाजन गरिएको छ। अहिले पनि धेरै जना बिरामी दोस्रो, तेस्रो चरणमा आउनुहुन्छ। त्यो भनेको पाठेघरको मुखको घाउ बढेर अरू अंगलाई समेत समातेको हुन्छ। बिरामी ढिलो अस्पताल पुग्नुको मुख्य कारण चाहिँ पाठेघरको मुखमा घाउ भएर रगत बग्दा धेरैले महिनावारी नै गडबड भएको जस्तो लाग्ने भएर रहेछ। केहीले यौनाङ्ग भएकाले रोगबारे कुरा गर्न अप्ठ्यारो मानेर पनि हुने रहेछ। कतिपय बिरामीलाई तल्लो पेट दुख्ने, पिसाब पोल्ने हुन्छ। तर हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइन्छ। अनि धेरैजना ‘प्राकृतिक उपचार प्रविधि’ विज्ञापनको पछि जाने र उता केही नभएपछि मात्रै अस्पताल आउने भएकाले ढिला हुन्छ।

सावधानी कसरी अपनाउने ?
सावधानी भनेको युवा अवस्थाका महिलाले असुरक्षित यौन सम्पर्क राख्नुु भएन। किनभने ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्कबाट सर्छ। भ्याक्सिन लगाएको छैन, बिहे भैसक्यो, बच्चा नै भैसक्यो भने प्याप् जाँच अर्थात् पाठेघरको मुखको पानी जाँच गराउनुपर्छ। संक्रमण वा केही नराम्रो रिपोर्ट आयो भने विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ।पहिलो, दोस्रो चरणमा भेटियो भने ९५ प्रतिशत उपचार सम्भव छ। कडा निमोनिया भएको बिरामी निको हुने सम्भावना त्यति नहोला, तर पाठेघरको मुखको क्यान्सर निको हुन सम्भव छ। तर बेलैमा थाहा हुनुपर्छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : ५१ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा