काठमाडौँ : पछिल्लो समय नेपालमा आर्थिक र सामाजिक विकृतिको कारणले नेपालमा आत्महत्या गर्नु परेका घटनाहरू बाहिर आइरहेका छन् । यसले धेरै बहस र विवाद पनि निम्त्याएको छ । आखिर के देशमा त्यस्तै परिस्थिति निर्माण भइरहेकै हो ? आर्थिक र सामाजिक विकृतिका कारणले वा भ्रष्टाचार र कुशासनकै कारणले गर्दा देशमै स्वत उद्यम गरेर केही गर्छु भन्ने युवाहरू एकपछि अर्को गर्दै आत्महत्या गर्नुको कारण के हो त ? यसै विषयमा आधारित भएर विश्लेषक आनन्दराम पौडेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो तथ्यांकअनुसार १३ हजार व्यक्तिहरू बैंकको कालो सूचिमा परेका छन् । आत्महत्या गरेका छन्, यो वैयक्तिक समस्या होला कि सामाजिक होला ?
इलामका प्रेम प्रसादजीले आत्मदाह गर्नु अघि एकदमै सामान्य कुराहरू, उहाँले भोगेका समस्या खुलाउनु भएको छ । म ब्युरोक्रेसीमा अफिसरबाट सुरु गरे उपसचिव भएँ, सिडिओ भएर मन्त्रालयमा पनि काम गरे । मलाई अझै पनि अड्डामा जान घिन लाग्छ । त्यहाँको रुखो बोलीले वाक्क भएर तीन पटक राजीनामा दिएँ । पहिला पञ्चायतमा भन्दा खराब व्यवहार छ कर्मचारीको ।
इलामका युवा प्रेमप्रसाद जीको निराशा, असफलता र आत्मदाह कहाँ गएर जोडिन्छ ?
किसानहरूसँग भरपाईको बिल एक वर्ष देखिको छ । तर पैसा पाएको छैनन् । सरकार आँखा चिम्लेर बसेको छ । सरकार नै शोषक ठालुहरूको पक्षमा भयो । राष्ट्रमा मौलाएको भ्रष्टाचार र कुशासनको सिकार प्रेम प्रसाद भए । हामीले पहिला पनि हेलो सरकार सक्रिय गराउन भन्यौँ । तर त्यो अझै भएको छैन ।
१३ औ हजार व्यक्तिहरू बैंकको कालो सूचिमा परेका छन्, कुनै पनि बेला यिनीहरूले पनि आत्महत्या गर्न सक्छन्, यसलाई रोक्न तत्काल सरकारले के गर्नु पर्छ ?
मिटर ब्याजीको समस्या धेरै रहेछ । त्यो बारेमा सरकारले ध्यान दिएको रहेनछ । देश र जनताका पीडाले नछुने राज्य संयन्त्रका मान्छे भए । शिक्षा नीतिमा पनि १४ महिनासम्म स्नातक तहको परीक्षाको नतिजा निकालेको छैन, यस्तो लाजमर्दा छ । एउटा अपराधीलाई जोगाउन राज्य लागेको छ । अपराधीलाई जोगाउँदै राज्यले जनताको पक्षमा सोच्न भ्याएन ।
अहिले आएका नयाँ सांसदहरुमा केही संकेत देखियो त जनताका पक्षमा काम गर्न खोजेको ?
सांसद तथा संसद्को निर्देशनहरू अधिकांश कार्यान्वयन नभएको हिसाब निस्किन्छ । सांसदले धेरै मेहनत गरेर तयार गरेको प्रतिवेदन वाइडबडि जहाज खरिद गरेको ४ अर्ब ३५ खर्ब खर्च गरेकै हो भन्ने निष्कर्षसहित अख्तियारमा पठाएको थियो । तर त्यसलाई उनीहरु नछुने । त्यो परिणामस्वरूप यो सबै भएको छ । यो देशमा सज्जन मान्छे बस्न नसक्ने नालायक भइसक्यो ।
बैंक साझेदारबाट जमिनदार बन्दै गएको, कर्मचारीतन्त्र नेतृत्वको पछाडि यो अवस्थाले त भोलिका प्रेम प्रसादहरूले न्याय पाउलान् त ?
यस्ता गलत कुराहरूलाई हामीले एकै पटक माथि लैजान्छौँ । मुख्य मियो नै गलत भयो । रिकलको सिस्टम हुनु पर्याे । सर्वोच्चमा प्रकाश वस्तीलाई फालेर गोपाल पराजुली अनि भरतराज उप्रेतीलाई फालेर चोलेन्द्र ल्याएको छ, त्यसरी ल्याउने नेता नै नरहरि आचार्य हुन् । दिनेश त्रिपाठीले सबैलाई चित्त बुझ्ने किसिमले मस्यौदा बनाउनु भएको थियो । तर त्यो सबै फालियो । स्वार्थको गलत फन्दामा परे । उहाँहरू बाहिरिनु पर्यो । हामीले अब प्रेस प्रसाद बन्ने होइन, कानुनतः आवाज बुलन्द गर्नु पर्यो ।
संवैधानिक निकायलाई पंगु बनाउने खेल कसरी सुरु भयो ?
अख्तियारले अनुचित कर्मलाई पनि हेर्नु पर्ने थियो । यति रकम भ्रष्टाचार गरेको भनेर अंकमा देखिएको एउटा भयो । अनुचित कर्म गरेकालाई पनि अख्तियार थियो । यिनीहरूले अख्तियारलाई पंगु बनाउने छन् । अख्तियारका आयुक्तहरू पार्टीको भागबन्डामा नियुक्त हुन्छन् । र, त्यो जनतालाई थाहा हुन्छ कि यो आयुक्त फलानाको कोटाबाट आयुक्त भएको भन्ने । यसरी कसरी सुधार हुन्छ र ?
७ प्रतिशतमा ऋण लिएको छ, एउटा म्यासेज पठाएर १५ प्रतिशत बनाउने यो कस्तो अवस्था हो ?
यो सिस्टम ब्रम्हलुटमा गएको बेलमा भाग शान्ति, जय नेपाल मिलिजुली बसौँ, बाँडिचुँडी खाऊ भन्ने सूत्रमा यो देश चलेको छ । मर्नेहरू मर्दै गरुन् हामी बाँडेर खाऊ । जुन एउटा भिडियो सार्वजनिक भएको छ, प्रधानमन्त्रीले त्यसरी आगो लाग्दै गर्दा गाडी दौडाइएको छ त्यो पनि संवेदनहीन जस्तो छ । सुरक्षाकर्मी त फर्केर रोक्न सक्थ्यो होला । प्रोटोकल ठुलो हो कि नागरिकको ज्यान ठुलो भन्ने कुरा पनि आउँछ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया